चोलेन्द्र हटाएपछि एमालेको पालाका नियुक्ति खारेज गर्ने सेटिङ भइसकेको ओलीको दाबी – Nepal Press

चोलेन्द्र हटाएपछि एमालेको पालाका नियुक्ति खारेज गर्ने सेटिङ भइसकेको ओलीको दाबी

न्यायपालिका सुधारको माग २० प्रतिशतमात्र हो, परमादेश दिने सबै हटाउने प्रस्ताव लिएर आऊ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई हटाएपछि आफ्नो सरकारका पालाका संवैधानिक नियुक्तिहरू खारेज गर्ने लगायतका सेटिङ मिलाइ सकिएको सूचना आफूले पाएको बताएका छन् ।

बार पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूसँगको छलफलमा ओलीले असार २८ को परमादेशदेखि नै सेटिङ भएको र अहिले आफू अनुकुल प्रधानन्यायाधीश बनाएर मुद्दाहरू मिलाउन खोजिएको समेत बताए ।

ओलीले भने, ‘एकजना वरिष्ठ अधिवक्ता (शम्भु थापा) ले भन्नुभयो हामीले न्यायाधीश हटाई हटाई अर्का न्यायाधीश राखेर तिम्रो पक्षमा फैसला पार्देको गुन तिर्नु पर्दैन ? अर्को श्रीमान्‌को कुरा पनि आयो संविधानबाहिर गएर केपी ओलीलाई हटाउनुपर्‍यो । अर्को चाहिँ एक पक्षका वकिलहरूमात्र बस्नुभयो अबका मुद्दा के के गर्ने ?, कसलाई राजीनामा गराउने ? त्यसपछि त्यो बेला भएका नियुक्ति यसो-यसो गर्ने भनेर बसेको होइन ? सेटिङ के-के कुरामा थियो ? कुन-कुन वस्तुका लेनदेन भए ? तपाईंहरूले नै पोल खोलाखोल गरिरहनुभएको छ ।’

प्रधानन्यायाधीश चोलेन्द्र हटाएर के-के गर्ने भन्ने तय भइसकेकोले आफू व्यक्तिको पछि नलाग्ने उनले प्रष्ट पारे । ओलीले बारको माग न्यायपालिका सुधारको लागि २० प्रतिशतमात्र रहेको भन्दै १०० पुर्‍याएर ल्याउन सुझाव दिए । उनको संकेत परमादेश जारी गर्ने पाँचै न्यायाधीशविरुद्ध महाअभियोगको माग ल्याउनुपर्ने बुझिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर