रेशमको क्षेत्रबाट पत्नी रन्जिताको उम्मेदवारी घोषणा, यस्तो छ कैलाली १ को अङ्कगणित – Nepal Press

रेशमको क्षेत्रबाट पत्नी रन्जिताको उम्मेदवारी घोषणा, यस्तो छ कैलाली १ को अङ्कगणित

कैलाली । अघिल्लो पटक रेशम चौधरी निर्वाचित भएको क्षेत्रबाट यस पटकको निर्वाचनमा उनकी पत्नी रन्जिता श्रेष्ठ चौधरी होमिने भएकी छन् । उनी नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय अध्यक्ष हुन् ।

उनले कैलाली स्थित लम्कीचुहामा आयोजित कार्यक्रममा आफू कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।
कैलाली क्षेत्र नम्बर १ बाट अघिल्लो पटक रेशम चौधरीले वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो मतान्तरले हराएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनबाट एमाले उम्मेदवार मदनकुमारी शाह (गरिमा)ले १३ हजार ४०६ मत र कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन् ।

‘अघिल्लो पटक नागरिकले भारी मतले उहाँलाई विजयी गराउनु भएको थियो तर, उहाँलाई झुटो मुद्धामा फसाएर नागरिकहरूको काम गर्न दिइएन अब नागरिकहरूको अपेक्षा म पुरा गर्नेछु’ उनले उम्मेदवारी घोषणा पछि नेपाल प्रेसलाई भनिन्, ‘यहाँका नागरिकहरूको सल्लाह सुझाव पछि मैले कैलाली क्षेत्र नम्बर १ रोज्ने निर्णय गरेकी हुँ ।’

रन्जिता चौधरीको कैलाली क्षेत्र नम्बर १ सँगै कैलाली ५, कञ्चनपुर १ र बर्दिया २ को पनि चर्चा चलिरहेको थियो । तर, उनले आज कैलाली १ बाट निर्वाचनमा होमिने घोषणा गरेकी हुन् ।

यस्तो छ नागरिक उन्मुक्तिको अवस्था

२०७४ मा राजपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका रेशम चौधरीले मात्रै जितेनन् क्षेत्र नम्बर १ (क) मा पनि राजपाका उम्मेदवार विजयी भएका थिए । १२ हजार १८४ मतसहित प्रदेशसभामा राजपाका कृष्ण चौधरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ३०८ मत पाएका थिए ।

त्यसैमाथि स्थानीय तहको निर्वाचनले नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरू कैलाली क्षेत्र नम्बर १ मा हौसिएका छन् ।
कैलालीका १३ स्थानीय तहमध्ये ४ वटा पालिका प्रमुख र तीन वटा पालिका उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका थिए ।

नागरिक उन्मुक्ति पार्टीले जितेका सबैजसो पालिका रेशम चौधरीको निर्वाचन क्षेत्रमा पर्दछन् । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा पर्ने टीकापुर, जोशीपुर, जानकी र भाजनी (केही क्षेत्र) को प्रमुखमा नागरिक उन्मुक्तिले बाजी मारेको हो । टीकापुरबाहेकका अन्य तीन पालिका उपप्रमुख पनि नागरिक उन्मुक्तिले जितेको छ ।

२०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा यहाँ सबैभन्दा बलियो नागरिक उन्मुक्ति नै रहेको छ । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार १९३ मत पाउँदा कांग्रेस उम्मेदवारले ११ हजार ६७८ मत पाएका थिए । एमाले उम्मेदवारले १० हजार ३२२ मत पाउँदा माओवादीले ६ हजार ९३० मत पाएको देखिएको छ ।

त्यस्तै राप्रपाले ३ हजार ५६१ मत, जसपाले २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीले २ हजार २३२ मत हो । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव मदनकुमारी शाह गरिमा पनि यसै क्षेत्रकी हुन् । तर, यहाँ नेकपा एकीकृत समाजवादी कमजोर छ ।
२०७४ सालको मत परिणाम र वैशाख ३० गतेको परिणामले यहाँ सबै मिल्दा पनि नागरिक उन्मुक्ति बलियो रहेको त्यसका प्रवक्ता दामोदर पण्डित बताउँछन् ।

क–कसको छ दाबी ?

सत्ता गठबन्धनका अनुसार कैलाली क्षेत्र नम्बर १ कांग्रेसले रोज्ने तयारी गरेको छ । जिल्लामै जोखिममध्येको क्षेत्रका रुपमा हेरेको कांग्रेसले यहाँ पहिलो प्राथमिकतामा रामजनम चौधरीलाई राखेको छ । चौधरी यसअघि कैलाली ३ नम्बर क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गौरीशङ्कर चौधरीसँग पराजित भएका थिए । हाल चौधरी एमालेमा छन् ।

रामजनम २०४८ सालदेखि २०७४ सालसम्म अपराजित नेता हुन् । नेपाली कांग्रेसले उनलाई कैलाली क्षेत्र नम्बर १ मा यस पटक उम्मेदवार बनाउने योजना बनाएको छ । उनीसँगै अहिले यहाँ कांग्रेसबाट प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलको पनि चर्चा छ ।

रावल अघिल्लो पटक प्रदेशसभामा ९ हजार ४३४ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नेपबहादुर थारु चौधरीले ८ हजार ९०६ मत पाएका थिए ।

अघिल्लो पटक प्रदेशसभामा विजयी भएर दलको नेतासमेत भएका रावल पनि अहिले संघीय निर्वाचनको चर्चामा छन् । उनी अहिले सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री छन् । उनी सरकारका प्रवक्ता पनि हुन् ।

उनीहरु दुईका अलावा पूर्व संविधानसभा सदस्य बुद्धि सागर चौधरी र जनक चौधरी पनि चर्चामा छन् ।

प्रतिनिधिसभामा यहाँ एमालेबाट धेरैको चर्चा छैन । २०७४ सालको स्थानीय तह निर्वाचनमा टीकापुर नगरपालिकामा विजयी भएका एमालेका उम्मेदवार तपेन्द्र रावलको चर्चा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर