विश्वकर्मा र परियारः दलिततर्फका दुई सहमहान्त्रीका दाबेदार, कस्ता छन् एजेण्डा ? – Nepal Press
कांग्रेस महाधिवेशन

विश्वकर्मा र परियारः दलिततर्फका दुई सहमहान्त्रीका दाबेदार, कस्ता छन् एजेण्डा ?

काठमाडौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुक्रबारबाट सुरु भएको छ । महाधिवेशनबाट चुनिने नेतृत्वप्रति धेरेको चासो छ ।

यसपालि कांग्रेसले केन्द्रीय समितिलाई समावेशी बनाउनका लागि सहमहामन्त्री मात्रै ८ जनाको व्यवस्था गरेको छ । महाधिवेशनले यो सङ्ख्या अझै बढाउनसक्ने बताइएको छ ।

ंकांग्रेसले सहमहामन्त्रीका लागि खसआर्य, महिला, मधेसी, जनजाति, थारु, मुस्लिम, पिछडिएको क्षेत्रअन्तरगत अपांगता भएका व्यक्ति तथा अल्पसंख्यक र दलित गरी आठ वटा समावेशी क्लस्टर छुट्याएको छ ।

यसमध्ये दलित कोटामा शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्य मीन विश्वकर्मा र रामचन्द्र पौडेल पक्षबाट केन्द्रीय सदस्य नै रहेको जीवन परियारले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनीहरु दुवैले आफूले चुनाव जित्ने दाबी गरिरहेका छन् ।

के छन् त उनीहरुको चुनाव जित्ने एजेण्डा ?

मीन विश्वकर्मा भन्छन्– मैले जति समावेशीता अरुले बुझेको छैन

पार्टी सभापति शेरबहादुर देउवा पक्षका मीन विश्वकर्मा सहमहामन्त्रीका बलिया उम्मेदवार हुन् । उनी नेपाली कांग्रेसको निरन्तर दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन् । प्रतिनिधिसभाका सदस्य तथा संविधानसभाका सदस्यसमेत भएको विश्वकर्मासँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भएर सरकारमा काम गरेको अनुभव पनि छ ।

आफ्नै इच्छाले मात्रै नभएर आमनेता तथा कार्यकर्ताको अनुरोधमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको विश्वकर्मा बताउँछन् । नेपाली कांग्रेसमा समावेशीतर्फको सहमहामन्त्री पद नयाँ भएकाले पनि त्यसका लागि आफू समक्ष र उपयुक्त पात्र भएको उनको दाबी छ । यसै पदमा रहेर पार्टीभित्र समावेशितालाई मूल मुद्दा बनाउने योजना उनले बनाएका छन् ।

विश्वकर्मा नेपाली काँग्रेस र सिंगो राज्यका संयन्त्रलाई समावेशी गराउन, मुलुकको आर्थिक र सामाजिक रूपान्तरणका गर्नका लागि निर्णायक मोडमा पुर्याउने जिम्मेवारी आफ्नो काँधमा आएको बताउछन् । अरुले भन्दा समावेशीको मुद्दा आफूले राम्ररी बुझेको उनको भनाइ छ ।

सह–महामन्त्रीमा खुला पद नभएका कारणले नै आफूले सहमहामन्त्रीमै उम्मेदवारी दिएको उनी बताउँछन् । यसअघि केन्द्रीय सदस्य भएकाले पनि अब सहमहामन्त्रीको उम्मेदवार बन्ने बेला भएको उनको भनाइ छ ।

शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी घोषणा गरेका विश्वकर्मा राजनीति गर्न थालेदेखि नै देउवाले समावेशीताको मुद्दालाई उठाइरहेको दाबी गर्छन् । आफूहरुले उठाउने मुद्धा नै देउवाले उठाएकाले उनलाई नेताको रुपमा साथ दिएको उनको भनाइ छ ।

केन्द्रीय समितिमा बसेर काम गर्दा पदाधिकारीमा समावेशिताको कोटाका लागि गरेको आफ्नो पहल निर्णायक भएर कार्यान्वयनमा गएको उनको दाबी छ । विश्वकर्मा संसदमा कांग्रेसलाई जिम्मेवार बनाउन, नागरिकका आवाज संसदसम्म पुर्याउन, प्रतिपक्षमा रहँदा प्रभावकारी भूमिका निर्वाह गरेको बताउँछन् । संविधान कार्यान्वयन गर्ने पक्षमा र कांग्रेसलाई संसदभित्र बलियो पार्टीका रुपमा स्थापित गर्नमा पनि आफ्नो योगदान महत्वपूर्ण रहेको उनी बताउँछन् ।

आफुले सहमहामन्त्रीमा जितेपछि पार्टीलाई अझ परिमार्जित गर्ने, अहिलेको भन्दा अझै समावेशी बनाउने र अन्य पार्टीका तुलनामा आमनेपालीले गौरवको अनुभूति गर्ने वातावरण बनाउने उनको एजेण्डा छ ।

जीवन परियार विश्वासः पक्कै पनि मेरो योगदानको कदर हुनेछ

रामचन्द्र पौडेल पक्षबाट सहमहामन्त्रीका उम्मेदवारी घोषणा गरेका जीवन परियार पनि दुई कार्यकाल केन्द्रीय सदस्य भइसकेका छन् । पार्टीले विधान संशोधन गरेर सहमहामन्त्री पदमा दलित कोटा निर्धारण गरेपछि उक्त पदमा आफूलाई योग्य ठानेर उम्मेदवारी दिने तयारी गरेको उनको भनाइ छ ।

११ वर्षसम्म केन्द्रीय सदस्य भएको नाताले पनि पदाधिकारीमा अनुभव भएको व्यक्ति जानुपर्ने भन्दै उनले आफूलाई उक्त पद उपयुक्त ठानेका छन् । सहमहामन्त्री पदमा बसेर दलित समुदायका साथै पार्टी हितमा काम गर्ने तीव्र इच्छा भएकाले उम्मेदवारी घोषणा गरेको उनी बताउँछन् ।

समावेशीतर्फ दलितबाटै दुईपटक केन्द्रीय सदस्य निर्वाचित भइसककाले पनि दलित समुदायका समस्याबारे आफूलाई धेरै जानकारी भएको उनको दाबी छ । अहिले पनि नेपाली समाजमा जातीय विभेद र छुवाछुतको समस्या कायमै रहेकाले राज्यको १३ प्रतिशत हिस्सा ओगट्ने दलित समुदाय सबै दृष्टिकोणबाट पछाडि भन्दै उनले उक्त समुदायका लागि राजनीतिक तहबाट लड्नुपर्ने बताए । नेपाली काँग्रेसको नेतृत्वमार्फत नै समस्या समाधान गर्नुपर्ने भएकाले आफू नेतृत्वमा जानुपर्ने उनी बताउँछन् ।

सहमहामन्त्रीमा खुला पद नभएको र त्यसभन्दा माथि उम्मेदवारी दिने आफ्नो हैसियत नभएको स्वीकार्दै उनले भने– योग्यताअनुसार समावेशीतर्फको सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको हुँ ।

नेपाल विद्यार्थी संघहुँदै अहिलेसम्मका पार्टीका सबै भूमिका रामचन्द्र पौडेल पक्षबाटै निर्बाह गरेको हुनाले र पहिले पार्टी विभाजन हुँदासमेत रामचन्द्र पौडेल पक्षबाटै अघि बढेकाले पौडेल पक्षको उम्मेदवार हुने उनको भनाइ छ । उनले गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहुँदै रामचन्द्र पौडेलसम्म आइपुग्दा एउटै लाइन समातिरहेका छन् ।

परियार २०६७ सालमा काँग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । केन्द्रीय सदस्य भएलगत्तै दोस्रो संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य भइसकेका छन् । आफूले संविधानसभामा दलित समुदायको हक अधिकारका लागि निरन्तर आवाज उठाएको उनको दाबी छ । संविधानको मौलिक हकमा लेख्नुपर्ने विषयदेखि शिक्षा, स्वास्थ्य, रोजगारीमा सहुलियतलगायतका विषयमा पनि आफ्नो योगदान महत्वपूर्ण रहेको उनी बताउँछन् ।

प्रत्येक वडामा दुई महिला वडा सदस्य हुने व्यवस्था भएको ठाउँमा आफैं सक्रिय भएर दुईमध्ये एक दलित महिला हुनुपर्छ भनेर संशोधन प्रस्ताव पनि आफंैले गरेको र त्यो सफल भएको उनको दाबी छ ।

लोकतान्त्रिक समाजवादको विचारलाई तल्लो तहसम्म पुर्याउन, लोकतान्त्रिक समाजवादकै आधारमा संविधानको जगेर्ना गर्न र कुरीति एवं कुसंस्कार अहिले पनि विद्यमान रहेकाले त्यसलाई अन्त्य आफूले उम्मेदवारी दिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर