पीडितका आफन्तको बयान- अभिभावक विदेश रहेका छात्रालाई छानाछानी दुर्व्यवहार – Nepal Press
सर्वनाम शिक्षालय प्रकरण :

पीडितका आफन्तको बयान- अभिभावक विदेश रहेका छात्रालाई छानाछानी दुर्व्यवहार

काठमाडौं । पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने यौन दुर्व्यवहारका घटना बढ्दै गएका छन् । विद्यालय क्षेत्रमा शिक्षकहरूबाट नै विद्यार्थीहरू यौन दुर्व्यवहारको सिकार भइरहेका छन् ।

यसैबीच राजधानी काठमाडौंको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका वार्डेनले होस्टेलमा बस्ने छात्राहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको घटना सार्वजनिक भएको छ । घटनाका बारेमा अभिभावकहरूले थाहा पाएपछि अहिले आन्दोलनमा छन् ।

अहिले शिक्षालयका प्रिन्सिपल र उनकी श्रीमतीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । आरोपी वार्डेन भने फरार रहेका छन् ।

पीडित छात्राहरूका आफन्तहरू अहिले पनि शिक्षालय क्षेत्रमा रहेका छन् ।

उनीहरूमध्ये केहीको बयान जस्ताको त्यस्तै

पीडितका आफन्त १:-

यो घटनामा प्रिन्सिपल र उहाँकी श्रीमतीको पनि यो घटनामा हात रहेको छ । घटनाको बारेमा महिनौँदेखि जानकारी हुँदा पनि वार्डेनलाई कारबाही नगरी भगाउनुभएको छ । अहिले वार्डेन रामेछाप पुग्यो रे ! हिजोसम्म ड्युटीमा रहेको मान्छे रातारात कसरी गायब भयो ?

पीडकलाई कारबाही हुनुपर्छ कारबाही नहुँदासम्म हामी स्कुल सञ्चालन हुन दिन्नौँ ।

कक्षा तीनमा पढ्नेदेखि १० मा पढ्नेसम्मका छात्रा नानीहरू पीडित छन् ।

वार्डेनले बाउआमा नेपालमा नभएकाहरूलाई टार्गेट गर्ने गरेको देखियो । उनीहरूको संवेदनशील अंगमा हात लगाउने, कुरा कतै भनेको खण्डमा विद्यालयबाट निकाल्ने धम्की दिने, राति राति पाइपले कुट्ने गरेको पाइएको छ ।

पीडितका आफन्त २:-

घटना भएको हिजो मात्रै थाहा भयो । लामो समयदेखि वार्डेनले उनीहरूमा दुर्व्यवहार गर्ने गरेको भए पनि अभिभावकलाई भन्न डराउने गरेका कारण घटना बाहिर आउन सकेको थिएन । विगत ६ महिनायता मेरो भान्जी लगायत पीडित नानीहरूले आफ्ना साथीहरूलाई कुरा सेयर गर्दा हामीले बल्ल हिजो थाहा पायौँ ।

यसमा प्रिन्सिपलको पनि मिलेमतो छ । ६ महिनाअघि थाहा पाएको घटनाका बारेमा हामीलाई जानकारी गराउनुपर्ने थियो । पीडकलाई कारबाहीका लागि पहल गर्नुपर्ने थियो । तर त्यसो गरेनन् । त्यसैले उहाँमाथि शंका छ ।

नानी (पीडित) ले करिब डेढ वर्षदेखि हामीलाई होस्टेल नबस्ने भन्दै आएको थियो । हामीले आफन्तको होस्टेल भएकाले सुरक्षित नै छ भन्ने विश्वासले धेरै वास्ता गरेनौँ तर हिजो घटनाका बारेमा हिजो मात्रै थाहा भयो । त्यो पनि साथीहरूसँग उनीहरूले कुरा सेयर गरेपछि हाम्रो कानमा पुगेको हो ।

मेरो भान्जी मात्रै होइन । ८, १० जना छात्राहरू पनि पीडित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर