सामाजिक सुरक्षा कोषमा सुविधा थपिँदैः श्रीमान्/श्रीमतीले नै उपचार खर्च पाउने, घातक राेग लागे १० लाख – Nepal Press

सामाजिक सुरक्षा कोषमा सुविधा थपिँदैः श्रीमान्/श्रीमतीले नै उपचार खर्च पाउने, घातक राेग लागे १० लाख

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताका दम्पत्ती (श्रीमान वा श्रीमती) को उपचार खर्च पनि व्यहोर्ने व्यवस्था गर्ने भएको छ । ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५’ मा तेस्रो संशोधनमार्फत यस्तो व्यवस्था गर्न लागिएको कोष स्रोतले जनायाे।

कोषका अध्यक्षसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको अध्यक्षतामा हालै बसेको सामाजिक सुरक्षा कोषको बोर्ड बैठकले कार्यविधि संशोधन गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सिफारिस गरेको हाे ।

बोर्ड बैठकले सिफारिस गरेको कार्यविधि अनुसार योकदानकर्ताले जस्तै योगदानकर्ताका दम्पती (श्रीमान योगदानकर्ता भए श्रीमतीको र श्रीमती योगदानकर्ता भए श्रीमान) ले पनि उपचार खर्च पाउने व्यवस्था गर्न लागिएको छ । उक्त योजनाअन्तरगत अस्पताल भर्ना भइ उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा एक लाख रुपैयाँमा नबढ्ने गरी प्रदान गर्ने सुविधाको रकम भर्ना भएको अस्पतालमा सिधै भुक्तानी दिइन्छ । यदि अस्पताल भर्ना हुनु नपर्ने अवस्थामा  चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम वार्षिक बढीमा २५ हजार रुपैयाँसम्म उपलब्ध गराइनेछ ।

यो सुविधा दावी गर्ने योगदाकर्ताले कुल दावी रकमको २० प्रतिशत आफ्नो तर्फबाट व्यहोर्नुपर्नेछ । योगदानकर्ता र योगदानकर्ताको श्रमिकलाई कोषबाट उपलब्ध गराइने उपचार सुविधाको जम्मा रकम एक आर्थिक वर्षमा एक लाख रुपैयाँ भन्दा बढी नहुने व्यवस्था कार्यविधिमा छ । यद्यपी यसको अधिकतम सीमा भने दुवै दम्पतीको गरेर २५ हजार वा एक लाख नै रहनेछ ।

घातक रोग लागेमा १० लाख 

संशोधन गर्न लागिएको कार्यविधिमा नै योगदानकर्तालाई घातक रोग लागेमा उपचारका लागि १० लाख रुपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको छ । कार्यविधि संशोधनमार्फत यस्ताे व्यवस्था गर्नका लागि सामाजिक सुरक्षा कोषको बोर्ड बैठकले सिफारिस गरेको हो ।

सरकारले १० प्रकारका रोगलाई घातक रोगको सूचीमा राखेको छ । कोषले घातक रोग पत्ता लगाउन एक लाखसम्म, स्वदेश तथा विदेशमा उपचारका लागि सात लाखसम्म र फलोअप उपचारका लागि दुई लाखसम्म गरेर एकै पटक वा पटक–पटक गरेर जीवनकालभरी १० लाख रुपैयाँ उपलब्ध गराइने व्यवस्था गरिएको हो । घातक रोग उपचार खर्च पेन्सन अर्थात निवृतिभरण पाइरहेका योगदानकर्तालाईसमेत पेन्सन वा निवृतिभरण सुरु गरेको ७ वर्षसम्म (६७ वर्ष पुगुञ्जेलसम्म) उपलब्ध गराइनेछ ।

सन्ततीलाई प्राविधिकतर्फ स्नातक अध्ययनका लागि पाँच लाख

मुलुकभरका ७ वटै प्रदेशबाट गरेर ८४ जना योगदानकर्ताका सन्ततीलाई प्राविधिकतर्फ स्नातक अध्ययनका लागि छात्रवृत्ती पनि सामाजिक सुरक्षा कोषले उपलब्ध गराउने भएको छ । प्रत्येक प्रदेशबाट ६ वटा प्राविधिक विषयमा एक महिला र एक पुरुष गरेर प्रति प्रदेश १२ जनाका दरले ७ वटै प्रदेशबाट ८४ जना योगदानकर्ताका सन्तत्तीलाइ छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गर्न लागिएको हो । उक्त कार्यविधि मन्त्रालयले स्वीकृति गरेसँग यो योजना कार्यान्वयन प्रक्रियामा जानेछ ।

योगदानकर्ताका सन्तत्तीलाई प्राविधिकतर्फ स्नातकमा चिकित्साशास्त्र, होटल व्यवस्थापन, ईन्जिनियरिङ, कृषि विज्ञान, पशु विज्ञान लगायतका विषय अध्ययनका लागि छात्रवृति दिइने छ । त्यसका लागि सात वटै प्रदेशमा रहेका योगदानकर्ताका सन्तत्तीबाट निवेदन माग गरिनेछ भने आएका निवेदनमार्फत छनौट गरिनेछ ।

कोषले अहिलेसम्म आश्रित परिवार सुरक्षा योजना, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था र अवकाश योजना सञ्चाललन गरिहेको छ । जसअनुसार व्यवसायगतजन्य रोगको उपचारमा लाग्ने सबै खर्च व्यहोर्नुपर्ने प्रावधान पनि छ ।

कोषमा श्रमिकको न्यूनतम तलबबाट ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत गरेर ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा रहेको छ । यो रकम जम्मा भएपछि रोजगारदाताले श्रमिकको कुनै पनि दायित्व व्यहोर्नु पर्दैन । योगदानकर्तालाई गत असार २० देखि औषधि तथा दुर्घटना उपचार गरेबापत ८० प्रतिशत रकम अस्पतालमा तिर्नुपर्ने व्यवस्था हटिसकेको छ ।

योगदानकर्ताले कोषको परिचयपत्र देखाएपछि खर्च भएको २० प्रतिशत रकम मात्रै अस्पतालमा व्यहोर्नुपर्ने र बाँकी ८० प्रतिशत रकम अस्पतालले नै अनलाइन प्रणालीबाट सामाजिक सुरक्षा कोषमा दाबी गर्ने गरेको छ । यसका लागि पहिलो चरणमा उपचार सुविधा दिने समझदारी भएको एक सय २६ वटा अस्पतालमध्ये २६ वटाले कोषसँग नै खर्चको अनलाइन प्रणलीबाट दाबी गर्ने व्यवस्था लागू भइसकको छ ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाबापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी गरी बाँकी ८० प्रतिशत र दुर्घटनाबापतको सुविधा लिँदा सतप्रतिशत रकम नै कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी हुने गरेको छ ।

२०७५ साल मंसिर ११ गते कार्यक्रमको औपचारिक घोषणा गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अहिलेसम्म १७ हजार ३ सय ७६ रोजगारदातामार्फत ३ लाख ६१ हजार ५ सय ७ श्रमिक सूचीकृत भईसकेका छन् ।

सामाजिक सुरक्षा कोषका सह–प्रवक्ता रोहित रेग्मीका अनुसार योजनामा आवद्ध ५७ हजार नौ सय ४३ योगदानकर्ताले कोषबाट सुविधा लिइसकेका छन् । उनका अनुसार जसमध्ये सबैभन्दा धेरै २६ हजार ६ सय ५५ जनाले वृद्धावस्था सुरक्षा योजना र दोस्रोमा २६ हजार एक सय ३८ जनाले औषधि उपचार तथा स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गतको सुविधा लिइसकेका छन् ।

यस्तै ४ हजार एक सय ३३ जनाले आश्रित परिवार सुरक्षा योजना र एक हजार १७ जनाले दुर्घटना तथा अशक्तता सुविधा लिइसकेका सह–प्रवक्ता रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार योगदानकर्ताले अहिलेसम्म २३ अर्ब १९ करोड रुपैयाँ रकम जम्मा गरेका छन् । जसमध्ये कोषले योगदानकर्तालाई २ अर्ब १७ करोड भुक्तानी गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर