अर्घाखाँचीका तीन पालिकामा एमालेका उम्मेदवार सर्वसम्मत चयन, बाँकीमा आकांक्षीको नामसहित सिफारिस – Nepal Press

अर्घाखाँचीका तीन पालिकामा एमालेका उम्मेदवार सर्वसम्मत चयन, बाँकीमा आकांक्षीको नामसहित सिफारिस

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तह निर्वाचनका लागि अर्घाखाँचीका ६ पालिकामध्ये ३ वटामा सर्वसम्मत उम्मेदवार छनोट गरेको छ । ३ पालिकामा भने अन्य आकांक्षीसहितका नाम सिफारिस गरेको छ ।

भूमिकास्थान नगरपालिकामा अहिलेका मेयर रेशम थापालाई मेयर तथा उपमेयरमा वसन्ता पौडेललाई नगर कमिटीले निर्विरोध सिफारिस गरेको हो । गत निर्वाचनमा माओवादी र नेपाली कांग्रेसको गठबन्धनमा माओवादीबाट निर्वाचित थापा पछि एमालेमा प्रवेश गरेका थिए ।

त्यसैगरी शीतगंगा नगरपालिकामा वसन्त श्रेष्ठ मेयर तथा गीता भाट उपमेयरमा निर्विरोध सिफारिस भएका हुन् । श्रेष्ठ गत निर्वाचनमा थोरै मतले मेयरमा पराजित भएका थिए ।

त्यसैगरी पाणिनि गाउँपालिका अध्यक्षमा टेकराज न्यौपाने अध्यक्षमा सर्वसम्मत प्रस्तावित भएका छन् । उपाध्यक्षमा भने धेरै आकांक्षी रहेकाले सबैको नाम माथिल्लो कमिटीमा पठाइएको छ ।

सन्धिखर्क नगरपालिकामा मेयरका लागि कृष्णप्रसाद श्रेष्ठ, श्रीकृष्ण भुसाल, खुबिराम आचार्य र युवराज श्रेष्ठको नाम सिफारिस भएको छ भने उपमेयरमा मिश्रा आचार्य, शुशीला गैरे र पार्वता श्रेष्ठको नाम सिफारिस भएको छ ।

मालारानी गाउँपालिकामा हालका अध्यक्ष बालकृष्ण आचार्यसहित जर्नादन खनाल र दलबहादुर भट्टराई अध्यक्षमा र इन्दिरा आचार्य, जानका खनाल, जुना घिमिरे, लक्ष्मी आचार्य, दीपा पोख्रेल उपाध्यक्षमा सिफारिस भएका छन् ।

छत्रदेव गाउँपालिकाको अध्यक्षमा ऋषिराम अधिकारी, दीपक पन्थी, हसरदिन मिया र उपाध्यक्षमा मनि शर्मा पन्थी, रुपा पाण्डे प्रधान, पवित्रा श्रेष्ठ, मिना पाण्डे सिफारिस भएका छन् ।

गत निर्वाचनमा छत्रदेव र पाणिनिमा कांग्रेस एक्लै जितेको थियो भने अन्य ४ पालिकामा कांग्रेस माओवादी गठबन्धनका विरुद्ध एमाले एकल लडेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर