कांग्रेस ५ सहमहामन्त्रीको गणना बाँकी रहदा पदाधिकारीमा दुवै पक्ष बराबर – Nepal Press

कांग्रेस ५ सहमहामन्त्रीको गणना बाँकी रहदा पदाधिकारीमा दुवै पक्ष बराबर

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसहित ८ पदाधिकारी निर्वाचनको मतगणना सकिँदा संस्थापन पक्ष र इतर पक्ष बराबरी संख्यामा निर्वाचित भएका छन् । १३ पदाधिकारीका लागि भएको निर्वाचनमा अब ५ सहमहामन्त्रीको गणना हुन बाँकी छ ।

सभापतिसहित ४ जना पदाधिकारी संस्थापन पक्षबाट जितेका छन् भने उपसभापति र महामन्त्रीसहित ५ पदाधिकारी इतर समूहका छन् । सभापति शेरबहादुर देउवा पक्षबाट उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना तथा भिष्मराज आङ्देम्बेले जितेका छन् ।

इतर समूहबाट डा.शेखर कोइराला समूहका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री जीवन परियारले जितेका छन् भने प्रकाशमान सिंह समूहबाट उठेको महामन्त्री विश्वप्रकाश शर्माले जितेका छन् ।

अब मतगणना हुन बाँकी रहेका सहमहामन्त्रीमध्ये खसआर्य क्लस्टरबाट देउवा पक्षका किशोर सिंह राठौर र कोइराला पक्षका देवराज चालिसे मुख्य प्रतिस्पर्धी रहेका छन् ।

त्यस्तै मधेशी क्लस्टरबाट देउवा पक्षका महेन्द्र यादव र कोइराला पक्षका रामकृण यादवबीच प्रतिस्पर्धा छ भने मुस्लिम क्लस्टरबाट देउवा पक्षका फरफुल्लाह मन्सुर र कोइराला पक्षका शेख वकिलबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै पिछडिएको क्षेत्रबाट देउवा पक्षका जीवनबहादुर शाही र वद्री पाण्डे तथा थारु क्लस्टरबाट देउवा सिटौला समूहका उमाकान्त चौधरी तथा कोइराला पक्षका तेजुलाल चौधरीबीच प्रतिस्पर्धा हुँदैछ ।

थारु र पिछडिएको क्षेत्रको क्लस्टरको बाहेक अन्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा सुरू भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर