फ्रेन्च ओपनकी निर्देशक माउरेस्मोकाे भनाइमा स्विटेकको आपत्ति – Nepal Press

फ्रेन्च ओपनकी निर्देशक माउरेस्मोकाे भनाइमा स्विटेकको आपत्ति

काठमाडौं। शीर्ष वरियताकी टेनिस खेलाडी इगा स्विटेकले फ्रेन्च ओपन प्रतियोगिताका निर्देशक अमेली माउरेस्मोले महिलाका खेलहरु पुरुषकाे जस्तै आकर्षक नभएको बताएको भनाइप्रति आपत्ति जनाएकी छन् । उनले माउरेस्माेकाे अभिव्यक्ति निराशाजनक र आश्चर्यजनक रहेकाे प्रतिक्रिया दिएकी छन् ।

पूर्वविश्व नम्बर एक टेनिस खेलाडी माउरेस्मोले यस सिजन फ्रेन्च ओपनमा महिलातर्फका १० खेलमा १ खेल राति भएका कारण आलोचनाको सामना गर्नु परेको हो ।

पोलिस खेलाडी स्विटेकले खेलेका पाँचै खेल दिउँसोको समयमा भएकाे थियाे । ‘मलाई लाग्छ महिला टेनिसका धेरै फाइदा छन्’, स्विटेकले भनिन् ।

राति भएकाे महिलाहरुको एकमात्रै खेल गत बिहीबार फ्रेन्च खेलाडी अलिजे कोर्नेट र १३औं वरियताकी जेलेना ओस्टापेन्कोबीचकाे थियो । पूर्वविम्बल्डन र अस्ट्रेलियन ओपन च्याम्पियन माउरेस्मो क्ले कोर्ट ग्राण्डस्लाममा प्रतियोगिता निर्देशकका रुपमा पहिलोपटक अनुबन्धित भएकी थिइन् । उनले क्ले कार्ट निर्देशन धेरै गाह्रो भएको बताएकी थिइन् ।

‘उहाँ पनि विश्व टेनिसकै मान्छे भएकाले केही निराशाजनक भएको छ । मेरो व्यक्तिगत दृष्टिकोणबाट प्रत्येक खेलाडीको लागि सामान्य समयमा खेल्न धेरै सुविधाजनक छ । तर, निश्चित रुपमा म मनोरञ्जन गर्न चाहन्छु र म मेरो प्रत्येक खेलमा उत्कृष्ट टेनिस देखाउन चाहन्छु’, स्विटेकले भनिन्, ‘त्यसैले मलाई लाग्छ कि यो हरेक व्यक्तिको व्यक्तिगत विचार हो । महिला र पुरुष टेनिसलाई समान रुपमा मन पराउँछन् कि कुनै एकलाई मात्रै मन पराउँछन् । कसैले यो पनि भन्न सक्छन् । यो अप्रत्याशित छ र महिलामैत्री छैन ।’

स्विटेक फ्रेन्च ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । विश्व वरियताको ११औं स्थानकी जेसिका पेगुलालाई क्ले कोर्ट ग्राण्डस्लाममा ६-३ र ६-२ को सोझो सेटमा पराजित गर्दै स्विटेकले सेमिफाइनल यात्रा तय गरेकी हुन् । स्विटेकले सेमिफाइनलमा बिहीबार डारिया कासातकिनाको सामना गर्नेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *