प्रहरीले दराजमा डेढ करोड भेटेपछि… – Nepal Press

प्रहरीले दराजमा डेढ करोड भेटेपछि…

काठमाडौं । कालिमाटीमा रहेको जिवन दृष्टी सहकारीका कर्मचारी विक्की खड्गी आइतबार एक बचतकर्तालाई ५० लाख रूपैयाँ पुर्‍याएर घरको गेटैमा झरेका थिए, प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

सोधपुछका क्रममा उनले सहकारीका बचतकर्ता अमित अग्रवालले साट्न दिएको ५० लाख रूपैयाँको चेकको पैसा बुझाएर आएको बताए ।
खड्गीलाई लिएर प्रहरी घरमा रहेको अग्रवालको फ्ल्याटमा चढ्यो । प्रहरीले पैसा खोज्न थाल्यो । दराज खोलेर हेर्दा त्यहाँ पैसाको थुप्रो देखियो । गन्दै जाँदा एक करोड ५० लाख रूपैयाँ थियो ।

घटना हो काठमाडौं महानगरपालिका-१३ ताहाचलको । अग्रवाल र खड्गी अहिले प्रहरी हिरासतमा छन् । उनीहरु दुवैलाई राजश्व अनुसन्धान विभाग बुझाउने तयारी महाशाखाको छ । भारतको सिलगुढी घर भएका ३२ वर्षीय अग्रवाल आमा, श्रीमती र छोरीसहित उक्त फ्ल्याटमा बस्दै आएका थिए ।

मखनटोलमा उनको नक्कली सुनका गरगहनाको पसल छ । घरमा एक करोड रूपैयाँ हुँदाहुँदै अग्रवालले के प्रयोजनका लागि सहकारीबाट ५० लाख रूपैयाँ मगाएका थिए भन्नेतर्फ आशंका गर्दै प्रहरीले उनी हुण्डी कारोबारी हुन सक्ने अनुमान गरेको छ । घरमा रहेको एक करोड रूपैयाँ कहाँबाट प्राप्त भएको थियो भन्नेमा प्रहरीले यकिन गर्न सकेको छैन ।

हाल राष्ट्र बैंकको नियमअनुसार १० लाख रूपैयाँभन्दा बढीको कारोबार चेकमार्फत गर्नुपर्ने व्यवस्था छ । यस्तै एकैपटकमा ७ लाख रूपैयाँभन्दा बढीको कारोबार गरे बैंक तथा वित्तिय संस्थाले राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने भनिएको छ । आईएमई गर्दा पनि एक दिनमा देशभित्र २५ हजार रूपैयाँभन्दा बढी गर्न नपाइने व्यवस्था भर्खरैबाट लागू भएको छ ।

हुन्डी, क्रिप्टोकरेन्सीमार्फत समानान्तर बैंकिङ कारोबार बढेको पाइएपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । तर, नगदमै लाखौँ रूपैयाँ कारोबार गर्ने क्रम घटेको छैन । केही साताअघि बालाजुबाट एक युवक ७० लाख रूपैयाँसहित पक्राउ परेका थिए ।

अग्रवालले आफूलाई निर्दोष देखाउन बरामद भएको रकमको वैध स्रोत खुलाउन सक्नुपर्ने छ । सहकारीले बचतकर्ताको घरमै पैसा पुर्‍याएकोमा पनि प्रहरीले जीवन दृष्टीको भूमिकालाई पनि शंकामा राखेको छ ।

महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरेर थप कारबाही अगाडि बढाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर