अल्मुताइरीको ढाल बनेका कर्मालाई खेलाडी विवाद महँगो परेकै हो ? – Nepal Press

अल्मुताइरीको ढाल बनेका कर्मालाई खेलाडी विवाद महँगो परेकै हो ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भएपछि सोमबार राति खेल पत्रकारसँग कुरा गर्दै पंकजविक्रम नेम्वाङले भने, ‘बिग्रिएका सम्बन्धहरु सुधार गर्नु छ । खेलाडी, क्लब, जिल्लाहरुसँग एन्फाको सम्बन्ध बिग्रिएको छ । एएफसी र फिफासँग पनि सम्बन्ध बिग्रन थालेको थियो ।’

पंकजका अनुसार सम्बन्ध सुधारको पहिलो कदम खेलाडीहरुबाट सुरु हुनेछ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादपछि राष्ट्रिय टोलीबाट बाहिरिएका प्रायः पहिलो रोजाइका ११ खेलाडीको भविष्य अनिश्चित बनेको थियो । अल्मुताइरीले आफ्नो कार्यकालभर आफूहरुलाई राष्ट्रिय टीममा नराख्ने धम्की दिएको खेलाडीहरुले बताउँदै आएका छन् ।

प्रशिक्षक–खेलाडी विवाद छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाइसकेको छ । हालै सम्पन्न एएफसी कप छनोटपछि अल्मुताइरीको विकल्प खोज्न प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी टीमबाट बाहिरिएका खेलाडीहरुलाई माफी माग्न लगाएरमात्र राष्ट्रिय टोलीमा भित्र्याउन पनि सुझाव छ । यता असन्तुष्ट खेलाडीहरुले भने आफ्नो कुनै गल्ती नभएको र सनकका भरमा अपमानजनक ढंगले बन्द शिविरबाट निकालिएको दाबी र गुनासो गर्दै आएका छन् ।

पंकजका अनुसार खेलाडी विवाद र छानबिन समितिको प्रतिवेदनबारे छलफल गरेर टुंग्याउन कार्यसमितिको पहिलो बैठक नै केन्द्रित हुनेछ । यसको मतलब निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको नेतृत्व कालमा भएको सर्वाधिक चर्चित विवादको समाधान गरेर जिम्मेवारी सुरु गर्ने मुडमा देखिन्छन् ।

कर्मा र अल्मुताइरी अनि पंकज

एन्फाका तत्कालीन अध्यक्ष गणेश थापाविरुद्ध भ्रष्टाचारको आरोप लगाएर उनलाई प्रतिबन्धसम्मको अवस्थामा पुर्‍याउन कर्मा र पंकजको थोरबहुत हात छ । थापाको करिब दुई दशक लामो फुटबल नेतृत्वको दुखद् अन्त्यका लागि कर्मा र पंकजले एकै ठाउँमा रहेर काम गरेका थिए ।

चार वर्षअघि कर्मा अध्यक्षमा निर्वाचित भएपछि नेपाली फुटबलले व्यवस्थापकीय हिसाबमा नयाँ दिशा लिने अनुमान गरिएको थियो । कर्माको समितिमा उपाध्यक्ष निर्वाचित भएका पंकजले ‘कमिटमेन्ट’ अनुसार वरिष्ठ उपाध्यक्ष नपाएपछि यी दुईबीच तिक्तता सुरु भएको थियो । पंकज खुलेरै कर्माको कार्यशैलीको विरोध गर्ने स्थितिमा पुगेका थिए ।

अर्का विश्वासपात्र र आफूलाई फुटबलविज्ञ दावी गर्ने नवीन पाण्डेले पनि छाडेपछि कर्मा नजिक मानिएकाहरुबाटै दिनदिनै टाढिँदै आएका थिए । २०७७ चैतमा कतार फुटबल संघले प्राविधिक सहयोगस्वरुप अब्दुल्लाह अल्मुताइरी उपलब्ध गराएपछि एन्फा लगातार विवादमा रह्यो ।

सामाजिक सञ्जालमा नेपाली फुटबलप्रति आफ्नो अगाध माया रहेको देखाउँदै चाँडै सेलिब्रेटी छवि बनाएका अल्मुताइरीको व्यवहार खासगरी एन्फाभित्र देखिएको विवादमा एउटा पक्षका लागि तह लगाउने माध्यम बनिरह्यो । एकातर्फ राष्ट्रिय टोलीको सन्तोषजनक नतिजा अनि अर्कोतर्फ कर्मालाई ब्रदर सम्बोधन, आफूले जे गरे पनि हुन्छ भन्ने अल्मुताइरीको मनस्थिति देखियो।

आफूले पंकज नेम्वाङका कारण राजीनामा दिन लागेको लेख्न पनि पछि परेनन् । उनी बारम्बार क्षेत्राधिकारभन्दा बाहिर गएर बोल्दा पनि एन्फा नेतृत्वले वास्ता गरेन । राजीनामा दिने धम्कीसामु कर्मा घुँडा टेकिरहे । पछिल्लोपटक बैशाखको दोस्रो साता बन्द शिविरबाट १० जना खेलाडी निस्किएपछि अल्मुताइरी विवादको उत्कर्षमा पुगेका थिए ।

होटलमा बस्ने कि होस्टलमा बस्ने भन्ने विवादमा होटलमा बस्ने जवाफ दिएका रोहित चन्दलाई अल्मुताइरीले बन्द शिविर छाड्न निर्देशन दिएको खेलाडीको आरोप छ ।

त्यसपछि चन्दलाई किन निकालिएको भनेर सोध्दा अन्य ९ जना खेलाडीलाई पनि बन्द शिविर छाड्न भनिएको असन्तुष्ट खेलाडीहरुको दाबी थियो। तर, खेलाडीहरु बन्द शिविरबाट आफै निस्किएर हिंडेको प्रतिक्रिया दिएको एन्फाले लामो समयसम्म विवाद समाधानका लागि पहल गरेन । बल्लबल्ल गठन भएको छानबिन समितिले पनि गोलमटोल प्रतिवेदन बुझायो ।

प्रतिवेदनमा एकातर्फ अल्मुताइरी राष्ट्रिय टोलीको प्रशिक्षक बन्न अयोग्य रहेको उल्लेख थियो भने अर्कोतर्फ एएफसी कप छनोटपछि मात्र विकल्प खोज्न सुझाव दिइएको थियो । उल्लेखनीय के छ भने छानबिन समितिले प्रतिवेदन बुझाएको केही दिनपछि एएफसी कप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरिएको थियो । जसमा विवादमा रहेका १० खेलाडीमात्र होइन उनीहरुलाई साथ दिएका कप्तान किरणकुमार चेम्जोङलाई पनि समावेश गरिएको थिएन ।

राष्ट्रिय टोली घोषणा गरिएपछि मात्र एन्फाले प्रतिवेदन सार्वजनिक गरेको थियो । एन्फा नेतृत्वले अल्मुताइरीका लागि खेलाडीहरुलाई वेवास्ता गरेको र भविष्यप्रति खेलेको भन्दै आलोचनासमेत भएको थियो । एन्फाको उक्त कार्यशैलीप्रति वरिष्ठ उपाध्यक्ष नेम्वाङले चर्को विरोध गरेका थिए ।

विवादमा रहेका जो-जो खेलाडी थिए ती उनीहरु नै हुन्, जसले गणेश थापा कालपछि नेपाली फुटबलमा भित्रिएका सफलताका अभिन्न अंग थिए ।

यसपटकको निर्वाचनमा कर्मा र पंकज प्यानलसहित प्रतिस्पर्धामा थिए । पंकज र उनको प्यानलका अधिकांश निर्वाचित भए । निर्वाचित हुनेमा अल्मुताइरीले राष्ट्रिय टोलीबाट निकालेका रोहित चन्दका दाई रवीन्द्र पनि रहेका छन् ।

यता कर्माको टीमबाट पराजित हुनेमा आफ्नो जीवन नै फुटबलमा समर्पित उपेन्द्रमान सिंह र नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा पनि छन् ।

कुनै समय गणेश थापाबाट भएको भ्रष्टाचारविरुद्ध अभियान चलाएका कर्माविरुद्ध यसपटकको निर्वाचनमा विपक्षीले पनि त्यसलाई एउटा एजेन्डा बनाएको थियो । कर्माको पारदर्शिता र व्यवसायिकताको नारा आलोचनामुक्त रहन सकेन । एन्फा अध्यक्षमा कर्मा पराजित भएसँगै अल्मुताइरीले पनि नेपाल नफर्कने संकेत गरेका छन् ।

कर्माले पंकजसँग पराजित भएलगत्तै नेपाली फुटबललाई चलाउन सजिलो नरहेको प्रतिक्रिया दिएका छन् । बारम्बार नेपाली फुटबल व्यवसायिक बन्नुपर्ने दोहोर्‍याएका उनले बाहिरबाट प्रतिक्रिया दिएजस्तो फुटबल चलाउन सजिलो नभएको बताएका हुन् ।

‘मेरो कार्यकालमा व्यवसायिकताको फाउन्डेसन कम्प्लिट हुन पाएन । अब यसले पूर्णता पाउनुपर्छ । खेलाडीहरुले बाह्रै महिना खेल्न पाउने र होम एन्ड अवेको लिग संरचना भएमात्र हामी व्यवसायिक बन्नेछौं’, एन्फा नेतृत्वबाट बहिर्गमन हुँदै गर्दा कर्माले भनेका छन् ।

कर्मा समूहले पंकजले जितिरहँदा पूर्वअध्यक्ष गणेश थापाको आड पाएकाले नेपाली फुटबलमा अब उनकै छायाँ हावी हुन सक्ने भन्दै शंका व्यक्त गर्ने गरेको पनि सुनिन्छ ।

त्यसो त एन्फाको निर्वाचन नजिकिरहेका बेला थापाले कर्मामाथि विनाआधार भ्रष्टाचारको आरोप लगाएको भन्दै कारबाहीको माग गरेर विभिन्न निकाय धाएको देखिएको थियो । अघिल्लो निर्वाचनबाट बाहिरिएका थापाका कतिपय विश्वास पात्रहरुको एन्फामा पुनः इन्ट्री भएको छ । सोमबारको निर्वाचनमा थापाका छोरा अभिषेकसहित अन्य निकटस्थहरु पंकजको लविङमा रहेको मतदानस्थलमा देखिन्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *