तत्काल लकडाउन गर्ने वा नगर्नेबारे निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय – Nepal Press

तत्काल लकडाउन गर्ने वा नगर्नेबारे निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसँगै पुनः लकडाउन हुने हो कि भन्ने चासो सामाजिक संजालमा फैलिएको छ । सर्वसाधारणले यसबारे व्यापक टिकाटिप्पणी गरिरहेका छन् । यसअघि दुईपटक मुलुकमा लकडाउन भैसकेको छ ।

नयाँ भेरिएन्टको संक्रमण पुष्टि भएसँगै नियन्त्रण तथा रोकथामको लागि सरकारले चुस्तरुपमा तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सह–प्रवक्ता डा. समीकुमार अधिकारीले तत्काल लकडाउन गर्ने वा नगर्नेबारे कुनै निर्णय नभएको बताए ।

सरकारले तेस्रो लहरको सम्भावित जोखिमबाट बच्न के गर्छ ? के फेरि लकडाउन वा निषेधाज्ञा हुन्छ ? भन्ने प्रश्नमा अधिकारीले अहिलेको अवस्थामा मन्त्रालयले लकडाउन गर्ने वा नगर्नेबारे कुनै छलफल वा निर्णय नभएको बताए ।

‘अहिले नै लकडाउन वा निषेधाज्ञाबारे कुनै निर्णय भएको छैन। परीक्षण, निगरानी र खोप नै पहिलो प्राथमिकता हो,’ अधिकारीले भने । आफू यतिबेला अस्पताल व्यवस्थापनमा जुटेको उनले बताए ।

सरकारले ओमिक्रोन संक्रमण पुष्टि भएका चीनको हङकङको राज्य र दक्षिण अफ्रिकासहितका ९ मुलुकबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । भारतबाट आउनेलाई अनिवार्य ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि छ ।

साथै अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरूमा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न नेगटिभ पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । पूर्ण मात्रा खोप नलगाएका र शंकास्पद सबै यात्रुहरुको एन्टिजेन परीक्षण गर्ने गरिएको छ।

एन्टिजेन परीक्षणमा फेला परेकाहरूको नमुना संकलन गरी पीसीआर परीक्षण गर्ने र संकास्पद नमुनाहरूको जीन सिक्वेइन्स गर्ने गरिएको छ । यसका साथै एक महिनादेखि पोजिटिभ भएका नमुमनाहरूको समेत थप परीक्षण गर्ने काम भइरहेको डा. अधिकारीले बताए।

नेपालमा ओमिक्रोन पुष्टि भएसँगै निगरानीका लागि ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको उनले जानकारी दिए।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर