पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर – Nepal Press

पहिलो पटक टिपताला पुगे नेपालतर्फका स्काभेटर र ट्याक्टर

ताप्लेजुङ ।  छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो दूरीको नाका टिपतालामा पहिलोपटक नेपालतर्फका गाडी पुगेका छन् ।

चीनको तिब्बतसँग जोडिएको टिपताला नाकामा  शुक्रबार एउटा स्काभेटर र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दए।

टिपताला पाँच हजार एक सय मिटरको उचाइमा पर्छ । विराटनगरको रानी भन्सार हुँदै टिपताला जोड्ने सडकको ट्याक खोल्ने कार्य यसअघि नै सकिएको थियो ।

सो सडक निर्माणको ढेक्का पाएको एलाइट जेभी निर्माण सेवाले ओलाङचुङगोलासम्म ट्याक खोल्ने कार्य केही दिनअघि सम्पन्न गरेको थियो । यता टिपतालादेखि ओलाङचुङगोलासम्मको २४ किलोमिटर दूरीको ट्रयाक खोल्ने कार्य केही वर्ष अघि नै सम्पन्न भइसकेको छ ।

सडक निर्माणसँगै ओलाङचुङगोलावासी तथा उत्तरी क्षेत्रका बासिन्दाको वर्षौदेखिको सडकको सपना पूरा भएको छ । टिपतालादेखि विराटनगरस्थित रानी भन्सार करिब दुई सय ९२ किलोमिटरको दूरीमा जोडिन्छ । टिपताला नाकामा सडक पुगे पनि कोरोना महामारीमा बन्द भएको सो नाका अझै खुलेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *