शेखरलाई जित्न प्रकाशमान र निधि दुवैको समर्थन आवश्यक, यसरी हुँदैछ सत्ता र शक्तिको सौदाबाजी – Nepal Press
कांग्रेस महाधिवेशन

शेखरलाई जित्न प्रकाशमान र निधि दुवैको समर्थन आवश्यक, यसरी हुँदैछ सत्ता र शक्तिको सौदाबाजी

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा हुन गइरहेको मतदानमा अब उम्मेदवारको संख्या ५ बाट दुईजनामा झरेको छ । शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीचको प्रतिस्पर्धामा अब सबैको ध्यान प्रकाशमान सिंह र विमलेन्द्र निधिमा छ । कल्याण गुरुङको २० मत संगठित र निर्णायक छैन ।

देउवालाई पहिलो चरणमै सभापति जित्न ८२ पुगेन । जबकि शेखर कोइराला देउवाभन्दा ५२९ मतले पछाडि छन् । तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान वा विमलेन्द्र निधिमध्ये कुनै एकजनाले देउवालाई समर्थन गर्नासाथ उनको सहज जित हुनसक्छ ।

तर डा. शेखरले जित्नका लागि भने दुवैजनाको साथ अनिवार्य चाहिन्छ । किनकि प्रकाशमानले ३७१ र निधिले २४९ मत पाएका छन् । एकजनाको मात्र समर्थनले शेखरलाई जित्नका लागि पर्याप्त हुन्न । प्रकाशमान र निधि दुवैजनाले शेखरलाई समर्थन गरेमात्र उनको विजय हुनसक्छ ।

यस हिसाबले दोस्रो चरणमा प्रकाशमान र निधि निर्णायकमात्र बनेका छैनन्, उनीहरुको बार्गेनिङ पावरसमेत बढेको छ । शेरबहादुर देउवाले बालकृष्ण खाँणलाई प्रकाशमान फकाउन चाक्सीबारी पठाइसकेका छन् । निधिले भने दोस्रो चरणमा देउवालाई सहयोग नगर्ने बताइसकेका छन् ।

त्यसैले देउवाको प्रयास प्रकाशमानलाई आफूतिर तान्नमा केन्द्रित छ । प्रकाशमानको समर्थन भएमात्र पनि देउवालाई जित्ने मत पुग्छ । देउवा पहिलो चरणमा ८२ मतले पराजित भएका छन् ।जबकि प्रकाशमानले ३७१ मत पाएका छन् । प्रकाशमानको आधा मत पाए पनि देउवालाई पुग्छ ।

संस्थापनइतर समूहबाट अन्तिममा फुटेर अलग उम्मेदवारी दिएका प्रकाशमानको निर्णयमा सुजाता कोइराला र विश्वप्रकाश शर्माको पनि भूमिका हुन्छ । महामन्त्री उम्मेदवार बन्न नपाएपछि देउवा समूह छाडेका विश्वप्रकाशले प्रकाशमानलाई कसको पक्षमा उभिन प्रेरित गर्छन् ? यो पनि निर्णायक फ्याक्टर छ ।

त्यस्तै कोइराला परिवारबाट फुटेकी सुजाताले दाजु शेखरलाई सघाउलिन् कि देउवालाई ? यो प्रष्ट छैन । तर दोस्रो चरणमा देउवाविरुद्ध एकजुट हुन प्रकाशमान र सुजातामाथि कार्यकर्ताको दबाब बढिसकेको छ । ८२ नपुगेर पहिलो चरणमा जित्न नसकेका देउवाले एक डेढ सय मत किनेर पनि पुर्याउने दावी नेताहरुको छ ।

कांग्रेसको निर्वाचनमा करोडौंको हाराहारीमा पैसा चलायमान भइसकेको अनुमान छ । अब मतदाता छानीछानी सौदाबाजी हुने सम्भावना छ । यो खेलमा दुवै पक्ष लाग्छन् तर देउवालाई केही मतदातामात्र प्रभावित पार्न सहज छ भने कोइरालाका लागि निधि र प्रकाशमानको सहयोग अनिवार्य छ ।

रामचन्द्र पौडेलले आफूले सभापति जितेपछि एक वर्षपछि कार्यवाहक दिने लिखित सहमति गरौंभन्दा समेत नमानेका प्रकाशमानले देउवासँग उधारो सौदा अवश्य गर्दैनन् । अर्कोतिर कांग्रेसमा नेतृत्व परिवर्तनको उपयुक्त क्षण आएको भन्दै प्रकाशमानमाथि देउवालाई समर्थन नगर्न दबाब पनि उत्तिकै छ । जे भए पनि दोस्रो चरणको निर्वाचनअघि प्रकाशमान र निधिमात्र होइन महाधिवेशन प्रतिनिधिहरुको समेत बार्गेनिङ शक्ति बढेको छ । यस्तोमा आज झन् ठूलो रकमको चलखेल र शक्ति तथा सत्ताको सौदाबाजी हुने निश्चित छ ।

सुजाताले मन्त्रीको लागि देउवासँग बार्गेनिङ गर्ने चर्चा पनि कांग्रेस वृत्तमा भइरहेको छ भने प्रकाशमानको बार्गेनिङ पावर झनै बढेको छ । उनले देउवासँग मिल्दा हाताहाती फाइदा पाउने भएमा अन्तिममा संस्थापनइतर समूहलाई धोखा दिने आशंका पनि छ ।

आफू सत्ता र शक्तिमा पुग्न र टिक्न जुनसुकै हदसम्मको सौदाबाजी गर्ने देउवाले प्रकाशमानसँग कस्तो सौदा गर्लान् ? यसका लागि केही घण्टा निर्णायक हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर