स्वतन्त्र न्यायालय, मर्यादित बार र संविधानको रक्षा हाम्रो एजेण्डा : वरिष्ठ अधिवक्ता घिमिरे – Nepal Press

स्वतन्त्र न्यायालय, मर्यादित बार र संविधानको रक्षा हाम्रो एजेण्डा : वरिष्ठ अधिवक्ता घिमिरे

विराटनगर । नेपाल बार एसोसिएसनको आसन्न निर्वाचनमा अध्यक्षको प्रत्याशी रहेका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले स्वतन्त्र र सक्षम न्यायालय, मर्यादित बार एवं संविधानको रक्षा र कार्यान्वयनका लागि आफ्नो उम्मेदवार रहेको बताएका छन् ।

प्रदेश नम्बर १ लक्षित चुनावी प्रचार अभियानको अन्तिम दिन मोरङमा आयोजित कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनका उम्मेदवार घिमिरेले आफू नेतृत्वको समूह विजयी भएमा न्यायालयको गरिमा र कानुन व्यवसायीको मर्यादा उच्च राख्ने गरी काम गर्ने बताए ।

न्यायपालिकाको शुद्धीकरणका लागि बारको आगामी निर्वाचनमा प्रगतिशील, लोकतान्त्रिक समावेशी प्यानलको जित आवश्यक रहेको भन्दै घिमिरेले राष्ट्रिय मुद्दाहरूमा बारलाई स्पष्ट बनाएर नेतृत्व गर्ने बताए ।

‘राष्ट्रिय मुद्दाहरूमा बारले निर्वाचन गर्ने भूमिका महत्त्वपूर्ण हुन्छ । हाम्रो नेतृत्वको बार न्याय क्षेत्रको सुधार र संविधानको कार्यान्वयनका पक्षमा दृढतापूर्वक उभिन्छ’, घिमिरेले भने ।

बार एसोसिएसनको सांगठनिक संरचनामा सुधार गर्दै प्रदेश संरचना विस्तार ईकाई बारहरूलाई बलियो बनाउन आफ्नो समूह प्रतिबद्ध रहेको घिमिरेको भनाई छ ।

कार्यक्रममा प्रदेश नं. १ का उपाध्यक्षका उम्मेदवार अधिवक्ता सुरज खत्रीले आफूले निर्वाचित भएमा प्रदेश नं. १ को कानुन व्यवसायी, बार तथा न्यायपालिकाको हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बार एसोसिएसनको निर्वाचनमा नेपाल डेमोक्रेटिक लयर्स एसोसिएन (डिएलए नेपाल), समाजवादी प्रगतिशील लर्यस एसोसिएसन (एसपीएलए), क्रान्तिकारी तथा प्रगतिशिल लयर्स एसोसिएसन (आरपीएलए) र संघिय लर्यस एसोसिएसन (एफएलए) ले बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको नाममा सामुहिक रुपमा उम्मेदवारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *