अर्घाखाँची कांग्रेसः २६ महाधिवेशन प्रतिनिधि, दुई सह–महामन्त्रीसहित नौजना केन्द्रीय सदस्यका दाबेदार – Nepal Press

अर्घाखाँची कांग्रेसः २६ महाधिवेशन प्रतिनिधि, दुई सह–महामन्त्रीसहित नौजना केन्द्रीय सदस्यका दाबेदार

रुपन्देही । एक मात्र निर्वाचन क्षेत्र भएको अर्घाखाँचीबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि २६ प्रतिनिधि निर्वाचित भए । यहाँबाट दुई जना केन्द्रीय सदस्य र जिल्ला सभापति गरी २९ जनाले महाधिवेशनमा मतदान गर्न पाउँछन् । तर यहाँबाट दुई सहमहामन्त्रीसहित ९ जनाले केन्द्रीय समितिमा उम्मेदवारी घोषणा गरेका छन् । उनीहरु अहिले टिकटका लागि दौडधुपमा लागेका छन् ।

वर्तमान केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री मानबहादुर विक र संघीय संसदको सचेतक रहेकी पुष्पा भुसालले सहमहामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । नेपाल दलित संघका पूर्वसभापतिसमेत रहेका विक पूर्वराज्यमन्त्री हुन् । उनलाई नेपाली कांग्रेसले उपराष्ट्रपतिको समेत उम्मेदवार बनाएको थियो ।

महिला नेतृ भुसाल प्रखर र स्पष्ट वक्ता नेताको रुपमा चिनिन्छिन् । उनी संविधानसभा र वर्तमान संसदमा प्रतिपक्षको रुपमा कडा आवाज उठाउने नेताको रुपमा चिनिन्छन् । उनीनिकट नेताहरुका अनुसार बिकले दलिततर्फबाट र भुसालले महिलातर्फबाट सहमहामन्त्रीको दाबी गरिरहेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेका उनीहरु दुवैले अगाडि सारेका यादवप्रसाद घिमिरे जिल्ला सभापतिमा विजयी हुन नसकेपछि भने केही कमजोर देखिएका छन् ।

जिल्लाबाट संस्थापनइतर समूहमध्येको अगाडि जाने निकै प्रतिस्पर्धा छ । यो समूहबाट पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेवतीप्रसाद भुसाल, पूर्वजिल्ला सभापति तथा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसाल, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, कांग्रेस नेताहरु डाक्टर जयबहादुर टण्डन, हिम्मत टण्डन, रामबहादुर बिसी र डाक्टर मुक्ति श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरुले प्रचारसमेत सुरु गरिसकेका छन् ।

यीमध्ये डाक्टर मुक्ति श्रेष्ठ नेता रामचन्द्र पौडेल नजिक रहेको र जनजाति पनि भएकाले सजिलै टिकट पाउने आँकलन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर