देशप्रति गद्दारी गर्नुभन्दा मान्छे मात्र भएर बस्छु भन्दै लुम्बिनी विकास प्राधिकरण सीईओको राजीनामा – Nepal Press

देशप्रति गद्दारी गर्नुभन्दा मान्छे मात्र भएर बस्छु भन्दै लुम्बिनी विकास प्राधिकरण सीईओको राजीनामा

रुपन्देही । विवादमा परेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डर रद्द गरिएको छ । यो विवादमा मुछिएका प्रदेश प्राधिकरण आयोजनाका कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि यो विषय थप रहस्यमय बनेको छ ।

मुख्यमन्त्री कुलपसाद केसीको विशेष योजनामा नियुक्त भएका घिमिरेले राजीनामा पत्र सार्वजनिक गरेपनि मोबाइल अफ गरेका छन् तर आफूले किन काम गर्न नसकेको भनेर विज्ञप्ति सार्वजनिक गरेका छन् ।

टेण्डर प्रतिस्पर्धामा अरु कम्पनी छनोट नहुने गरी स्पेसिफिकेसनमै सेटिङ गरिएको भन्दै निर्माण व्यवसायीले समेत विरोध गरेका थिए ।

नयाँ भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का कुनै दुई कम्पनी मात्र छनोट गर्ने गरी स्पेसिफिकेसन तयार गरेर प्रक्रियामै सेटिङ गरेको रहस्य बाहिर आएसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणले टेण्डर रद्द गरेको हो ।

विवादित टेण्डरबारे उच्च अदालत दाङमा मुद्दा परेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरीहरू परेका थिए ।

प्राधिकरणले आह्वान गरिएको ठेक्कामा कतिपय बुँदाले निजी क्षेत्रका कम्पनी बोलपत्रमा सहभागी नहुने गरी व्यहोरा राखिएको थियो । विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा २ हजार वर्गमिटरभन्दा बढीको २ तले बेसमेन्ट बनाएको हुनुपर्ने, नेपाली कम्पनीले एक्लै प्रतिस्पर्धा गर्ने ६ हजार वर्गमिटरमा २ तले बेसमेन्ट निर्माण गरेको अनुभव हुनुपर्ने बताइएको थियो ।

यो प्रावधानले डबल बेसमेन्ट अस्पताल बनाएका निजी कम्पनीहरु टेण्डरमा सहभागी हुनबाट रोकेको निर्माण व्यवसायीहरूले बताउँदै आएका थिए ।

त्यसबाहेक भिन्ली मेडिकेटड फ्लोरिङ काम गरेको हुनुपर्ने, १० जनाभन्दा बढी अट्ने लिफ्ट जडान गरेको योग्यता हुनुपर्ने जस्तो शंकास्पद र औचिन्यहीन मापदण्ड राखेर ठेक्कामा टेण्डर गरिएको थियो । टेण्डर रद्द गरिएको भवन १० तला बन्ने गरी गुरुयोजना बनाइएको छ । गुरुयोजना अनुसार १० तले हुने भवनमा सबै सेवा उपलब्ध गराउन सकिनेछ ।

भवनको माथि हेलिप्याडसमेत रहनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ । १० तले भवनमा १२ सय शय्या हुनेछन् ।
प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले करिब ५ अर्बरूपैयाँ लागतको प्रादेशिक अस्पतालको भवन निर्माणको लागि टेण्डर आह्वान गरेको भए पनि सीमित निर्माण कम्पनी छनोट हुँदा राज्यलाई आर्थिक भार बढी पर्ने भएकाले टेण्डर रद्द गरेको प्राधिकरणका प्राविधिक इन्जिनियर गिरिराज पौडेलले बताए ।

‘सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम सोमबारको निर्णय अनुसार टण्डर रद्द गरिएको हो । अब अहिले उठिरहेका विवादलाई समाधान गर्ने गरी टेण्डर आह्वान हुनेछ,’ इन्जिनियर पौडेलले भने ।

प्राधिकरणले आह्वान गरेको ठेक्कामा रमेश शर्माको शर्मा र रसुवा जेभी मात्र सहभागी भएका थिए । ठेक्का आह्वान सेटिङमा भएको र सार्वजनिक खरिद अनुगमन कार्यालयले ध्यानाकर्षण गराएको थियो ।

किन राजीनामा दिए घिमिरेले ?

प्रदेश पुर्वधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त राज घिमिरेले पदबाट राजीनामा दिएका छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको ६ अर्बको भवन टेण्डर गर्दा प्रक्रियामै सेटिङ भएको सरकारीस्तरबाट समेत प्रश्न उठेपछि टेण्डर रद्द गरेका घिमिरेले पदबाट राजिनामा दिएका हुन ।

प्रदेश पूर्वाधार विकास समितिको २०७८ फागुन २ गतेको बैठकको निर्णयअनुसार लुम्बिनी प्रादेशिक अस्पत्तालको बोलपत्र फागुन ८ गते आव्हान भएकोमा प्रक्रियामै सेटिङ गरेर निश्चित दुई कम्पनीलाई छनोटमा योग्य पार्ने गरी स्पाईसिकेशन तयार गरिएको थियो ।

राजिनामा दिएका घिमिरेले ७०० करोडको ठेक्कामा प्रतिष्पर्धा हुँदा र नहुँदा राज्यलाई करिव १ सय ५० करोडको क्षति हुनसक्ने अनुमानसहित अस्पतालको टेण्डर रद्द गरेको बताएका छन् ।

‘देशप्रति गढारी गर्नु भन्दा मान्छे मात्र भएर बस्नु उचित ठाने र ठेक्का रद्द गर्दा दलाल को दलाल बन्न नपर्ने निर्णय सहित सार्वजनिक खरिद ऐन २०६३ को दफा २४ बमोजिम लुम्बिनी प्रादेशिक अस्पताल को ठेका रद्ध गरिएको छ।’ उनले राजीनामामा भनेका छन् ।

उनले स्पाईकेशनमा सेटिङ भएको आशंका सम्बन्धित कार्यालयलाई जानाकारीसमेत गराएको बताएका छन् ।


प्रतिक्रिया

One thought on “देशप्रति गद्दारी गर्नुभन्दा मान्छे मात्र भएर बस्छु भन्दै लुम्बिनी विकास प्राधिकरण सीईओको राजीनामा

  1. एकदमै राम्राे गर्नुभयाे । माओवादी लगायतकाे गठबन्धन बनेकै लुटनकाे लागि हाे । यिनलाई सबैले छाेडिदिउँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर