अटोमोबाइलमा बजेटको प्रहार, विद्युतीय सवारीमा समेत चर्को कर – Nepal Press

अटोमोबाइलमा बजेटको प्रहार, विद्युतीय सवारीमा समेत चर्को कर

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले धेरै वस्तुमा लाग्ने कर छुट र सहुलियतहरु दिएका छन् । तर, अटो क्षेत्रलाई भने यो बजेटले कठोर प्रहार गरेको छ । सरकारले विद्युत खपतमा प्रोत्साहन गर्ने भनिरहँदा अर्थमन्त्री शर्माले विद्युतीय गाडीको कर भने बढाएका छन् ।

बजेटमार्फत एक सय किलोवाटभन्दा माथिका विद्युतीय गाडीको कर वृद्धि गरिएको हो । यसअघि यी गाडीमा शून्य भन्सार र १५ प्रतिशत अन्तःशुल्क थियो । बजेटले एक सय किलोवाटदेखि दुई सय किलोवाटसम्मका सवारीमा अन्तःशुल्क र भन्सार शुल्क ३०–३० प्रतिशत पुर्‍याएको छ । दुई सयदेखि तीन सय किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर र अन्तःशुल्क ४५–४५ प्रतिशत पुगेको छ ।

त्यस्तै ३ सय किलोवाटभन्दा माथिका विद्युतीय गाडीलाई अन्तःशुल्क र भन्सार शुल्क ६०/६० प्रतिशत पुर्‍याइएको छ ।

पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनलाई निरुत्साहित गर्ने कुरा गरिए पनि बजेटले ठीक उल्टो धार समातेको छ । कर वृद्धिसँगै आगामी दिनमा विद्युतीय गाडीहरु किन्न महंगो पर्नेछ ।

तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा अन्तःशुल्क लगाएका थिए । त्यसमा उनको चर्काे विरोध भएको थियो । उनीपछिका अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय गाडीमा लाग्ने अन्तःशुल्क हटाए । तर, शर्माले ल्याएको बजेटमा पुनः विद्युतीय गाडीमा अन्तःशुल्क लगाएका हुन् ।

सरकारले गाडी, बाइक र विद्युतीय गाडीको क्षमताअनुसार फरक दरमा कर बढाएको छ । विद्युतीय गाडीमा एक सय किलोवाटभन्दा माथिकालाई अन्तःशुल्क लगाइएको छ । १५ सय सीसीसम्मका सवारीसाधनमा पुरानै कर कायम गरिएको छ । १५ सय सीसीभन्दा माथिका सवारीसाधनमा भने अन्तःशुल्क वृद्धि भएको छ । १५ सयदेखि २ हजार सीसीका गाडीको अन्तःशुल्क ५ प्रतिशत बढाइएको हो । यसअघि ७० प्रतिशत लाग्दै आएकोमा अब ७५ प्रतिशत लाग्ने भएको छ ।

यस्तै २ हजारदेखि ३ हजार सीसीका गाडीमा ५ प्रतिशतले अन्तःशुल्क वृद्धि भएको छ । ३ हजारभन्दा माथिका गाडीमा १०५ प्रतिशत अन्तःशुल्क पुगेको छ ।

सरकारले मोटरसाइकलको भन्सार महसुल पनि बढाएको छ । दुई सय सीसीभन्दा माथिका मोटरसाइकलको भन्सार महसुल बजेटले बढाएको हो । दुई सय सीसीभन्दा कम क्षमताको मोटरसाइकलहरुलाई भने पहिलेको भन्सार शुल्क ३० प्रतिशत नै कायम गरिएको छ ।
आर्थिक ऐनअनुसार २०० देखि २५० सीसीसम्मका बाइकमा २० प्रतिशत अन्तःशुल्क र १० प्रतिशत भन्सारदर वृद्धि भएको हो । २०० देखि २५० सीसीसम्मका बाइकको अब ४० प्रतिशत भन्सार लाग्ने भएको छ ।

२५१ सीसीदेखि ५ सय सीसीसम्मका बाइकमा पनि ४० प्रतिशत भन्सार शुल्क वृद्धि गरिएको छ । अब भन्सार शुल्क ७० प्रतिशत पुगेको छ भने अन्तःशुल्क ८० प्रतिशत पुगेको छ । ५०१ सीसीदेखि माथिका सबै बाइकमा भन्सारदर ८० प्रतिशत लाग्ने व्यवस्था गरिएको छ । नयाँ कर बजेट भाषण भएको दिनदेखि नै लागू भएको छ ।

नाडा अटोमोबाइल्स एसोसियसनका अध्यक्ष धु्रव थापाले सरकारले अटो क्षेत्रलाई पेलेर जान खोजेको बताए ।

उनले भने, ‘सरकारले अत्यावश्यक सवारीसाधनलाई पनि विलासी वस्तु भनेर बुझ्दा अटो व्यवसायीहरु मारमा परेका छन् । तर, केही कुरा हाम्रो पनि बजेटमा समेटिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर