राजमार्ग नजिकका पहाडी डाँडा लगानीको गन्तव्य बन्दै (तस्बिरसहित) – Nepal Press

राजमार्ग नजिकका पहाडी डाँडा लगानीको गन्तव्य बन्दै (तस्बिरसहित)

रुपन्देही । पहाडी र मध्यपहाडी क्षेत्रहरुमा केही वर्षयताबाट तराई वा अन्य सहरी क्षेत्रमा बसाई सर्ने जारी छ । तर पछिल्लो समय बसाईसराईसँगै ती क्षेत्रहरुमा नयाँ ढंगले बस्तीविकास हुन थालेका छन् ।

आधुनिक कृषिखेतीमा लगानी बढ्न थालेको छ भने, राजमार्ग नजिकका यस्ता क्षेत्रहरुमा अहिले लगानीकर्ताको आकर्षण बन्न थालेको छ ।

यस्तै आकर्षणको केन्द्रमा परेको क्षेत्र हो पाल्पाको तिनाउ गाउँपालिका १ स्थित झिंगामारा । पूर्वपश्चिम राजमार्ग अन्तरगत सैनामैना नगरपालिकाको रानीबगिया चोकबाट करिब ९ किलोमिटरको दुरीमा रहेको पाल्पाको तिनाउ गाउँपालिका वडा नं १ झिँगामारा अहिले पर्यटकहरुको गन्तव्य बन्न थालेको छ ।

केही वर्षयता पश्चिम पाल्पाको झिँगामाराका स्थानीयहरु बसाई सर्दै तराईतिर झरेपछि खेतीयोग्य जमिन पनि बञ्जर बन्दै जान थालेको थियो । राजमार्ग नजिक रहेको क्षेत्रमा सम्भावनाको खोजी गर्दै तराईमा बस्दै आएका २ जना लगानीकर्ताहरु उही झिँगामारालाई आधुनिक पर्यटकीय स्थल बनाउन कस्सिएर फर्किएका छन् ।

तराईमा व्यापार व्यवसाय गर्दै आएका मोतीराम गौतम र मोतीराम न्यौपानेले भिरालो र बञ्जर जमिनको उपयोग गर्दै झिँगामारा फर्किएर पानस वाइल्ड लाइफ एग्रो प्रालि एण्ड रिसोर्ट सेन्टर सञ्चालनमा ल्याएपछि यहाँको पुरानो अवस्था नै फेरिने भएको छ । बुटवलबाट १० किमी दक्षिणमा पर्ने पूर्वपश्चिम राजमार्गको रानीबगियास्थित सैनिक क्याम्पचोकबाट ९ किलोमिटर उत्तरी पहाडमा यो स्थल रहेको छ ।

पानीको अभावले गर्दा खेतीपाती राम्रोसँग नहुने, उपयोगमा नआएको ८० रोपनी जग्गा किनेर यी दुई युवाले कालिज पालनसँगै कुखुरापालन, बाख्रापालन गर्दै अहिले रिसोर्ट सञ्चालन गरेपछि यहाँको अवस्था फेरिएको हो । तीन वर्ष अघि लगानी सम्भावनाको खोजी गर्दै मोतीराम बन्धुको जोडीले यो स्थानलाई रोजेका हुन् ।

यस स्थानलाई कालिजपालनसँगै पर्यटनसँग जोड्ने उनीहरुको लक्ष्य छ । तराईमा गर्मी बढ्दा यस स्थानमा अनुकुल हावापानी हुने गर्दछ । यहाँबाट रुपन्देहीको सैनामैना र बुटवल नजिकै पर्दछ । बुटवलबाट छोटो दुरीमा रहेको चुरे पहाडमा अवस्थित यस ठाउँबाट मौसम सफा रहेको समयमा दक्षिणतर्फ विश्व शान्तिको केन्द्र लुम्बिनीसम्मको दृश्य देख्न सकिने तथा उत्तरतर्फ अग्ला पहाडी महाभारत अवलोकन गर्न पाइने भएकाले यहाँ एकपटक आउनैपर्ने बताउँछन् सञ्चालक मोतीराम न्यौपाने ।

कालिजपालन सुरु भएपछि यसको अवलोकन गर्न तराईबाट मानिसहरु आउन थालेपछि कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यले रिसोर्ट पनि सञ्चालनमा ल्याएको न्यौपानेले बताए । फार्म सञ्चालन गरेपछि ७ जना स्थानीयले रोजगारीसमेत पाएको न्यौपानेले बताए । अझैं यो फार्मलाई विस्तार गर्दै पशुपालनतर्फ जग्गालाई सदुपयोग गर्ने लक्ष्य रहेको उनले बताए ।

कृषि क्षेत्रमा १० वर्षदेखि काम गर्दै आएका संचालक मोतीराम गौतम कृषिलाई व्यवसायीकरण गर्ने उद्देश्यले आफ्नो उत्पादन आफैले खपत गरी आर्थिक समृद्धिमा लाग्ने सोंचका साथ यस्तो योजना सञ्चालनमा ल्याएको बताउँछन् ।

‘अहिले ५ रोपनी जग्गामा कालिजपालन सुरु गरेका छाैं । सुरुमा पोखराबाट कालिजका चल्ला ल्याएर कालिजपालन सुरु गरेका हौं, अहिले हामीले यही नै चल्ला उत्पादन सुरु गरेका छौं,’ गौतम भन्छन्, ‘अहिले ह्याचरी मेशिन ल्याएर कालिजको चल्ला पनि बिक्री गर्दै आएका छौं । जग्गा प्रशस्त छ, कालिजको संख्या बढ्दै जाँदा फार्म बढाउँदै जाने सोंचमा छौं ।’

अर्का संचालक मोतीराम न्यौपानेले अहिले रानीबगियाबाट नियमित गाडी चल्ने भएकाले जानआउन सजिलो भएको बताए ।

भिरालो जमिनमा तारबारसँगै कालिज बस्ने स्थानमा जालीले छोपिएको छ । हावापानीले पनि कालिजपालनको लागि यस स्थान उपयुक्त रहेकाले व्यवसायमा राम्रो फाइदा हुने गरेको संचालक गौतमले बताए । एउटा कालिज २५ सयदेखि ३ हजारसम्ममा बिक्री हुने गरेको छ ।

२ वर्षदेखि मोतीराम बन्धुले करिब २ करोड ५० लाख रुपैयाँको लगानीमा कालिजपालन सुरु गरेका हुन् ।

‘कालिज फार्मसँगै अहिले रिसोर्ट पनि सञ्चालनमा ल्याएका छौं’, न्यौपाने भन्छन्, ‘यहाँ अवलोकन गर्नको लागि तराईबाट मानिसहरु आउने गरेका छन् । बस्न, खाना र यहाँको दृश्य अवलोकन गर्नको लागि रिसोर्ट सञ्चालनमा ल्याएको हौं । फार्मको माथिल्लो भागमा रिसोर्ट सञ्चालन गरेका छौं भने तलपट्टीको जग्गामा कालिजसँगै, लोकल कुखुरा र बाख्रा पनि पालेका छौं ।’

उनीहरुले फार्मसँगै ७ बेडका फरक–फरक रुमसहित ५० जना क्षमताको मिनिहल, रेष्टुरेण्ट तथा बारसहितको रिसोर्ट सञ्चालनमा ल्याएका छन् । दुई जनाको लगानी रहेको रिसोर्टलाई पर्यटक तथा ग्राहकको माग र आवश्यकताअनुसार थप सुविधा सम्पन्न र स्तरोन्नति गरेर लैजाने उनीहरुले योजना बनाएका छन् ।

कच्ची सडकका कारण पर्यटकलाई रिसोर्टसम्म पुग्न भने केही कठिन छ । राजमार्गबाट छोटो दुरी भएपनि हिउँदमा खासै समस्या नभएता पनि वर्षायाममा समस्या हुन्छ । सडक सुधार हुनसक्यो भने लुम्बिनी प्रदेशको आर्थिक राजधानी बुटवलबाट नजिकै भएका कारण झिँगामारा ग्रीष्मकालीन गन्तव्य बन्नसक्छ । लगानीकर्ताले यही अपेक्षाका साथ लगानी गरेका छन् ।

सामुदायिक बन समन्वय समिति तिनाउ पाल्पाका वरिष्ठ उपाध्यक्ष डिबी गुरुंगले पहाडी क्षेत्रमा यस्ता योजनाले स्थानीयलाई रोजगारी दिने, पर्यटन प्रवद्र्धनमा सहयोग पुराउने र स्थानीय विकासमा सहयोगीको भूमिकाले गाउँको विकासमा परिवर्तन आउने बताउँछन् ।

तराई देखिने पहाड देखिने, हिमाल देखिने यस्ता रमणीय स्थलहरु स्थानीय तथा बाह्य पर्यटकको आकर्षण बन्नसक्ने भएकाले तीनै तहका सरकारले यसमा ध्यान दिननसके दीर्घकालीन पर्यटन प्रवद्र्धन हुनसक्ने उनको भनाइ छ ।

पर्यटन व्यवसायीले गरेको करोडौंका लगानीस्थलमा बाटो, बिजुली, पानी भएन भने उनीहरु निरुत्साहित हुने भएकाले यस्ता स्थानमा योजना बनाएर काम गर्नुपर्ने, स्थानीय सरकारले नियमित जानेआउने गाडीको व्यवस्थापन गर्नसके धेरै राम्रो हुने उनले बताए ।

कृषि र पर्यटन क्षेत्रको विकासका लागि स्थानीय सरकारले धेरै लगानी गरेको तिनाउ गाउँपालिकाले जनाएको छ । पालिका अध्यक्ष ओमबहादुर घर्तीले लगानीकर्तालाई प्रोत्साहन गर्नेगरी नै यस्ता कार्यक्रमलाई ध्यान दिइएको भएपनि बजेट अभावका कारण अपेक्षा गरिएजस्तो प्रतिफल देख्न नसकिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर