स्थानीय चुनावमा सबै शक्ति लगाउने राप्रपाको निर्णय, राजसंस्था र हिन्दू राष्ट्रमा सम्झौता नहुने अडान – Nepal Press

स्थानीय चुनावमा सबै शक्ति लगाउने राप्रपाको निर्णय, राजसंस्था र हिन्दू राष्ट्रमा सम्झौता नहुने अडान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने भएको छ । आउँदो फागुन मसान्तभित्र स्थानीय चुनावका लागि उम्मेदवार छनोट गर्ने निर्णयसमेत पार्टीले लिएको छ ।

आज बसेको पदाधिकारी बैठकले सो निर्णय लिएको हो । बैठकमा महामन्त्री तथा स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले निर्वाचन विशेष कार्ययोजना प्रस्तुत गरेका थिए । जसअनुसार राप्रपाले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने तथा फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने भएको छ ।

बैठकले समान विचार भएकाहरूसँग एकता तथा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षासमेत गरेको थियो । जारी वार्तालाई निरन्तरता दिँदै थप समूह, व्यक्ति वा दलसँग एकता र सहकार्यका लागि बैठकले आह्वान गरेको छ ।

राप्रपाले राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी तथा सुदृढ स्थानीय तहलगायतका सैद्धान्तिक अवधारणामा पार्टी अविचलित रहेको जनाएको छ ।

‘यसमा जुनसुकै अवस्थामा समेत कसैसँग सम्झौता हुन सक्दैन भन्ने राप्रपाको प्रष्ट धारणा रहेको छ । यस सम्बन्धमा भ्रममा नपर्न राप्रपा सबैमा अनुरोध गर्दछ,’ वैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पार्टीलाई अनुशाशित बनाउन र पार्टी हितविरुद्धका कामलाई निरुत्साहित गर्न नवराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय अनुशासन समिति गठन गरिएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको वैठक फागुन ११ मा बस्ने भएको छ ।

पूर्वअध्यक्ष कमल थापाले राप्रपा छोडेपछि पहिलोपटक पदाधिकारी बैठक बसेको हो । बैठकमा पूर्वअध्यक्षद्वय पशुपतिशमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीका साथै सबै पदाधिकारी उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर