नेपाललाई विश्वकपमा पुर्‍याउने भेषावकरको त्यो फिनिसिङ, यो आत्मविश्वास – Nepal Press

नेपाललाई विश्वकपमा पुर्‍याउने भेषावकरको त्यो फिनिसिङ, यो आत्मविश्वास

नेपाललाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो र प्रतिद्वन्द्वी थियो हङकङ । क्रिजमा थिए शरद भेषावकर र प्रदीप ऐरी । ३ बलमा एक रन बनाएर खेल्दै थिए शरद । नेपाली ब्याटिङ सधैं झैं धर्मर-धर्मर थियो ।

त्यो समय शरदका लागि मात्र नभएर नेपाली क्रिकेटका लागि पनि विशेष थियो । नेपालले १३ रन जोड्न सकेको अवस्थामा आईसीसी ट्वान्टी-२० विश्वकपमा ऐतिहासिक सहभागीता निश्चित थियाे । १८ वर्ष लामो आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट सहभागितामा नेपाल त्यसअघि कहिल्यै  विश्वकपमा छनोट हुन सकेको थिएन ।

सबैको नजरमा थिए अनुभवी शरद । नेपाली टोली पेभेलियनमा त्राशदीपूर्ण  अवस्थामै  देखिन्थ्यो । शरदले अन्तिम ओभरको पहिलो बलमै हसिब अमजादलाई छक्का प्रहार गरे । उनको छक्कासँगै नेपाली खेलाडी मात्र होइन विश्वभर टेलिभिजनमा खेल हेरिरहेका नेपाली क्रिकेट समर्थकहरुमा खुसी लहर छायो । तर, त्यतिमात्रै पर्याप्त थिएन । नेपाललाई थप पाँच बलमा ७ रन आवश्यक थियो ।

शरद सिंगल-डबलतिर लागेनन् । दोस्रो बलमा पनि कडा प्रहार गरे । बलले बाउन्ड्रीको दिशा लियो र भयो चौका । अब चार बलमा ३ रनको सहज समीकरणमा पुग्यो नेपाल । तेस्रो बलमा शरदले एक रन लिएर प्रदीपलाई स्ट्राइक दिए । नेपाललाई तीन बलमा २ रन चाहियो प्रदीपले चौथो बलमा रन बनाउन सकेनन् । खेलको रोमाञ्चकता बढ्यो । नेपाललाई चाहियो २ बलमा २ रन ।

पाचौं बलमा एक रन लिएर प्रदीपले शरदलाई स्ट्राइक दिए । अब एक बलमा एक रन आवश्यक । स्ट्राइकमा थिए शरद । नेपालले कम्तिमा बराबरी निश्चित गरेको थियो, तर आवश्यक थियो स्पष्ट जितको । शरदले संयमित हुँदै एक रन जोडे र हङकङलाई निराश तुल्याए । नेपाली समर्थकलाई अभूतपूर्व खुशी दिँदै उनले नेपाललाई पहिलोपटक विश्वकपमा पुर्‍याए ।

१ सय ४४ रनको लक्ष्य पूरा गर्न नेपाली टोलीले त्यतिबेला गरेको संघर्ष र शरदको पारी, पक्कै पनि नेपाली क्रिकेटले वर्षौंसम्म प्रशंसा र स्मरण गरिरहने छ । यसबीचमा नेपाली क्रिकेटमा सफलताका अनेकन आयामहरु थपिएका छन् । पहिलोपटक एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाउनेदेखि थुप्रै अन्तर्राष्ट्रिय सफलता नेपाली क्रिकेटले हासिल गरेको छ । तर, फेरि अर्कोपटक ट्वान्टी-२० विश्वकपमा छनोट हुन भने सकेको छैन ।

नेपालले अर्को साता ओमानमा ट्वान्टी-२० विश्वकपकाे ग्लाेवल क्वालिफायर खेल्दै छ । टोलीमा अनुभवी सदस्यका रुपमा शरद पनि छन् । पक्कै पनि उनीबाट धेरै आशा छ । शरद स्वयम् चाहिँ के सोचिरहेका छन् त ?

‘सबै खेलाडीहरु युवा छन्, तर अहिले सबै तयार छन् । पहिला हामी छनोट हुँदाको अवस्थासँग तुलना गर्ने हो भने हामी यत्तिको तयार थिएनौं । त्यत्ति ‘पावर हिटर’ हरु पनि थिएनन् हाम्रो टिममा । तर अहिले अवस्था फेरिएको छ,’

विश्वकपको छनोटका लागि घरेलु मैदानमा तयारी सकेपछि सञ्चारकर्मीसँग बोल्दै उनले अगाडि थपे, ‘पहिला हाम्रो सधैं बलिङ पक्ष राम्रो भनेर कुरा हुन्थ्यो, अहिले चाहिँ अभ्यास गर्दादेखि विभिन्न प्रतियोगितामा हाम्रो ब्याटिङ बलियो रहेको प्रमाणित भइसकेको छ ।’

पछिल्लो समय नेपाली टोली ब्याटिङमा बलियो रहेको उनले टिमबाहिरै बसेर पनि महसुश गरेका छन् । नेपालमा गत अप्रिलमा सम्पन्न नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृंखलामा नेपाली ब्याट्सम्यानहरुले बेजोड प्रदर्शन गरे । लगातार तीन खेलमा २ सयभन्दा बढीको लक्ष्य नेपालले दियो । फाइनलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध २ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपाली टोलीले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यति धेरै रन त्यसअघि बनाएको थिएन । कुशल भुर्तेल र आसिफ शेखको प्रारम्भिक जोडीलाई भत्काउन बलियो नेदरल्यान्ड्सका बलरहरुलाई कम्ता सास्ती भएन ।

‘हामीले खेल्दा टप अर्डरमा नियमित र एकरुपकाे प्रदर्शन थिएन । जुन अहिले सुधारिएकाे छ,’ शरदले खुशी हुँदै भने ।

नेपाली टोलीलाई ट्वान्टी-२० विश्वकपमा छनोट, एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता दिलाएको पुस्ताका धेरै खेलाडी छुटिसकेका छन् । अनुभवी र पुराना खेलाडीका रुपमा ज्ञानेन्द्र मल्ल र शरद भेषावकर मात्र टोलीमा छन् । शरद ज्ञानेन्द्रभन्दा पनि पुराना हुन् ।

नेपाली टिमका मेरुदण्डका रुपमा रहेका पारस खड्का र भेट्रान अलराउन्डर शक्ति गौचनले सन्यास लिइसके । स्टार स्पिनर बसन्त रेग्मी टिममा पर्न छाडेका छन् । अहिले युवा खेलाडीमा बढी निर्भर छ नेपाली टिम ।

‘सबैलाई आफ्नो आफ्नो भूमिका थाहा छ । टोलीमा ज्ञानेन्द्र र मेरो भूमिका भनेको आफ्नो अनुभव युवा खेलाडीहरुलाई सेयर गरेर खेलहरुमा कसरी लागू गराउने र आफूले पनि त्यसमा योगदान गरेर टोलीलाई जितको स्थितिमा पुर्‍याउने हो,’ शरद भन्छन् ।

नेपाली टोलीमा कम अनुभवी खेलाडीको प्रभाव देखिन थालेको छ । कप्तानको जिम्मेवारी युवा खेलाडी सन्दीप लामिछानेलाई दिइएको छ । तर पनि शरदको फिनिसरको छवीबाट नेपाल अपेक्षाविहीन रहन सक्दैन ।

‘म मेरो फिनिसिङ रोललाई लिएर विश्वस्त छु । कस्तो अवस्थामा कसरी खेल्ने भन्ने मलाई थाहा छ । आफ्नो याेजनामा विश्वस्त छु । आउने खेलहरुमा आफ्नो अनुभव अझ राम्ररी लागू गर्न सक्छु भन्ने विश्वास छ’ उनले भने ।

शरद नेपाली टोलीको उत्कृष्टता र नैराश्यता दुवैका साक्षी हुन् । हार्दाको निराशाहरु बिर्सिएका छैनन् । जितियो भनेर ढुक्क भएर एकाएक हार खाएका खेलहरु उनको दिलदिमागमा छन् । त्यसैले सतर्क छन् ।

उनी भन्छन्, ‘हामीले आफ्नो उत्कृष्ठ क्रिकेट खेलेर योजना कार्यान्वयन गर्न सक्यौं भने टीमको प्रदर्शन सबैभन्दा राम्रो निस्किन्छ ।’

फेब्रुअरी १८ बाट ओमानमा सुरु हुने विश्वकप छनोटमा ८ टोली छन् । नेपाल रहेको समूहमा क्यानडा, ओमान र फिलिपिन्स छन् । अर्को समूहमा यूएई, बहराइन, जर्मनी र आयरल्यान्ड छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुवै टोलीले विश्वकपमा स्थान बनाउनेछन् । नेपालको यात्रा चुनौतिपूर्ण छ, तर असम्भव छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *