अर्थले असमान रूपमा बढाएको तलबमान लागू नहुने – Nepal Press

अर्थले असमान रूपमा बढाएको तलबमान लागू नहुने

काठमाडौं । अर्थमन्त्रालयले असमानरूपमा बढाएको तलबमान लागू नहुने भएको छ । मन्त्रिपरिषद्‍मा निर्णयका लागि पठाउने तयारी भइरहेका बेला अर्थमन्त्री जनार्दन शर्माले अहिले त्यसको कार्यान्वयनलाई थाती राख्ने बताएका छन् ।

कर्मचारी ट्रेड युनियनका अधिकारीसँग शर्माले पे कमिसनबाट सुझाव लिएर मात्र आवश्यक कदम चालिने बताए । बजेटमा घोषणा गरेभन्दा बढी तलबमानको प्रस्ताव गरेपछि आलोचना भएपछि अर्थमन्त्री शर्माले यसको कार्यान्वयन नगरिने बताएका हुन् ।

मर्यादाक्रम मिलाउने नाममा सरकारले बजेटमा घोषणा गरेभन्दा तलब ९ प्रतिशतसम्म बढी बनाउन प्रस्ताव गरेको थियो । चालु वर्षको बजेटबाट सरकारले कर्मचारीको तलव १५ प्रतिशतले बढाएको थियो तर अर्थ मन्त्रालयले शाखा अधिकृतभन्दा माथिको तलव भने २४ प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ।

अर्थ मन्त्रालयले अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको थियो । आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराउने तयारी भएको थियो ।
बढाइएको तलबमापनअनुसार शाखा अधिकृतहरुले अब साउनबाट २४ प्रतिशत , उपसचिवहरूले २३.३ प्रतिशत, सहसचिवहरूले २३.३ प्रतिशत र सचिवहरूले १८.४ प्रतिशत बढी तलब पाउनेछन् । तर सरकारबाटै यसरी कर्मचारीभित्रै विभेदपूर्ण तरिकाले तलब मापन गरिएपनि असन्तुष्टि सुरु भएको छ ।

मन्त्रालयका असन्तुष्ट सहसचिवले १५ साउनमा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मर्यादाक्रमअनुसार तलब निर्धारण गर्न निर्देशन दिएपछि विभेदपूर्ण तरिकाले नयाँ तलबमान प्रस्ताव गरेको भन्दै तल्लाे कर्मचारीहरुले असन्तुष्टि  जनाएका छन् ।

अर्थ मन्त्रालयको प्रस्तावमामाथि तल्ला तहका कर्मचारीले विरोध गर्दै सबैको समान ढंगले तलब बढाउनुपर्ने माग गरेका छन् ।

 


प्रतिक्रिया

One thought on “अर्थले असमान रूपमा बढाएको तलबमान लागू नहुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *