मञ्जलीको संयोग- पहिले ‘भोटर लिस्ट’ ले धोका दियो, अहिले फरक पार्टीबाट उम्मेदवार फिक्स – Nepal Press

मञ्जलीको संयोग- पहिले ‘भोटर लिस्ट’ ले धोका दियो, अहिले फरक पार्टीबाट उम्मेदवार फिक्स

ललितपुर महानगरमा एमालेका मेयर र उपमेयरका उम्मेदवार सर्वसम्मत

ललितपुर । २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले मेयरमा दिनेश महर्जन र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेदवार बनायो ।

निर्वाचन कार्यालयमा मनोनयन गर्ने बेलामा कर्मचारीले महानगरपालिकाभित्रत्रको मतदाता नामावलीमा मञ्जलीको नामै नदेखेपछि उनको ठाउँमा हसिना शाक्यलाई उम्मेदवार बनाइएको थियो ।

यसपटक मञ्जलीले विगतको त्रुटि दोहोरिन नदिन बेलैमा सचेत भइन् । फरक यति हो कि,अघिल्लोपटक उपमेयरमा टिकट पाएर पनि उम्मेदवार बन्न नपाएकी मन्जलीले यसपटक पनि उपमेयरमै टिकट पाइन् तर एमालेबाट ।

नेकपा एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपा विभाजनपछि मञ्जलीले पुरानो माओवादीधार छाडिन् । सर्वोच्च अदालतको फैसलाबाट एमाले व्युँतिएपछि उनी एमालेतिर लागिन् र ललितपुर महानगरपालिका कमिटीको अध्यक्ष बनिन् ।

उनै मञ्जलीलाई एमालेले उपमेयरको उम्मेदवारका रूपमा सर्वसम्मत अघि बढाएको छ । उपमेयरमा उनीसहित सरस्वती खड्काको पनि दाबी थियो । तर, पार्टीले दुवैबीच सहमति कामय गरेर मन्जलीलाई अघि बढाएपछि ललितपुरमा एमालेको चुनावी अभियान सुरू भएको छ ।

मेयरमा यसअघि नै केन्द्रीय सदस्य हरिकृष्ण ब्यन्जनकारको नाम सर्वसम्मतिले सिफारिस भइसकेको छ । ब्यन्जनकार २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका चिरिबाबु महर्जनसँग करीव २ सय मतान्तरले पराजित भएका थिए ।

यसपटक एमालेले ब्यन्जनकार र मन्जलीको नेतृत्वमो चुनावी टिम अघि सारेको छ भने उम्मेदवारहरू घरदैलोमा जाने क्रम सुरू भएको जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले बताए ।

ललितपुरमा सत्ता गठबन्धन हुँदा कांग्रेसले नै पाउने सम्भावना छ । त्यो अवस्थामा अघिल्लो चुनावमा साझा पार्टीका स्वर्गीय रमेश महर्जनले पाएको करीव १४ हजार मत निर्णायक हुनसक्छ ।

सो निर्वाचनमा कांग्रेसले २४,६४२,एमालेले २४३१६,साझाले १३,४५८ र माओवादीले १०,६६१ मत पाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर