भारतीय र्‍यापर बादशाहको प्रशंसा पाएका एकदेवको संगीत साधना (भिडिओसहित) – Nepal Press

भारतीय र्‍यापर बादशाहको प्रशंसा पाएका एकदेवको संगीत साधना (भिडिओसहित)

गत वर्ष गायक एकदेव लिम्बूले एक गीत ल्याए, ‘शिरफूल २’ । गीत युट्युबमा सार्वजनिक भएपछि लिम्बूलाई चर्चित भारतीय र्‍यापर बादशाहले इन्स्टाग्राममा डिएम गरे, ‘यो लभ शिरफूल–२ । ह्वाट अ स्टिक भाइव’ ।

अचानक बादशाहको म्यासेज आउँदा लिम्बू अचम्मित भए । उनले साथीहरुलाई बादशाहको म्यासेजबारे बताए । लगत्तै फेसबुक पेज रुटिन अफ नेपाल बन्दले लेख्यो, ‘चर्चित भारतीय र्‍यापर बादशाहले नेपाली गीत शिरफूल २ लाई एप्रिसियट गरेका छन् । साथै गायक एकदेव लिम्बूलाई इन्स्टाग्राममा डिएम गरेका छन् ।’

अन्तर्राष्ट्रिय कलाकारले नेपाली प्रतिभालाई रिकग्नाइज गर्नु खुसीको कुरा भनेर लेखेको छ । साथै सम्भव भएसम्म लिम्बूसँग सहकार्य गर्ने पनि बताएको छ । गायक लिम्बू एकदम कम गीत गाउने गायकमा पर्छन् । बढीमा वर्षमा तीन-चारवटा गीत ल्याउँछन् । तर, उनका प्रायः गीतले दर्शक-स्रोताको मन जितिरहेकै हुन्छ । ‘तिम्रो मुटुमा’ ‘आँखामा आउने सपनी’, ‘शिरफूल’ लगायत गीतले करोडौं भ्युज पाएका छन्, युट्युबमा ।

लिम्बूका जति गीत चलेका छन्, त्यति नै मौन र शान्त छन् उनी । मिडियामा कमैमात्र आउन चाहने लिम्बू आफ्नै गीतको तयारीमा प्रायःजसो समय बिताइरहेका हुन्छन् । गीतको कम्पोज, शब्द लेखनदेखि भिडियो निर्माण र एडिटिङमा आफै नबसे चित्तै बुझाउँदैनन् । यसैले पनि आफूले गीतहरु कम ल्याउने गरेको उनी बताउँछन् ।

‘सिउँदो’ गीतबाट चर्चामा आएका लिम्बूका समकालीन गायकगायिका प्रायःजसो व्यस्त हुन्छन् । एउटा गीत चल्नासाथ उनीहरुलाई गीत रेकर्ड गराउन भ्याइनभ्याइ हुन्छ । दिनमै आधा दर्जन गीतहरु रेकर्ड गराइरहेका हुन्छन् ।

भनिन्छ, यस क्षेत्रमा चल्ने अथवा चम्कने भनेको एकपटक हो । चम्किएकै समयमा आफूलाई बेच्न सक्नुपर्छ । कमाउने बेला पनि चलेकै बेला हो । त्यसैले पनि एकपटक चलिसकेपछि गायकगायिका लगातार गीतहरु गाइरहेका हुन्छन् । ‘आफैले कुन गीत गाएँ’ भन्ने थाहा नपाउने गरी गाइरहेका हुन्छन् । एकदेव लिम्बूको सवालमा भने यो फर्मुलाले काम गरिरहेको छैन ।

उनी भन्छन्, ‘हाम्रो क्षेत्रमा दुई खालका कलाकार छन् । एक खालकाले अरुको कम्पोज र शब्दमा गाउनुहुन्छ । तर, हामी भने सकेसम्म आफ्नै कम्पोज, शब्दमा आफ्नै युट्युब च्यानलका लागि निकाल्ने कोसिस गर्छौं । त्यही भएर पनि गीतहरु कम गाइँदोरहेछ ।’

लिम्बूका जति गीत चलेका छन्, त्यति नै मौन र शान्त छन् उनी । मिडियामा कमै मात्रामा आउन चाहने लिम्बू आफ्नै गीतको तयारीमा प्रायःजसो समय बिताइरहेका हुन्छन् । गीतको कम्पोज, शब्द लेखनदेखि भिडियो निर्माण र एडिटिङमा आफै नबसे चित्तै बुझाउँदैनन् । यसैले पनि आफूले गीतहरु कम ल्याउने गरेको उनी बताउँछन् ।

लिम्बू थप्छन्, ‘मैले पनि चाहेको भए अरुले जसरी गाउन सक्थेँ होला । तर, मलाई थोरै गीत आओस् भन्ने नै लाग्छ । सकेसम्म आफ्नै च्यानलमा काम गरौं भन्ने लाग्छ । थोरै चिज सुन्न पनि मज्जा आउँछ । त्यही भएर थोरै चिज निकाल्छु, राम्रो निकाल्छु भन्ने हो ।’

अब चाँडै नै लिम्बू अस्ट्रेलिया टुरमा जाँदैछन् । नेपालमा पनि कन्सर्टहरु गरिरहेका छन् । तर, पैसा छापिहाल्न र छिट्टै पाखा लागिहाल्ने सोच छैन लिम्बूको । विस्तारै समयको गतिअनुसार नै अगाडि बढ्ने उनी बताउँछन् । भन्छन्, ‘पैसा सबैलाई चाहिन्छ । तर, चलेकै बेला सबै खाउँ, काम गरिहालौं, सबै भ्याउँ भन्ने लाग्दैन । उसो त म त्यस्तो चलिसकेको पनि छैन । भर्खरै त करियर सुरु गरेको छु ।’

लिम्बूलाई लाग्छ, अत्यधिक कलाकार डिप्रेसन, एनजाइटीको सिकार हुनुको कारण पनि यस्तैयस्तै परिदृश्य र चिन्तन हो । कुनै पनि कलाकार सधैँ चलिरहँदैन । सबैको समय हुन्छ ।

लिम्बू सुनाउँछन्, ‘मेरो गीत पनि केही समय सुन्नुहुनेछ दर्शक-स्रोताले । अलि पछि नयाँ पुस्ता आउनेछ, नयाँ टेस्ट आउनेछ । त्यहीअनुसारका नयाँ गीत आउनेछन् । त्यसका लागि तयार भएर बस्नुपर्छ ।’

आफू भोलिका दिनमा आइपर्ने हरेक अफ्ठ्यारालाई स्वीकार्न तयार भइसकेको बताउँछन् । उनको भनाइ छ, ‘भोलिका दिनमा आउने खराब समय पनि स्वीकार्छु । त्यो देखिआएकै हो । भोगिसकिएको पनि हो । जतिबेलासम्म मलाई अडियन्सले सुन्नुहुनेछ, त्यतिबेलासम्म काम गरिरहन्छु । तर, मौका आएको बेला धेरै पैसा छापौं भन्ने चाहिँ लाग्दैन ।’

लिम्बूलाई लाग्छ, अत्यधिक कलाकार डिप्रेसन, एनजाइटीको सिकार हुनुको कारण पनि यस्तैयस्तै परिदृश्य र चिन्तन हो । कुनै पनि कलाकार सधैँ चलिरहँदैन । सबैको समय हुन्छ ।

लिम्बूलाई गीत ल्याउनै धेरै समय लाग्छ । एक वर्षमा चारवटा गीतलाई पनि धेरै मान्छन् उनी । शब्द, कम्पोज, भिडियोदेखि सम्पादनसम्म खटिनुपर्ने भएकाले पनि समय लागेको उनको भनाइ छ ।

लिम्बुको सांगितिक यात्राको एउटा बिन्दु थिए, गायक यशकुमार । उनैले ‘सिउँदो’ गीत लिम्बूलाई गाउन दिएका थिए । लिम्बू स्वयं पनि आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण मान्छे मान्छन् यशकुमारलाई ।

लिम्बूलाई गीत संगीतको दुनियाँमा आइपुग्ने वातावरण घरमै बनेको थियो । उनका बुवा पनि अलअलि गाउँथे । अलि पछि लिम्बूका बहिनी तथा गायिका सुनिता थोगिम गीत रेकर्ड गराउन काठमाडौं आएकी थिइन् । त्यसपछि आफूलाई पनि गीत रेकर्ड गराउने रहर पलाएको उनी बताउँछन् ।

त्यसपछि काठमाडौं छिरेका लिम्बूले पुतलीसडक र अनामनगरमा कति जुत्ता घिसारे, यकिन हिसाब छैन । कति कम्पोजरले गीत देला कि भन्ने आशमा हिँडे, त्यसको पनि हिसाब छैन । अहिले त पुतलीसडक-अनामनगरतिर खासै हिँड्दैनन् पनि ।

अहिले लिम्बूका साथीहरुको आफ्नै स्टुडियो छ । त्यही गीतहरु रेकर्ड गराउँछन् । तर, सिनेमामा भने अहिलेसम्म गाउन पाएका छैनन् । भन्छन्, ‘सिनेमामा गाउन राम्रो लिंक हुनुपर्छ भन्ने सुनेको छु । म त आफ्नै टीम र सर्कलमा हराइरहेको हुन्छु । वर्षमा तीन-चारवटा गीत ल्याइरहेको छु । यसैले पुग्दो छ मलाई ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *