पाकिस्तानी विदेशमन्त्रीले भने : भारत नआए पनि सार्क सम्मेलन गरौं, सबैलाई निम्तो – Nepal Press

पाकिस्तानी विदेशमन्त्रीले भने : भारत नआए पनि सार्क सम्मेलन गरौं, सबैलाई निम्तो

इस्लामाबाद । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औं सम्मेलन आयोजना गर्न आफू तयार रहेको बताउँदै अवरोध नगर्न भारतलाई आग्रह गरेको छ ।

सोमबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले भारतको नामै लिएर हिन्दूस्तानले सार्कलाई निष्क्रिय तुल्याएको टिप्पणी गरे ।

विदेशमन्त्री कुरेसीले भने, ‘आगामी सार्क सम्मेलन इस्लामाबादमा गर्न पाकिस्तान आतुर छ । यदि भारत आउन चाहँदैन भने भर्चुअल्ली सहभागी हुनसक्छ । तर, बाँकी मुलुकलाई रोक्नु भएन । बाँकी सदस्यलाई आउन दिनुपर्‍यो ।’

आफ्नो जिद्दिपन र हठ्धर्मिताले भारतले सार्कलाई निष्क्रिय तुल्याएको आरोप लगाउँदै पाकिस्तानी विदेशमन्त्रीले अन्य मुलुकलाई नभड्काउन आग्रह गरे । यसैमहिना सार्क महासचिवसँगको भेटमा कुरेसीले भारतको नाम नलिइकनै सार्क आयोजनामा कृत्रिम अवरोध हटाउनुपर्ने धारणा राखेका थिए ।

पत्रकार सम्मेलनमार्फत नै विदेशमन्त्री कुरेसीले सार्क सदस्य मुलुकलाई निम्तो समेत दिए ।

यसअघि सन् २०१६ को नोभेम्बर १५ देखि १९ मा सार्क सम्मेलन इस्लामाबादमा गर्ने भनिएको थियो तर सेप्टेम्बर १८ मा जम्मु कस्मिरको उरीस्थित भारतीय सैनिकको क्याम्पमा आतंकवादी आक्रमण भएपछि त्यस पछाडि पाकिस्तानको हात रहेको भन्दै भारतले सार्कमा भाग नलिने निर्णय गरेको थियो ।

कुरेसीले पत्रकार सम्मेलनमा के भने :

सार्कबारे म यतिमात्र भन्न चाहन्छु : सार्क एउटा महत्वपूर्ण मञ्च हो । तर, भारतले यस फोरमलाई आफ्नो जिद्दिपनमार्फत निष्क्रिय तुल्याएको छ । भारत इस्लामाबाद आउन चाहँदैन । हिच्किचाहट छ उसलाई ।

पाकिस्तानले यो कुरा पटक-पटक भनेको छ । हालै सार्क महासचिवसँग इस्लामाबादमा मैले भेटेँ । भेटमा मैले उनलाई हाम्रो नजरमा सार्क महत्वपूर्ण मञ्च भएको बताएँ क्षेत्रीय सहकार्यको लागि, क्षेत्रीय आर्थिक गतिविधिको लागि, क्षेत्रीय व्यापारको लागि ।

भारतको हठधर्मिताले सार्क मञ्चलाई कठिनाइ भएको छ । म हिन्दुस्तानसहित सबै सार्क सदस्य मुलुकलाई पुनः निम्तो दिन चाहन्छु । अर्को १९ तारिखमा सार्क सम्मेलन इस्लामाबादमा गर्न पाकिस्तान आतुर छ । यदि भारत आउन चाहँदैन भने भर्चुअल्ली सहभागी हुनसक्छ ।

भौतिकरुपमा आउन भर्चुअलरुपमा भारतले सहभागिता जनाउन सक्छ । तर, बाँकी मुलुकलाई रोक्नु भएन । बाँकी सदस्यलाई आउन दिनुप¥यो । यो फोरमलाई बेइमानीपूर्वक नरोक्न आग्रह गर्छु । सार्क अन्तर्गत रहेको कोभिड आपतकालिन कोषलाई अगाडि बढाउन मैले प्रयास गरेको छु । हामीले श्रीलंका, नेपाल, बंगलादेश र माल्दिभ्सलाई स्वास्थ्य उपकरण र सहायता पनि दिएका छौं ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर