मान्यता पाएका कुनै पनि दलसँग गठबन्धन गर्न एमालेलाई आपत्ति छैनः भानुभक्त ढकाल – Nepal Press

मान्यता पाएका कुनै पनि दलसँग गठबन्धन गर्न एमालेलाई आपत्ति छैनः भानुभक्त ढकाल

चितवन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले मान्यता पाएका कुनै पनि दलसँग गठबन्धन गर्न एमालेलाई आपत्ति नभएकाे बताएका छन् । प्रेस चौतारी नेपाल चितवन जिल्ला शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (एमाले)ले एकीकृत समाजवादीलाई राजनीतिक मान्यता नदिएको उल्लेख गर्दै यस्ताे बताएका हुन् ।

साेही अवसरमा ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताउँदै  एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको पनि बताएका छन् ।  उनले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भने, ‘केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।’ अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको परिणामले त्यसलाई प्रष्ट पार्ने उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचन एमालेको दबाबका कारण समयमै हुन लागेको भन्दै उनले निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको आरोप लगाए । निर्वाचनको समयमा जनप्रतिनिधिविहीन बनाउन नहुने तर्क गर्दै उनले भने, ‘सङ्घीयमा निर्वाचन हुँदा सरकारविहीनको कल्पना गर्न सकिँदैन, त्यसैगरी स्थानीय तह पनि रित्तो हुनु हुँदैन ।’

सरकारले निर्वाचन आयोगलाई उपयोग गरी आचारसंहिता र मतपत्रमा अमिल्दा कुरा सारेको आरोप लगाउँदै उनले संवैधानिक निकाय राजनीतिकको पक्षधरतामा नपरोस् भन्ने एमालेको धारणा रहेकाे बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर