जेपी पथमा इमानसिंह- यसकारण बन्यो राप्ती नमूना नगरपालिका – Nepal Press

जेपी पथमा इमानसिंह- यसकारण बन्यो राप्ती नमूना नगरपालिका

स्वर्गीय जागृत प्रसाद भेटवाल (जेपी) भनेपछि चितवनमा एउटा ब्राण्ड नै थियो । पञ्चायतकालमा जनपक्षीय उम्मेदवार बनेर राष्ट्रिय पञ्चायत सदस्य बनेदेखि उनले २०५६ सालसम्म अपराजित यात्रा गरे । नेकपा एमालेका लोकप्रिय नेता जेपी भेटवालको पहिचान भनेकै हरेक जनताको समस्यामा पुग्ने र समाधान खोज्ने नेताको रूपमा थियो ।

क्यान्सरबाट जेपीको निधन भइसकेको छ । पछिल्लो समय पूर्वी चितवनमा जेपीको चर्चा पुनः चलेको छ र जेपी पथमा छन् राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामा । स्थानीय तहका जनप्रतिनिधिहरू सबै औसत मात्र छैनन्, अब्बल पनि छन् भन्ने उदाहरण बन्न सफल भएर ५ वर्षे कार्यकाल पूरा गर्दै छन् इमानसिंह ।

नाम जस्तै कामले पनि इमान देखाएकै कारण राप्तीमा उनको लोकप्रियता ५ वर्षअघि चुनाव जित्दाको भन्दा बढेको छ । प्रायः जनप्रतिनिधि ५ वर्षपछि लोकप्रियताको कसीमा कमजोर बन्ने गरेकोमा इमानसिंह त्यसमा अपवाद देखिएकाले एउटा मतदाताको हिसाबमा उनको प्रशंसा गरिएन भने काम गर्ने जनप्रतिनिधिको सही मूल्याङ्कन नहुन सक्छ ।

को हुन् इमानसिंह ?

इमानसिंह लामाको जन्म बि.स २०३० सालमा मकवानपुर जिल्लाको खैराङ भन्ने ठाउँमा भएको थियो । बसाइसराइको क्रममा उनी आठ वर्षको उमेरमै चितवन जिल्लाको पहाडी भेग कोराकमा पुगे । पहाडी जीवन अत्यन्त कष्टकर थियो । त्यति बेला गाउँमा पढेलेखेका मान्छे कम थिए । त्यस बेला पनि लामा कोराक गा.बि.स भरी नै एसएलसी पास गर्ने दोस्रो व्यक्ति थिए । बौद्ध दर्शनमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका लामाले स्कुल र कलेजमा शिक्षण पनि गरे ।

जनप्रतिनिधिका रूपमा निर्विरोध वडाध्यक्षदेखि जिविस उपसभापतिसम्म भएका लामा अहिले राप्ती नगरपालिकाको उपमेयर छन् । बौद्ध दर्शनका पिएचडी डा. लामा केही समय लुम्बिनी विकास कोषको कार्यकारी प्रमुख पनि भएका थिए । २०५४ सालको निर्वाचनमा उनी कोरकबाट वडाध्यक्षमा निर्विरोध भएका थिए ।

चितवन जिल्लाका सात पालिकाको प्रमुख,उप–प्रमुखमध्ये जिल्लाभर नै सबैभन्दा बढी मत–अन्तरले विजयी हुनेमा पनि लामा नै भए । प्रायः स्थानीय तहका उपप्रमुख महिला छन् तर राप्तीमा प्रमुख महिला र उपप्रमुख पुरुष छन् । मेयर प्रभा बराल र उपमेयर इमानसिंहको टिमको कामकै कारण देशभरकै उत्कृष्ट नगरपालिकामा राप्ती पर्न सफल भयो ।

जेपी भेटवाल जस्तै इमानसिंह असहाय, अपांगता भएका, बिरामी तथा ज्येष्ठ नागरिकको सेवामा तल्लीन रहेकै कारण उनको लोकप्रियताको ग्राफ उकालो लागेको हो । न्यायिक समितिको प्रमुखको हिसाबले न्याय सम्पादनमा निष्पक्षता र भौतिक पूर्वाधार विकासमा पारदर्शिताकै कारण राप्ती नमुना नगरपालिका बनेको हो ।

विश्वभरिनै कोरोना भाइरस महामारी फैलिरहेका बेला २०७६ साल फागुन देखि देश लकडाउनले ठप्प रह्यो । एक परिवारका सदस्यले अर्को परिवारका सदस्यलाई छुन डराउने अवस्था थियो । छोराले बुवालाई, छोरीले आमालाई, श्रीमानले श्रीमतीलाई समेत छुन डराउने बेला इमानसिंहले आफ्नो फरक रूप देखाए ।

त्यो जोखिममा आफ्नो पर्बाह नगरी उनले आफैँ चालक बनेर कोरोना संक्रमितलाई उपचारमा लैजाने, अस्पतालबाट घर ल्याउने, शव व्यवस्थापन गर्ने जस्ता काम देखाए । विपतमा जो आफ्नो सहयोगी बनेर आउँछ जनताले उसलाई कहिल्यै भुल्दैनन्,त्यसैले इमानसिंह यहाँ प्रिय बने ।

राज्यबाट प्राप्त हुने सेवा सुविधा उनले जनताको सेवामा लगाएका छन् । राज्यबाट प्राप्त हुने तलब रकमबाट प्रत्येक वर्ष अति विपन्न , एकल महिला, अशक्त, अपांग, असहायहरुको घर निर्माणमा खर्च गर्ने गरेका छन् । उनले लकडाउनको समयमा अति विपन्न अशक्त अपांगहरुको घर–घरमै आफैले खाद्य सामग्रीहरू पुर्‍याएका थिए ।

न्यायिक समितिको प्रमुख भएर उनले राप्ती नगरपालिकामा गरेका फैसला विरुद्ध कुनै एक–जनाले पनि पुनरावलोकन गरेको केश छैन र सरकारको मूल्याङ्कन पनि सयमा सय मत प्राप्त गर्ने नगरपालिका देशभरिमै राप्ती नगरपालिका रहेको छ ।

इमानसिंहले विभिन्न कारणले नेपाली नागरिकता बनाउन नसक्ने र राज्यको सेवा–सुविधाबाट समेत वञ्चित भएका अशक्तहरूलाई घर घरमै पुगेर आफैँ सनाखत बसेर सो अधिकार दिलाए । असल काम गर्नेको मूल्याङ्कन हुनुपर्छ, इमानसिंह जस्ता जनप्रतिनिधिहरूलाई हौसला दिन र अरू धेरैलाई इमानसिंह बन्न प्रेरित गरौँ ।

राम्रोलाई राम्रो भन्न सकियो भने मात्र राम्रो काम गर्न अरूहरूलाई हौसला मिल्नेछ । उपमेयरका रूपमा उनले जे गरे सम्भवतः मेयरको जिम्मेवारीमा पुगेर अझ धेरै गर्न सकुन् र देशमा राम्रो काम गर्नेहरू छन् भन्ने उदाहरण बन्न सकुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *