बलात्कार आरोपी पाण्डेविरुद्ध चलाउने मुद्दाबारे प्रहरी नै अन्योलमा – Nepal Press

बलात्कार आरोपी पाण्डेविरुद्ध चलाउने मुद्दाबारे प्रहरी नै अन्योलमा

काठमाडौं । एक मोडलले ८ वर्षअघि बलात्कार गरेको आरोप लगाएपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध के मुद्दा लगाउने भन्ने विषयमा कानूनी परामर्शमै रहेको प्रहरीले जनाएको छ।

उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरले मानव बेचबिखन र बलात्कारमध्ये एक वा दुवैमा मुद्दा चल्नसक्ने बताए। ‘हामी अहिले कानूनी परामर्शमै छौं । तर यी दुईमध्ये एक वा दुवैमा अनुसन्धान हुनसक्ने सम्भावना छ’, एसएसपी कुँवरले भने।

सुन्दरी प्रतियोगिताका तत्कालीन आयोजक रहेका पाण्डेलाई शनिबार पक्राउ गरिएको थियो। आइतबार पनि सार्वजनिक बिदा भएकाले सोमबार अदालतबाट अनुसन्धानका लागि म्याद लिने प्रहरीको तयारी छ।

पाण्डेले सक्सेस पार्टीमा बोलाएर बलात्कार गरेको र ६ महिनासम्म ब्ल्याकमेलिङ गर्दै बलात्कार गरेको आरोप ती युवतीको छ। ती युवतीले केही दिनअघि सामाजिक सन्जालमा सार्वजनिक गरेको भिडियोले तरङ्ग उत्पन्न गराएको थियो।

दोषीलाई पक्राउ गरी कडाभन्दा कडा सजायँको मागसहित हरेक दिन अधिकारवादीहरुले प्रर्दशन गरिरहेका छन्। संसदको निर्देशनपछि सरकारले एसएसपी कुँवरको सयोजकत्वमा अनुसन्धान समिति पनि गठन गरेको छ।

तर बलात्कारको घटनामा एक वर्षभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने कानूनी व्यवस्था भएकाले प्रहरी के मुद्दामा अनुसन्धान गर्ने भन्ने अन्योलमा देखिन्छ।

पाण्डेले आरोप स्वीकारेको वा नस्वीकारेको बारे प्रहरीले केही बताएको छैन। कुँवरले पाण्डेको संलग्नताबारे अनुसन्धानपछि मात्र भन्न सकिने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *