राष्ट्रियसभाका लागि कर्णालीबाट एमालेका ३ उम्मेदवार तय, यस्तो छ मतभार – Nepal Press

राष्ट्रियसभाका लागि कर्णालीबाट एमालेका ३ उम्मेदवार तय, यस्तो छ मतभार

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । कर्णाली प्रदेश इन्चार्ज एवम् एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलका अनुसार ९ जनाको सिफारिस मध्येबाट २ जना र अल्पसंख्यकबाट १ जना गरी ३ जना उम्मेदवार तय गरिएकाे हाे ।

उनका अनुसार महिलाबाट जुम्लाकी गंगा महत तथा अन्य समूदायबाट सुर्खेतका चुडामणि शर्मा उम्मेदवार बनेका छन् । सिफरिसमा नपरेका तर अल्पसंख्यक माझी समूदायबाट दैलेख आठबीस नगरपालिका–४ का पदम माझी उम्मेदवार बनेका छन् ।

‘अब एमाले राष्ट्रियसभाको चुनावमा पूर्णरुपमा होमिएको छ,’ इन्चार्ज कँडेलले नृपाल प्रेससँग भने ।

रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (हाल समाजवादी), हुम्लाका कविता वोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी)को पदावधी फागुन १८ गते सकिने भएपछि निर्वाचन आयोग र सरकारले माघ १२ गते राष्ट्रियसभाको निर्वाचन निर्धारण गरेका हुन् ।

१२ गतेको चुनावका लागि एमालेले तीन जनाको टुंगो लगाएकाे छ । अन्य दलले भने उम्मेदवार चयन गर्न बाँकी छ ।

कुन दलको कति छ मताभार ?

एमालेले कर्णालीका ७९ स्थानीय तहमध्ये २९ ओटामा मात्रै जित हासिल गरेको थियो । स्थानीय तहको निर्वाचनमा कांग्रेसले २५ र माओवादी २५ स्थानीय तह जितेका थिए ।

४० सदस्य रहेको कर्णाली प्रदेशसभामा एमालेका २० सांसद थिए । पार्टी बिभाजनपछि तीन जना (देवि ओली, चन्द्रबहादुर शाही, पदम रोकाय)ले नेकपा एकीकृत समाजबादी रोजेको र चारजना (प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही)जनालाई फ्लोरक्रस गरेकोमा बर्खास्त गरिएपछि अहिले १३ जनामात्र छ ।

राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुख, उपप्रमुख एवम प्रदेशसभाका सदस्यहरुसँग हुन्छ । पालिकाका प्रमुख उपप्रमुखको मताभार १८ हुन्छ भने प्रदेश सांसदको मताभार ४८ हुने कानूनी व्यवस्था छ ।

एमाले फूटका कारण तीनजना प्रदेशसभा सदस्य देवी ओली, पदम रोकाया र चन्द्रबहादुर शाही समाजवादीमा लागेका छन् । यी तीनजनाको मतभार १४४ हुन्छ । स्थानीय तहका १३ जनाको मताभार (२३४) समेत जोडदा समाजवादीको कुल मताभार ३७८ रहेको छ ।

समाजवादी पार्टी नबनेको अवस्थामा एमालेसँग ५८ पालिकाका पदाधिकारी थिए । त्यो भनेको १ हजार ४४ मत हो । त्यसबाट अब दुर्इ सय ३४ मत घटाउँदा एमालेको ८१० मत हुन्छ । यस्तै, प्रदेश सभामा एमालेका १३ जना छन् । त्यो भनेको ६२४ मत हो । एमालेसँग राष्ट्रिय सभाका लागि चुनाव हुँदा कुल १४३४ मत मात्रै बाँकी छ ।

माओवादी केन्द्रसँग स्थानीय तहमा ५२ पदाधिकारी छन् भने प्रदेशसभामा १२ जना सांसद रहेका छन् । राष्ट्रियसभाको निर्वाचनका लागि माओवादीमा स्थानीय तहबाट ९३६ र सांसदबाट ५७६ मत प्राप्त हुन्छ । यो भनेको १५१२ मत हो । माओवादी केन्द्र यसअघि मतका हिसाबले दोश्रो ठूलो भएपनि एमाले विभाजनपछि भने पहिलो दल बन्न पुगेको छ । एमाले भन्दा माओवादीको ७८ मत बढी छ ।

नेपाली कांग्रेससँग पालिका प्रमुख उपप्रमुखको ७२० मत छ भने ६ सांसदको ४८ का दरले २८८ हुन्छ । दुवै जोडदा कांग्रेससँग राष्ट्रियसभाको लागि १ हजार ८ मत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर