सिन्धुपाल्चोक एमालेमा ‘गुटको धङधङी’ कायमै, एक महिनासम्म पनि नेतृत्व छनोट हुन सकेन – Nepal Press

सिन्धुपाल्चोक एमालेमा ‘गुटको धङधङी’ कायमै, एक महिनासम्म पनि नेतृत्व छनोट हुन सकेन

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको अधिवेशन सुरु भएको एक महिना पूरा भयो । तर अझै आन्तरिक विवादका कारण नेतृत्व छनोट हुन सकेको छैन । पुस २३ गते बाह्रविसेमा एमाले सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनको उद्घाटन भएको थियो ।

अधिवेशन उद्घाटनलगतै अध्यक्षमण्डलको तर्फबाट एमाले स्थायी कमिटी सदस्यसमेत रहेका शेरबहादुर तामाङले माघ २ गतेभित्र अधिवेशन सम्पन्न गरेर मेलम्चीमा नयाँ नेतृत्व घोषणा गर्ने बताएका थिए ।

अध्यक्षमण्डलको निर्णयअनुसार प्राय सबै स्थानीय तहले आफूले पाएको संख्याअनुसार जिल्ला कमिटी सदस्यहरु सर्वसम्मतरुपमा छनोट गरेपनि पदाधिकारीहरुमा भने अझै सहमति हुन सकेको छैन । सहमति नभए निर्वाचनमार्फत नेतृत्व चयन गर्ने अध्यक्षमण्डका अध्यक्ष तामाङले जानकारी गराएका थिए ।

उद्घाटन भएको एक महिनासम्म नेतृत्वमा सहमति हुन सकेको छैन भने निर्वाचनमा जान पनि केन्द्रीय नेताहरु अनिच्छुक देखिएको अध्यक्षका दाबेदार मध्येका एक केदार क्षेत्रीले जानकारी दिए । ‘हामीले सर्वसम्मत् होस भनेर अध्यक्षमण्डललाई नै सबै अधिकार दिएर उम्मेदवारी फिर्ता लिएका छौं तर अहिलेसम्म नेतृत्व छनोट हुन सकेन ।’ क्षेत्रीले भने ।

अध्यक्षका लागि कमल नेपाल, केदार क्षेत्री, होमनारयण श्रेष्ठ, बालकृष्ण देउजा र डोल्मा तामाङले उम्मेदवारी दर्ता गराएका थिए । तर सर्वसम्मतरुपमा नेतृत्व छनोट गर्ने एमाले नेताहरुले भनेपछि अध्यक्षका सबै उम्मेदवारहरुले उमेदवारी फिर्ता लिएका थिए । एमाले केन्द्रीय कार्यालयमा दिनहुँजसो एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य सरेश नेपाल र अध्यक्षका उम्मेदवारहरुबीच बैठक हुने गरेपनि सहमति नभएको अध्यक्षका अर्का उम्मेदवार कमल नेपालले जानकारी दिए ।

अध्यक्षमण्डलका सदस्य एवम एमाले पोपलटब्युरो सदस्य अरुण नेपाल भने आफूहरुले धेरै प्रयास भएपनि सहमति भइनसकेको बताउँछन् । ‘हामी आज पनि छलफलमा नै बस्छौं, भए सहमति नभए निर्वाचनको माध्यमबाट भएपनि नेतृत्व छनोट गछौं’, नेपालले भने, ‘अहिले पनि चुनावको विकल्प बाँकी नै छ ।’

अध्यक्षका पाँच उम्मेदवारमध्ये डोल्मा तामाङले अध्यक्षमण्डलले गर्ने निर्णय स्वीकार गरेर जाने बताएकी छन् भने केदार क्षेत्रीले सर्वसम्मत हुने हो भने आफ्नो समर्थन कमल नेपाललाई भएको बताएका छन् । त्यस्तै अर्का उम्मेदवार होमनारयण श्रेष्ठले आफ्नो समर्थन बालकृष्ण देउजालाई रहेको बताएको अध्यक्षमण्डलका एक सदस्यले जानकारी दिए ।

‘अध्यक्षका पाँच उम्मेदवारबाट अब कमल नेपाल र बालकृष्ण देउजा मात्रै हुनुहुन्छ, छलफलको घेरा साँघुरिएको छ, बेलुकीसम्म सहमति हुन्छ होला’, एमाले पोलिटब्युरो सदस्य अरुण नेपालले भने ।

अध्यक्षमण्डका तीन सदस्य र अध्यक्षका उम्मेदवारहरुबीचमा मात्रै छलफल भए पनि वागमती प्रदेश कमिटीका सदस्य रहेका युवा संघका नेता अशोक चौलागाईलाई समेत बैठकमा राखेपछि भने अध्यक्षका अन्य उम्मेदवार र अध्यक्षमण्डलका अन्य सदस्यहरुले समेत आपत्ति जनाएका थिए । ‘उहाँको सम्बन्ध माथिसम्म होला तर यहाँ सीमित नेताहरु बीचमा भएको छलफलमा उहाँलाई कसरी ल्याइयो ?’ अध्यक्षका दाबेदार केदार क्षेत्रीले भने ।

नेता चौलागाई भने आफू ‘बालकोट’को प्रतिनिधि भन्दै बैठकमा सहभागी भएको बताएका छन् । अध्यक्षमा सहमति नजिकै पुगेको जस्तो भएपनि उपाध्यक्ष, सचिव र दुई उपसचिवमा नेताहरुबीच सहमति हुन सकेको छैन ।

एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र चौलागाईले अध्यक्षमा १० बुँदे पक्षधरबाट कमल नेपाल हुने हो भने उपाध्यक्ष, सचिव र उपसचिवमा आफूहरुको पक्षबाट आउनुपर्ने अडान बैठकमा राखेका छन् ।

अध्यक्षका उम्मेदवार कमल नेपाललाई टेलिफोन गरेर चौलागाईले ‘बालकोटले जसरी पनि बालकृष्ण देउजालाई अध्यक्ष बनाउनु भनेर हामी निर्देशन छ, तर हामीले भुगोलको पनि अवस्था हेरेर लचिलो भएका छौं, अन्य तीनजनाको सवलामा तपाईंहरु सकारत्मक हुनहोस्’ भनेर भनेका छन् ।

तर अध्यक्षका उमेदवार नेपालले भने त्यसलाई अस्वीकार गरेका छन् । ‘पदाधिकारी छनोट गर्दा भौगोलिक, जातीयलगायतलाई पनि हेर्नुपर्छ, बालकोटको ‘इन्ट्रेस्ट पनि त्यहीं हो भने तपाईंहरुलाई जे मन लाग्छ त्यहीं गर्नुहोस्’ भनेर आफूहरु बैठकबाट बाहिरिएको नेपालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर