बन्द हुने भयो जोनसन एण्ड जोनसनको बेबी ट्यालकम पाउडर – Nepal Press

बन्द हुने भयो जोनसन एण्ड जोनसनको बेबी ट्यालकम पाउडर

काठमाडौं । जोनसन एण्ड जोनसनको विश्वप्रसिद्ध ‘बेबी ट्यालकम पाउडर २०२३ देखि सदाका लागि बन्द हुने भएको छ । जोनसन एण्ड जोनसनको उक्त ट्याल्कम पाउडरमा क्यान्सरजन्य वस्तुहरु रहेको भन्दै विश्वभरबाट उजुरी पर्ने क्रम बढ्दै गएपछि कम्पनीले सन् २०२३ बाट ट्यालकम पाउडरको बिक्री वितरण पूर्ण बन्द गर्ने घोषणा गरेको हो ।

मिडिया रिपोर्टअनुसार उक्त पाउडरमा एस्बेस्टोस नामक क्यान्सरजन्य पदार्थको मात्रा पाइएको कारण प्रतिबन्ध लगाइनुपर्ने माग बढ्दै गएको थियो ।
ट्याल्कम पाउडर भन्नाले सामान्यतया खनिजबाट बनेको पाउडर भन्ने बुझ्ने गरिन्छ । शरीरलाई सुक्खा राख्न प्रयोग गरिएको खनिजमा एस्बेटोसको मात्रा देखिएको जानकारहरुको भनाइ छ ।

कम्पनीले अब ट्याल्कमको ठाउँमा ‘कर्न स्ट्र्याच’ पाउडर बिक्री वितरण गर्ने जनाएको छ । जोनसन एण्ड जोनसनलाई ट्याल्कम पाउडरविरुद्ध पहिलादेखि नै विभिन्न उजुरीहरु पर्दै आएको थियो । सन् २०१८ मा जोनसन एण्ड जोनसनले २२ जना महिलालाई कुल ४.७ बिलियन अमेरिकी डलर क्षतिपूर्तिसमेत तिरेको थियो ।

सन् २०१८ मा नै गरिएको एक अनुसन्धानअनुसार कम्पनीलाई ट्यालकम पाउडरमा एस्बेस्टोसको मात्रा हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि कम्पनीले यस कुरालाई ढाकछोप गर्न खोजेको आरोपसमेत लागेको थियो ।

जोनसन एण्ड जोनसनले कु-प्रचारको कारण बिक्री वितरणमा असर परेको भन्दै सन् २०२० मै अमेरिका र क्यानडामा भने ट्याल्कम पाउडरको बिक्री वितरण बन्द गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर