आज र भोली थप २३ लाख ४० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्दै – Nepal Press

आज र भोली थप २३ लाख ४० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्दै

काठमाडौँ । नेपालले आज र भोलि कोभिडविरुद्ध थप २३ लाख ४० हजार डोज मोडर्ना खोप प्राप्त गर्ने भएको छ । विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा नेपालले कोभ्याक्स संयन्त्रमार्फत खरिद गरेको ४० लाख डोजमध्ये पछिल्लो खेपको रुपमा सोमबार र मंगलबार गरी २३ लाख ४० हजार डोज खोप प्राप्त गर्न लागेको हो ।

४० लाख डोजमध्ये १६ लाख ६० हजार डोज गत १० माघमै नेपाल आइसकेको छ । बाँकी खोप ११ माघमा आउने बताइएपनि तालिका पछि सरेको थियो ।

‘अहिलेसम्मको तालिका अनुसार आज बेलुका र भोली विहान गरेर २३ लाख ४० हजार डोज मोडर्ना खोप आउँदै छ । यो खोप गत ११ माघमै आउने भनिएको थियो तर अन्तिम अवस्थामा केही पछि सरयो,’ स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जनाए ।

प्राप्त हुने मोडर्ना खोपलाई १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने सरकारले जनाएको छ ।

यसअघि ल्याइएका मोडर्ना खोप १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई दिइएको थियो । यो खोप पनि सोही उमेर समूहका खोप लगाउन बाँकी बालबालिकालाई दिईने स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ ।

फाइजर खोप पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो । तर अब उक्त खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना सरकारको छ ।

‘फाइजर हामी ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिने योजना बनाएका छौँ । त्यसैले अब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना नै दिने नीति हो,’ स्वास्थ्य सचिव डा रोशन पोखरेलले भने । नेपालमा कोभिडविरुद्ध भेरोसेल, कोभिसिल्ड, अस्टाजेनेका, जोन्सन, फाइजर, मोडर्ना लगायतका खोपहरु लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर