रुपन्देहीमा तोकिएभन्दा बढी भाडा लिने ७ वटा ट्याक्सी नियन्त्रणमा – Nepal Press

रुपन्देहीमा तोकिएभन्दा बढी भाडा लिने ७ वटा ट्याक्सी नियन्त्रणमा

रुपन्देही ।रुपन्देही प्रशासनले तोकिएको दरभन्दा बढी भाडा लिने सातवटा ट्याक्सीलाई नियन्त्रणमा लिएको छ। रुपन्देहीमा भाडामा गुड्ने ट्याक्सी चालकहरुले मनपरी भाडा लिने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले ट्राफिक प्रहरी, ट्याक्सी व्यवसायी संघ, उपभोक्ता लगायतको सहभागितामा रुपन्देहीका विभिन्न स्थानमा जाने ट्याक्सीहरुको भाडा दर कायम गरेको थियो।

दुईमहिना पहिले भाडा दर कायम गरिएपनि यात्रुहरुबाट गुनासो आउने क्रम नरोकिएपछि प्रहरीहरुलाई नै यात्रुको रुपमा पठाएर रंगेहात सातवटा ट्याक्सी नियन्त्रणमा लिइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका १५ जना सुरक्षाकर्मीलाई यात्रुको रुपमा विभिन्न स्थानमा पठाएर बढी भाडा असुल गर्ने सातवटा ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालयको जिम्मामा लगाएको उनको भनाइ छ ।

१५ जना प्रहरीलाई बेलहिया, बसपार्क र विमानस्थलमा खटाएकोमा सातवटा ट्याक्सीले मनपरी भाडा लिएको भेटिएपछि नियन्त्रणमा लिईएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए। यसरी तोकिएको भन्दा बढी भाडा लिनेहरुमा लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज ३२६३, लु १ ज २३४३, लु १ ज ४०३१ र लु १ ज ३८९५ नं। का ट्याक्सी रहेका छन्।

ती सबै ट्याक्सी र चालकहरु रमेश सुनार, थमन थापा, मोहन अधिकारी, अर्जुन ठाकुर, सुमन अग्रवाल, अरुण रानामगर र आकाश गुरुङलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ।

यसअघि जिल्ला प्रशासन कार्यालयले भैरहवाको बुद्धचोक, देवकोटा चोक, गौतमबुद्ध विमानस्थल, बेलहिया र बुटवल बसपार्कदेखि एक किलोमिटरदेखि २८ किलोमिटरसम्मको दुरीका लागि न्यूनतम तिनसय रुपैयाँदेखि एकहजार २ सय ६० रुपैयाँसम्म भाडा दर कायम गरेको थियो।

बुटवल बसपार्कदेखि २७ किलोमिटर दुरीमा रहेको गौतमबुद्ध विमानस्थलका लागि एकहजार २ सय १५ रुपैयाँ भाडा तय गरिएको भएपनि ट्याक्सी चालकहरुले दुईहजार देखि पच्चिससय रुपैयाँसम्म भाडा लिने गरेको यात्रुहरुको गुनासो छ।

मापदण्ड वितरण संचालनमा रहेका ११ वटा ट्राभल कारवाहीमा जिल्ला अनुगमन समितिले बुटवलमा संचालनमा रहेका ११ वटा ट्राभल एजेन्सीलाई जरिवानासहित कारवाही गरेको छ।

दर्ता, नविकरण र शाखा संचालन अनुमती नलिई संचालनमा रहेका ट्राभललाई कारबाही गरिएको हो। जिल्ला प्रशासन कार्यालय र पर्यटन डिभिजन कार्यालयसहितको अनुगमन समितिले मापदण्ड पूरा नगरी संचालनमा रहेका ट्राभललाई कारवाही गरी तत्काल आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।

समितिले बुटवल उपमहानगरपालिका वडा नं। ९ मा रहेका १४ वटा ट्राभलहरुको अनुगमन गर्दा ११ वटा मापदण्ड विपरित संचालनमा रहेको पाईएको थियो। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले १४ वटा ट्राभल अनुगमन गर्दा तिनवटा मात्र मापदण्ड अनुसार संचालनमा रहेको पाईएको बताए। अन्य ट्राभल एजेन्सीहरु दर्ता नगरि कपिलवस्तु र रुपन्देहीका विभिन्न ठाउँबाट ल्याई शाखा संचालन गरिए पनि नविकरण र अनुमती नलिइ संचालन गरेको भेटिएको अर्यालले बताए।

सरकारी निकायबाट लिनुपर्ने इजाजतपत्र नलिई सञ्चालनमा रहेका रुद्रावती टुर्स एण्ड ट्राभल, खलंगा सुपादेउराली टुर्स प्रालि, लुम्बिनी हिमालय टुर एण्ड ट्राभल प्रालि, सुपादेउराली टुर एण्ड ट्राभल प्रालि, श्री दुर्गेश्वरी ट्राभल प्रालि, जनसगरमाथा टुर एण्ड ट्राभल, नमस्ते बिहानी टुर एण्ड ट्राभल, न्यु सागर एण्ड सगरमाथा र्टुस एण्ड ट्राभल, न्यु सुपादेउराली माँ टुर्स एण्ड ट्राभल प्रालि, श्री शुभसाइत टुर्स एण्ड ट्राभल प्रालि र सुपादेउराली टुर्स एण्ड ट्राभललाई जरिवानासहित कारबाही गरिएको हो।

पर्यटन डिभिजन कार्यालय, रुपन्देही प्रमुख गीता आचार्यले उनीहरुलाई कारवाहीस्वरुप जनही २० हजारका दरले दुई लाख २० हजार जरिवाना तिराइएको बताइन्। प्रदेश पर्यटन ऐन, २०७६ तथा नियमावली, २०७९ को परिच्छेद ३ को दफा ११ मा ट्राभल एजेन्सी वा ट्रेकिङ एजेन्सी खोल्नुपूर्व अनुमति लिनपर्ने व्यवस्था छ। जिल्लामा दर्तावाला ट्राभल २ सय ५० को हाराहारीमा रहेपनि एक सयको हाराहारीमा रहेका ट्राभलले नविकरण नै गरेका छैनन्।

यदि अनुमति बिनै सञ्चालनमा ल्याए २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ। यही व्यवस्थालाई टेकेर दर्ताबिनै सञ्चालनमा रहेका र नविकरण नगरेका ट्राभल एजेन्सीलाई जरिवानासहित कारवाही गरिएको हो।

अनुगमन समितिले गत चैत्रमा भैरहवाका १६ वटा ट्राभलको अनुगमन गरी ३ वटालाई कारबाहीसहित जरिवाना गरेको थियो। खासगरी दर्ताविनै संचालित ट्राभलले सर्वसाधारणलाई ठग्ने गरेको गुनासा आउने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *