धुवाँले निस्सासिएर एकै परिवारका ५ जनाको मृत्यु, २ दिनअघि प्रसुति गृहबाट फर्किएकी थिइन् सुत्केरी – Nepal Press

धुवाँले निस्सासिएर एकै परिवारका ५ जनाको मृत्यु, २ दिनअघि प्रसुति गृहबाट फर्किएकी थिइन् सुत्केरी

काठमाडौं । ललितपुरको कोन्जोसोम गाउँपालिका-४ नल्लुमा एकै परिवारका ५ जनाको मृत्युको कारण ‘कार्बन पोइनजिङ’ रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेका छ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता सिद्धिविक्रम शाहले चिकित्सकले कार्बन पोइजनिङका कारण घटना भएको हुन सक्ने बताएको जानकारी दिए । ‘कोठाभित्र कार्बन डाइअक्साइड बढी भएर निस्सास्सिएर मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएका छन्’, एसपी शाहले भने ।

आइतबार बिहान घरको बन्द कोठाभित्र ४ जना मृत भेटिएका थिए । ३ दिनको शिशुको उपचारका क्रममा मृत्यु भएको हो। २३ वर्षीय सुयास स्याङ्तानको उपचार भइरहेको छ । सुयासकी आमा ५५ वर्षीया काइली स्याङ्तान, श्रीमती २२ वर्षीया सुश्मा स्याङतान तथा माइलो दाइका छोराछोरी ९ वर्षीय आशिष स्याङतान र ५ वर्षीय आश्मा स्याङतानको मृत्यु भएको हो ।

काइलीका तीन जना छोरामध्ये जेठा छोरा नजिकै बस्छन् भने माइला छोरा-बुहारी विदेशमा छन्। सुयाश कान्छा छोरा हुन् । आइतबार बिहान ८ बजेसम्म पनि ढोका नखुलेपछि प्रहरीलाई खबर गरिएको थियो ।

आइतबार साँझ खाना खाएर सुतेका उनीहरू सोमबार बिहान मृत भेटिएका हुन् । सुश्मा तीन दिनको सुत्केरी हुन् । दुई दिनअघि मात्र प्रसूति गृहबाट उनलाई घर लगिएको थियो ।

सुत्केरी र बच्चालाई न्यानो बनाउन बालिएको कोइलाले ज्यान लिएको हुन सक्ने निष्कर्ष निकालिएको छ । घाइते सुयासको अवस्था पनि गम्भीर रहेको एसपी शाहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर