मानवसेवा आश्रम रुपन्देही शाखाले आफ्नै भवनबाट सेवा शुरु गर्‍याे – Nepal Press

मानवसेवा आश्रम रुपन्देही शाखाले आफ्नै भवनबाट सेवा शुरु गर्‍याे

रुपन्देही । मानवसेवा आश्रमको रुपन्देही शाखाले  मंगलबारदेखि आफ्नै भवनबाट सेवा प्रवाह सुरुवात गरेको छ ।

यस अघि बुटवल उपमहानगरपालिका-८, पैँचो पसल अगाडी घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको आश्रमले हिजाेदेखि तिलोत्तमा नगरपालिका वडा नं। ६ मा रहेको मोक्षधाम सेवा आश्रम परिसरभित्र आफ्नै भवन निर्माण गरि सेवा सुरुवात गरेको हो ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुखअमिक शेरचनले आज आश्रमको नवनिर्मित भवनको प्राङ्गणमा आयोजित गृह प्रवेश कार्यक्रममा भवनको औपचारिक समुद्घाटन गरेका थिए ।

लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका वडा नं।८ मा नै भाडामा रहेको पुरानो लाइसन्स भवनबाट प्रवाह गरिरहेको केन्द्रलाई भने आश्रमले निरन्तरता दिने छ । उक्त भवनमा पुरुष र बालकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।नवनिर्मित भवनबाट भने महिला र बालिकाहरुलाई सेवा प्रदान गरिनेछ ।

मानवसेवा आश्रम रुपन्देही शाखा २०७५ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको स्वीकृति लिई मानवसेवा आश्रमको दशौँ जिल्ला शाखाको रुपमा विस्तार भएको हो ।

त्यस यता शाखाले लुम्बिनी प्रदेश केन्द्रीत भएर सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलनको सेवा गर्दै आइरहेको छ ।

रुपन्देही शाखाको संरक्षणमा ७८ जना पुरुष र ६६ जना महिला गरि १४४ जना विभिन्न उमेर समूहका व्यक्तिहरु आश्रित छन् भने अहिलेसम्म ५८७ जना सडकआश्रित मानवहरुको उद्धार गरिसकेको छ । मानवसेवा आश्रमको पहलमा बुटवल उपमहानगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देशकै पहिलो उपमहानगरपालिका घोषणा गरिसकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *