पार्टीका पत्रकारसँग माधव नेपालको गुनासो- खादा र टीका लाउन भ्याइनभ्याइ छ, प्रचार नै छैन (भिडिओ) – Nepal Press

पार्टीका पत्रकारसँग माधव नेपालको गुनासो- खादा र टीका लाउन भ्याइनभ्याइ छ, प्रचार नै छैन (भिडिओ)

काठमाडौं । नेकपा एसका नेता माधवकुमार नेपालले जताततै पार्टी प्रवेश गर्नेहरूको लहर चलेको बताएका छन् । तर, उनले पत्रकारहरूले गर्नुपर्ने जति प्रचार भने नगरेको गुनासो गरे ।

पार्टीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जिल्ला जिल्लाका समाजवादीका पत्रकारहरूले समाचार र फोटोहरू तत्काल पठाउन निर्देशनसमेत दिए ।

‘म विभिन्न ठाउँमा गइराको छु । २ हजार ३ हजारले हल टनाटन छ । मान्छे बाहिर बसिरहेका हुन्छन् । त्यहाँ के भएको थियो । फोटा आउनुपर्‍यो । समाचार प्रसारण गर्ने कुरामा कार्यक्रम र भाषणका सकारात्मक पक्षहरूलाई इमिडियट पठाउनुपर्‍यो’, अध्यक्ष नेपालले भने ।

समाचार हेर्दा, पढ्दा हेरौं हैरौं र पढौं पढौं लाग्ने गरी लेख्न पनि उनको आग्रह थियो ।

नेता नेपालले पार्टी प्रवेश गराउन भ्याइनभ्याइ भएको पनि सुनाए । उदाहरण दिँदै उनले भने, ‘गुल्मीमा म गएको थिए । मान्छे यति धेरै ओइरिन थाले कि मैले नभ्याएर रामकुमारी झाँक्रीलाई टीका लगाउन पालो दिएँ । त्यहाँ उत्साह । जबकि एमालेका दुई नेता त्यहीँ कब्जा गरेर बसेका छन् । खसी काटेर भोज गरेर हाम्रोतिर आउन रोकेका छन् । दुईवटा बसमा आएकालाई रोकेका छन् । तर, मान्छे आउन रोकिएका छैनन् । हल भरिएर । जहाँ गयो आकर्षण बढ्दो छ । हाम्रो पार्टीको प्रभाव विस्तार हुँदैछ । यो पोजिटिभ पक्ष हो । जति प्रचार हुनुपर्ने भएको छैन ।’

धादिङको धुनिबेँसीमा अढाई हजारलाई प्रवेश गराएको भन्दै उनले नेकपा एसको कार्यक्रमलाई माओवादीले आफ्नो कार्यक्रम भनेर फोटो हालेको बताए ।

नेपालले भने, ‘मैले प्रचण्डलाई सोधेँ । किन यो लेखेको ? उहाँहरूलाई पनि लाग्यो कि के हो हाम्रा पनि मान्छे गए’ भनेर ।

चुनावमा पार्टीलाई विजयी गराउन लाग्न भन्दै उनले पत्रकारले फोटो खिच्दा र समाचार लेख्दा ध्यान दिनुपर्ने विषय पनि सिकाउन भ्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर