एमाले कर्णालीले चार पालिकाको उम्मेदवार छान्न सकेन, अध्यक्ष र इन्चार्जलाई दिइयो जिम्मा – Nepal Press

एमाले कर्णालीले चार पालिकाको उम्मेदवार छान्न सकेन, अध्यक्ष र इन्चार्जलाई दिइयो जिम्मा

सुर्खेत । वैशाख ३० गतेको निर्वाचनको मिति नजिकिँदै आएपछि कर्णाली एमालेमा उम्मेदवार छनौटमा सकस देखिएको छ । दुई दिन बसेको एमालेको टिकट समन्वय समितिको बैठकले तीन पालिकाको प्रमुख र उपप्रमुख एवम एक पालिकाको उपप्रमुखमा उम्मेदवार चयन गर्न नसकेको हो ।

७९ ओटा पालिका मध्ये चार पालिकामा अध्यक्ष विनोद कुमार शाहलगायतका केहि पदाधिकारीको स्वार्थ बाँझिदा उम्मेदवार चयन हुन नसकेको बताइएको छ ।

दैलेखको आठबीस नगरपालिकामा नगरप्रमुखको उम्मेदवार मध्ये सबैभन्दा बढि मत तर्क बडुवाल र उपप्रमुखमा कल्पना थापाले ल्याएका थिए । दुईदिनसम्म चलेको बैठकमा बढी मत ल्याउने मात्रै कुरा हेर्न नहुने भन्दै बैठकमा विवाद भएको थियो । अध्यक्ष लगायतका केहि पदाधिकारीहरु अरुको नाममा पनि छलफल चलाउनुपर्ने भन्दै विवाद गरेको एमाले स्रोतले बताएको छ ।

विवाद गर्ने पदाधिकारीले खड्गराज उपाध्यायलाई नै टिकट दिनुपर्ने भन्दै लविङ गरेको थियो । यस्तै, दैलेखकै ठाँटीकाँध गाउँपालिकाको उम्मेदवार छनौटमा पनि विवाद देखिएको छ । यहाँ अध्यक्ष विनोद कुमार शाहकी श्रीमती लक्ष्मी शाह अध्यक्षको दावेदारको रुपमा छिन् ।

दुल्लु नगरपालिकाको उपप्रमुखमा पनि पदाधिकारीहरुको स्वार्थ बाँझिएको छ । त्यहाँ पनि उपप्रमुखमा नेताहरुले गोजीको उम्मेदवार बनाउन चलखेल गर्दा वैठकले सहमति जुटाउन सकेन ।

सुर्खेतको सिम्ता गाउँपालिकामा पनि विवाद देखिएको छ । सिम्ता गाउँपालिका सहित कर्णालीका चार ओटा पालिकामा नेताहरुले लोकप्रिय एवम जनाधार भएका नेताहरु भन्दा पनि आफू निकटकालाई टिकट दिने प्रयास गरेको पाइएको हो । अन्य सबैपालिकाको टिकट पाउनेहरुको नामावली तयार भइसकेको छ ।

‘हामीले केहि पालिकाको विवाद मिलाउन र उम्मेदवार चयन गर्नका लागि एमालेका अध्यक्ष शाह र इन्चार्ज यामलाल कंडेलको जिम्मा दिएका छौं ।’ एमाले प्रदेश कमिटिका उपसचिव टेकबहादुर पछाईले भने, ‘उहाँहरुले टुंगो लगाउनु हुन्छ होला ।’

उनले बैठकमा केहि पालिकाका बारेमा सामान्य विवाद देखिएको स्वीकारे । ‘तपाईले भनेको जस्तो दैलेखका केही पालिकामा सामान्य विवाद देखिएको हो । मतदान गरेर सबैभन्दा बढि मत पाउनेलाई टिकट दिने भन्ने सहमति नभएका कारण सिफारिस भएर आएका तीन जना मध्ये छान्नु पर्ने भन्ने कुरा उठेको हो ।’ उनी भन्छन्, ‘सकभर ती पालिकाको पनि आजै टुंगो लाग्छ होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर