कान्ति राजपथको दुःख: ट्रयाक खोलेको ६३ वर्षमा पनि हुन सकेन राजमार्ग – Nepal Press

कान्ति राजपथको दुःख: ट्रयाक खोलेको ६३ वर्षमा पनि हुन सकेन राजमार्ग

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाबाट उत्तरपूर्वी इलाका हुँदै देशको राजधानी काठमाडौं पुग्न तत्कालीन समयमा सबैभन्दा छोटो मार्गको रुपमा निर्माण आरम्भ गरिएको कान्ति राजपथ अहिले पनि जिर्ण अवस्थामा रहेको छ ।

हेटौंडाबाट मकवानपुरगढी हुँदै बकैँया गाउँपालिकाको ठिंगन, ललितपुरको बागमती गाउँपालिकासहित लेले हुँदै सातदोबाटो निस्कने ९० किलोमिटर सडक ट्रयाक खोलेको ६३ वर्ष बितेको छ । तैपनि सडक सधैं जीर्ण रहँदै आएको छ ।

तत्कालीन राजा महेन्द्रले शिलान्यास गरेपछि २०१३ सालबाट नेपाली सेनाले उक्त सडक खनेको थियो । कान्ति राजपथ नाम दिइएको उक्त सडक अहिलेसम्म पूरा हुन सकेको छैन । जसले तराईसँग काठमाडौंलाई छिटो जोड्ने सरकारी सपनासमेत अपूरै रहेको छ ।

तराईसँग काठमाडौं जोड्न हाल प्रयोग हुँदै आएको हेटौंडा-नारायणगढ-मुग्लिन सडक २२० किलोमिटरको छ । जबकि कान्ति लोकपथ पूर्ण भए काठमाडौंबाट ९० किलोमिटर दूरीमै हेटौंडा पुग्न सकिन्छ । तर, सरकारले यस सडकलाई प्राथमिकता दिएको छैन । जसले वर्षातमै सडक सञ्चालन नहुने अवस्था कायमै छ ।

हेटौंडाबाट ललितपुरको सिमाना बागमती नदीको बगुवासम्म ५१ किलोमिटर सडक खण्डको अधिकांश भाग कालोपत्रे भइसकेको छ । तैपनि वर्षामा आउने पहिरोले सडक जोखिमपूर्ण बन्दै आएको छ । पहिरो आएका स्थानमा ‘चेक ड्याम’ निर्माण नगरिँदा कालोपत्रे सडक बगाउने र भासिएको छ । बगुवाबाट ललितपुरको सात दोबाटोसमम्म आधाभन्दा धेरै ठाउँमा सडक जोखिमपूर्ण छ । सडक फराकिलो बनाउन कुनै प्रयास भएको देखिँदैन । जसले सर्वसाधारण जोखिम मोलेरै यात्रा गर्न बध्य छन् ।

डिभिजन सडक कार्यालय ललितपुर र काठमाडौंबाट प्रत्येक वर्ष टुक्रे काम हुन्छ । टुक्रे काम गर्न असहज भएको भन्दै सरकारले कान्ति लोकपथ सडक आयोजना नामक कार्यालयसमेत स्थापना गरेको छ । तर, आयोजनाले गति नलिँदा कान्ति लोकपथबाट सरर काठमाडौं पुग्ने सपना पुरा हुन सकेको छैन ।

आयोजनाले करिब ९० प्रतिशत भौतिक काम सम्पन्न भएको जनाएको छ । तर, आयोजनाको स्थलगत अवलोकन गर्दा बाह्रै महिना सवारी गुड्न मिल्ने गरी सडक तयार हुन सकेको छैन । अहिलेकै गतिमा काम भए सडक तयार हुन अझै दशक लाग्ने देखिन्छ । आयोजनामा करिब साढे ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हालसम्म ३ अर्ब रुपैयाँ खर्च भैसकेको आयोजनाले जनाएको छ ।

सडकका छपेली, बगुवा, तामाखानी, गडी, काल्चे, झाँक्री डाँडा, प्रताभ डाँडालगायत करिब डेढ दर्जन स्थानमा पहिरोको समस्या छ । आयोजनाले पहिरोको समस्या समाधान गर्न सकेको छैन । उक्त खण्डका सडकमा कालोपत्रे गरिएको छैन । अन्य स्थानमा कालोपत्रे गरे पनि ठूला तथा गह्रुगा सवारी सञ्चालनमा समस्या छ । पानी पर्ने मौसमबाहेक अन्य वेला साना सवारीसाधन सञ्चालन भए पनि यात्रा जोखिमपूर्ण रहेको चालकहरु बताउँछन् ।

२०७६ जेठ ६ गते मन्त्रिपरिषद् बैठकले कान्ति लोकपथलाई राजमार्गमा विस्तार गर्ने निर्णय गरेको थियो । कम्तिमा पनि राजमार्ग २ लेनको हुनुपर्ने सरकारी नीति छ । एउटा लेन साढे ३ मिटरको हुन्छ । २ लेनको सडकमा गाडी गुड्ने क्षेत्र ७ मिटरको बनाउनुपर्छ । साथै ढल र सोल्डर पनि सडक संरचनाभित्र पर्ने भएकाले कम्तिमा पनि ९ देखि साढे ९ मिटर चौडाको सडक बनाउनुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *