सार्क सम्मेलनमा भाग लिन पाकिस्तानको आग्रह भारतद्वारा अस्वीकार – Nepal Press

सार्क सम्मेलनमा भाग लिन पाकिस्तानको आग्रह भारतद्वारा अस्वीकार

यथास्थितीमा भाग लिन सक्दैनौं : भारत

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औं शिखर सम्मेलनमा भाग लिन पाकिस्तानले गरेको आग्रहलाई भारतले अस्वीकार गरेको छ ।

बिहीवार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले सार्क सम्मेलनलाई लिएर कुनै सहमती नभएकाले भारतले यथास्थितीमा भाग नलिने बताए ।

‘हामीले पाकिस्तानी विदेशमन्त्रीको भनाईलाई लिएर मिडियामा आएका रिपोर्टिङलाई हेरेका छौं । सबैलाई थाहा छ विगतमा यस्तो निर्णय किन लिइएको भनेर । त्यसयता कुनै ठोस परिवर्तन भएको छैन । यसकारण, पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग लिनेबारे कुनै सहमती पनि भएको छैन’ उनले भने ।

पुस १९ गते पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले सार्क सम्मेलन आयोजनामा अवरोध खडा नगर्न भारतलाई आग्रह गर्दै सदस्य मुलुकहरुलाई निम्तो दिएका थिए । साथै, भौतिकरुपमा सहभागी नहुने हो भने भारतले भर्चुअलरुपमा पनि भाग लिन सक्ने बताएका थिए ।

पाकिस्तानी विदेशमन्त्रीले भने : भारत नआए पनि सार्क सम्मेलन गरौं, सबैलाई निम्तो

साथै उनले भारतले सार्क आयोजनामा कृत्रिम अवरोध सिर्जना गरेको बताएका थिए । सन् २०१६ सेप्टेम्बर १८ मा जम्मु कस्मिरको उरीमा भारतीय सैनिकको क्याम्पमा आतंकवादी आक्रमण भएपछि भारतले पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग नलिने निर्णय गरेको थियो ।

उक्त आक्रमण पछाडि पाकिस्तानको हात हुनसक्ने आरोप भारतले लगाउँदै आएको छ । आतंकवादलाई साथ दिने काम बन्द नगरेसम्म पाकिस्तानसँग सहकार्य गर्न नसकिने भारतीय अडान छ । जसको कारण भारतले सार्क सम्मेलनमा भाग नलिने बताउँदै आएको छ ।

सन् २०१६ को नोभेम्बर १५ देखि १९ सम्म सार्क सम्मेलन इस्लामाबादमा गर्ने भनिएको थियो । तर, भारत र पाकिस्तानबीचको तनावले गर्दा सार्क नै निष्क्रिय बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर