वडाध्यक्षद्वारा बलात्कार प्रयास भएको भन्दै छात्राले दिइन् जाहेरी – Nepal Press

वडाध्यक्षद्वारा बलात्कार प्रयास भएको भन्दै छात्राले दिइन् जाहेरी

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवनसिंह घलानविरुद्ध १४ वर्षीया एक किशोरीले बलात्कार प्रयास गरेको आरोपमा जाहेरी दर्ता गरेकी छिन् ।

मकवानपुरमा असार १८–१९ गते सम्पन्न राष्ट्रपति रनिङ शिल्डको लागि हेटौँडा आएकी कैलाश गाउँपालिका– ९ मा रहेको कालिका माविमा अध्ययनरत छात्राले जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उनले दिएको किटानी जाहेरीमा आफूहरू बसेको होटलको कोठामा मध्यरात वडाध्यक्ष घिसिङ प्रवेश गरेर आफूलाई बलात्कार गर्न खोजेको आरोप लगाइएको छ ।

किशोरीले १८ गते दिनभर हेटौँडाको हुप्राचौरमा खेल रनिङ र लङ जम्प खेलेकी थिइन् । भोलिपल्ट पनि खेल रहेकाले त्यस दिन साँझ हेटौँडा उपमहानगरपालिका– १ जरुवाटोलमा रहेको आसन गेष्ट हाउसमा खाना खाएर तेस्रो तल्लामा रहेको रुममा सुतेकी थिइन् ।

सुतिरहेकै बेला राती साढे १२ बजे वडाध्यक्ष प्रवेश गरी अन्य दुई विद्यार्थीलाई समेत दुर्व्यवहार गरेको र आफूलाई बलात्कार गर्ने प्रयास गरेको उजुरीकर्ता विद्यार्थीको आरोप छ ।

आफू निदाएको अवस्थामा एक्कासि शरीरमा केही हिँडेजस्तो लागेर हेर्दा वडाध्यक्ष घलानले गोप्य अंगमा सुमसुम्याएको पाएपछि इन्कार गरेर लात्ती हानेपछि वडाध्यक्ष भागेको पीडित विद्यार्थीले बताएकी छिन् ।

दबाबपछि उजुरी दर्ता

पीडित विद्यार्थीले किटानी जाहेरी दिन खोज्दा सुरुमा प्रहरीले घटना दर्ता गर्न आनाकानी गरेको थियो । पछि माइती नेपालको समन्वयमा उजुरी दर्ता भएको छ ।

नेपाल प्रेसले सुरुमा सम्पर्क गर्दा मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले घटनाको विषयमा आफूहरूलाई जानकारी आए पनि कुरा नबुझी दर्ता नहुने बताएका थिए ।

पीडित उजुरीको लागि प्रहरी कार्यालयमा पुग्दा समेत घटनालाई मिलाउने प्रयास गरिएको थियो । तर महिलाको पक्षमा वकालत गर्दै आएका माइती नेपाल लगायत संघ–सस्थाको प्रयासपछि प्रहरीले उजुरी दर्ता गरेको छ ।

उजुरी दर्ताको विषयमा प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङ भने, ‘हामीले उजुरी दर्ता गरेर अनुसन्धानलाई तीव्रता दिएका छौँ ।’

पीडित बालिकाको परिवारले प्रहरी र वडाध्यक्ष पक्षधरका मानिसहरूले नै घटना मिलाउन दबाब दिएको बताएका छन् । घटनालाई विद्यालय परिसरमै मिलाउने प्रयास भएपछि पीडित बालिका माइती नेपालमा पुगेकी थिइन् । उनलाई हाल माइती नेपालले संरक्षण गरिरहेको छ ।

यता नेपाली कांग्रेस कैलाश गाउँपालिकाले भने वडाध्यक्षलाई नियोजित रूपमा फसाउन खोजेको बताएको छ ।

हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी सभापति राजेन्द्र घिसिङले हारेको झोकमा विपक्षका साथीहरूले प्रतिसोध साँधेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर