‘स्वगं’ दिएर चोख्याइँदै भक्तपुर नगरका ४३ देवदेवी (भिडिओ) – Nepal Press
बिस्का जात्रा

‘स्वगं’ दिएर चोख्याइँदै भक्तपुर नगरका ४३ देवदेवी (भिडिओ)

भक्तपुर । आठ दिन नौ रातसम्म मनाइने बिस्का जात्राको आठौं दिन आइतबार भक्तपुरमा द्यः स्वगं बियगु जात्रा धुमधामसँग मनाइँदै छ। यस जात्राअन्तर्गत शनिबारसम्म जात्रा गरिएका देवदेवीलाई ‘स्वगं’ (सगुन) दिइन्छ । यस जात्रा देवदेवीलाई चोख्याउने प्रक्रिया पनि मानिन्छ । जसअनुसार स्वगं दिएर आइतबार भक्तपुरका ४३ देवदेवी चोख्याइँदै छन् ।

टोल–टोल लगेर जात्रा गरिँदा देवदेवी अशुद्ध हुने धार्मिक मान्यता छ । सोही मान्यताको आधारमा स्वगं दिएर देवदेवीलाई चोख्याउन बिस्का जात्राको आठौं दिन द्यः स्वगंबियगु जात्रा मनाइने प्रचलन रहेको छ ।

बिस्का जात्राभित्रको यस जात्रालाई स्थानीय नेपालभाषामा द्यः स्वगं बियगु (देवतालाई सगुन दिने) जात्रा भनिन्छ । भक्तपुर नगरभित्र रहेका ४३ देवदेवीलाई पूजाआजापछि भोजसहितको स्वगं चढाइन्छ । भक्तपुर नगरभर छरिएर रहेका देवदेवीलाई सगुन चढाउन जात्रालुमध्ये महिला हातमा पूजा थाली र पुरुष खर्पन बोकेर सहभागी हुन्छन् । कोही मौलिक बाजागाजा बजाएर त कोही भजन गाउँदै पछि लाग्छन् ।

पूजा थाली तथा खर्पनमा पूजा सामग्री तथा भोजका परिकार हुन्छन् । जात्रामा देवदेवीलाई स्वगंसहित नेवारी भोजका परिकार चढाइने गरिन्छ । यसरी देवदेवीलाई स्वगं र भोज चढाउँदै भक्तपुर नगरलाई एक चक्कर लगाएपछि द्यः स्वगं बियगु जात्रा सम्पन्न भएको मानिन्छ ।

नेवारी परम्पराअनुसार भक्तपुर नगरभित्रका अष्टमातृकाअन्तर्गतका ब्रह्मायणी, माहेश्वरी, कुमारी, विष्णुवी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरी तथा भैरव, भद्रकाली, बेताल, गणेश, मनकामना र भीमसेन गरी ४३ देवदेवीलाई स्वगं चढाइन्छ ।

दुईदिने प्राचीन बिस्का जात्रालाई आठ दिन नौ रात बनाउने क्रममा भूपतीन्द्र मल्लले द्यः स्वगं बियगु जात्रा पनि प्रचलनमा ल्याएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले जानकारी दिए । उनका अनुसार बिस्का जात्राअन्तर्गत देवदेवीलाई खट वा रथमा राखेर जात्रा मनाउँदा देवदेवी पनि अशुद्ध हुने मानिन्छ । त्यसैले प्रत्येक वर्ष बिस्का जात्राको आठौं दिन द्यः स्वगं बियगु जात्रा गर्ने चलन चलाइएको धौभडेलले स्पष्ट पारे ।

‘द्यः स्वगं बियगु जात्रामा सहभागी गराउन प्रत्येक देवदेवीलाई अघिल्लो दिन राति नै द्योछें (देवघर) बाट बाहिर निकालिन्छ’, उनले भने, ‘सुरुमा अष्टमातृकाभित्र पर्ने ब्रह्मायणी, माहेश्वरी, कुमारी, विष्णुवी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरी तथा भैरवनाथ र भद्रकाली गरी ३२ देवदेवीलाई मात्रै सगुन दिइन्थ्यो । तर पछिल्लो समय गणेश, मनकामना र भीमसेन देवतासमेत थपिएर ४३ देवदेवी पुगेका छन् ।’
स्वगं दिइसकेपछि रथमा बिराजमान भैरवनाथ र भद्रकालीबाहेक सम्पूर्ण देवीदेवीलाई आइतबार नै द्योछें भित्र्याइने धौभडेल बताउँछन् ।

सोमबार सकिँदै बिस्का जात्रा

यसैबीच यस वर्षको बिस्का जात्रा सोमबार सकिँदै छ । जात्राको अन्तिम दिन सोमबार ‘द्य थहाँ बिज्यागु’ (देउता मन्दिर सवारी हुने) जात्रा मनाइन्छ । उक्त जात्राअन्तर्गत भक्तपुर नपा ५ गःहिटीमा रहेको भैरवनाथको रथ तानेर पाँचतले मन्दिर परिसरमा पुर्‍याइन्छ ।

उक्त रथ पाँचतले मन्दिर परिसर पुर्‍याइएपछि रथमा सवार भैरवनाथ र बेताल झिकेर मन्दिरमा पुनः विराजमान गरिएपछि यसवर्षको बिस्का जात्रा विधिपूर्वक सम्पन्न भएको मानिन्छ ।

त्यस्तै सोमबार नै भक्तपुर नपा ४ पोटेरी स्क्वायरमा गत चैत ३० गते ठड्याइएको हात नभएको लिंगो ढाल्ने परम्परा रहेको छ ।


प्रतिक्रिया

One thought on “‘स्वगं’ दिएर चोख्याइँदै भक्तपुर नगरका ४३ देवदेवी (भिडिओ)

  1. “आठ दिन नौ रातसम्म” भनेपछि नौ दिन नौ रात नै भएन र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *