भक्तपुरमा आज नवौंपटक जिब्रो छेडाउँदै बुद्धकृष्ण – Nepal Press

भक्तपुरमा आज नवौंपटक जिब्रो छेडाउँदै बुद्धकृष्ण

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका– २ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौंपटक जिब्रो छेडाउने भएका छन् ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाइ व्रत बस्ने गर्दछन् । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ । जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले जिव्रो छेडने व्यक्तिको जिव्रो छेडिदिन्छन् ।

एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेड्ने गरिन्छ । त्यसपछि जिव्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने गर्दछ । यसपछि उक्त परिवारमा भोज खाने प्रचलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर