स्वास्थ्यमन्त्रालयले भन्यो : ओमिक्रोनको संक्रमण घट्न थाल्यो (भिडिओ) – Nepal Press

स्वास्थ्यमन्त्रालयले भन्यो : ओमिक्रोनको संक्रमण घट्न थाल्यो (भिडिओ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणदर घट्दै गएको बताएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोनाभाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमणदर घट्दो अवस्था रहेको जानकारी दिइन् ।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले पहिले एक जना मान्छेमा भएको भाइरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पारिन् । प्रवक्ता मिश्रले छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरुमा पनि ओमिक्रोनको संक्रमणदर घटीरहेको र त्यसको प्रभाव नेपाल परेको तथ्य पनि स्मरण गराए ।

उनले स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमणदर घटेकाले यसको पालना गर्न पनि सबै नागरिकलाई सचेत गराएकी छन् । प्रवक्ता मिश्रले भनिन्, ‘ भाइरसले संक्रमण गर्ने दर जुन पहिले थियो, जस्तो एउटा भाइरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गर्थ्यो भने त्यो दर चाँही अब विस्तारै घटिराखेको छ ।  हामीले संक्रमणदर इन्डिया र चाईनासँग सधैं जोडेर हेरेका छौ अनि इन्डियामा पनि आन्ध्र प्रदेशबाहेक सबै राज्यको संक्रमणदर विस्तारै घटिराखेको छ । सोही अनुसार हाम्रो पनि संक्रमणदर घटिराखेको छ । तथापि सतर्कता अनिवार्य छ । स्वास्थ्य मापदण्ड अपनाउने, भिडभाँडमा नजाने र खोप लगाउने काम गर्नु पर्‍याे । हाम्रो प्रक्षेपण चाँही के छ भने यसको दर घट्दो अवस्थामा छ ।’

यस्तै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अभाव नभएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मिश्रले नागरिकलाई कोरोनाभाइरसविरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताइन् । 

उनले भनिन्, ‘हामीसँग खोपको कुनै कमी छैन । विभिन्न प्रकारका खोप पाईपलाईन छ । र यदि कुनै खोप छैन भने त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा स्वास्थ्य मन्त्रालय एकदमै सिरियसली लागि राखेको छ । दोस्रो कुरा, स्वास्थ्य मन्त्रालयले संघीय मन्त्रालय भएको हुनाले श्वास्थ्य मन्त्रालयले खोपको व्यवस्थापन गर्ने हो र खोप जिल्लाजिल्लामा उपलब्ध गराई दिनुपर्ने हुन्छ । त्यो हिसावले समयमै खोप उपलब्ध गराउनका लागि कतिपय ठाउँमा त भण्डारण केन्द्रको स्थापना पनि भईसकेको छ । कुनै पनि व्यक्ति खोप लगाउनबाट नछुटून भनेर खोप लगाउनका लागि नागरिकतालगायतको डकुमेन्ट अनिवार्य पनि गराइएको छैन । तर त्यसका लागि स्थानीय वडाध्यक्षले भने भनिदिनुपर्ने हुन्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटकपटक अपिल गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर