महामन्त्रीमा कुन्तीविरुद्ध रेखाको दाबेदारी कति बलियो ? – Nepal Press
राप्रपा महाधिवेशन

महामन्त्रीमा कुन्तीविरुद्ध रेखाको दाबेदारी कति बलियो ?

काठमाडौं । कुनै समय चलचित्र क्षेत्रकी नम्बर एक नायिका रेखा थापा यतिबेला राजनीतिको रंगमा राम्रैसित रग्मगिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एक महामन्त्रीकी बलियो प्रत्यासी हुन् उनी ।

तीन दिनदेखि जारी राप्रपामा महाधिवेशनमा अध्यक्षका दुई आकांक्षी कमल थापा र राजेन्द्र लिङदेनपछि मिडियामा रेखाकै चर्चा छ । चर्चाको कारण उनको सेलिब्रिटी पृष्ठभूमि नै हो भन्नेमा दुई मत छैन । तर, पार्टी राजनीतिमा सेलिब्रिटी पृष्ठभूमिभन्दा पनि राजनीतिक योगदान महत्वपूर्ण हुने भएकाले रेखालाई महामन्त्रीको दौडमा सोचेजति सहज छैन ।

कमल थापाको हातबाट टीका लगाएर राप्रपा प्रदेश गर्दा रेखाले आफ्नो अन्तिम पार्टी नै यही हुने भन्दै नेपालको झण्डा र राप्रपाको झण्डा ओढेर मर्ने चाहनासमेत व्यक्त गरेकी थिइन् । यद्यपि, राप्रपामा उनको यात्रा कति टिकाउ हुन्छ भन्न सकिने अवस्था छैन । निकटस्थका अनुसार पछिल्लो समय नेत्रविक्रम चन्द विप्लवको माओवादीसँग पनि उनको हिमचिम बढिरहेको छ ।

राजेन्द्र लिङदेनले रेखाको सेलिब्रिटी छविका कारण आफ्नो प्यानलबाट महामन्त्री प्रस्ताव गरेका हुन् । यद्यपि, रेखासँग पार्टीको उच्च जिम्मेवारी सम्हाल्नेगरी राजनीतिक अनुभव र क्षमता नरहेको बुझाइ राप्रपा कार्यकर्तामा बलियो छ । उनलाई एकैपटक महामन्त्रीमा उठाउन लिङ्देन कसरी तयार भए भन्ने पनि कौतुहल धेरैलाई छ । तर, बुझिएअनुसार लिङदेनसँग अर्को विकल्प थिएन ।

राप्रपामा तीन महामन्त्रीमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ । तर, लिङदेनको पक्षमा महिला नेतृहरूको खडेरी रह्यो । थापा पक्षबाट कुन्ती शाही महिला महामन्त्रीको बलियो दाबेदार थिइन् । उनलाई टक्कर दिन लिङदेनसँग अरु महिला नेतृ नभएपछि ‘सेलिब्रिटी फिगर’ का रूपमा रेखालाई उभ्याइएको हो ।

२०७३ सालमा भएको राप्रपा महाधिवेशनमा रेखाले पपुलर भोट ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन् । उक्त नतिजालाई सम्झेर लिङदेनपक्ष रेखाप्रति आशावादी बनेको छ ।

छोटो यात्राका उतारचढाव

रेखा थापाको राजनीतिक यात्रा न लामो छ न स्थिर । आफ्नो ८ वर्षको राजनीतिक जीवनमा उनले दुईवटा विपरित ध्रुवका पार्टीहरूमा आपूmलाई विलय गराइन् । माओवादी छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा हाम्फाल्नु उनको सिद्धान्तविहीनताको नमूना हो ।

सिनेमा क्षेत्रमा आफ्नो खराब दिन सुरु भएसँगै रेखा ८ वर्षअघि राजनीतिमा छिरेकी थिइन् । माओवादीले काठमाडौंमा गरेको आन्दोलनका क्रममा प्रचण्डलाई आफूसँग नचाएर चर्चामा आएकी रेखाले राजनीतिका लागि सुरुमा माओवादी नै रोजिन् । प्रचण्डले टीका लगाएर पार्टी प्रवेश गराउँदा उनले ‘आफू पनि क्रान्तिकारी सोचको व्यक्ति भएकाले माओवादी रोजेको’ बताएकी थिइन् ।

महिला महामन्त्रीको काटोमा रेखाको भिडन्त कुन्ती शाहीसँग हुने निश्चित भइसकेको छ । कमल थापा निकट कुन्ती राप्रपाभित्रकी चिरपरिचित ‘फिगर’ हुन् । राप्रपाका अब्बल महिला नेतृहरूमा उनको नाम अगाडि आउँछ । शाहीसँग विगतमा राज्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेको अनुभव छ ।

दोस्रो संविधानसभा चुनावमा माओवादीबाट चुनाव लड्ने तयारी समेत गरेकी थिइन् रेखाले । पर्सा-१ बाट चुनाव लड्ने तय भएर भोट पनि माग्न थालिसकेको अवस्थामा रेखाको मतदाता नामावलीमै नाम नभएको पाइएपछि उनको सभासद बन्ने धोको हास्यास्पदरूपमा विसर्जन भएको थियो । पछि उनले आफ्नो हुस्सुपनाप्रति माफी मागिन् ।

माओवादीमा सोचेजस्तो नभएपछि रेखा विस्तारै असन्तुष्ट बन्न थालिन् । त्यही बेला चर्चित लोक गायिका कोमल ओली राप्रपामार्फत राजनीति सुरू गर्ने तरखरमा थिइन् । उनले रेखालाई पनि राप्रपामा आउन कन्भिन्स्ड गरिन् । गणतन्त्रवादी पार्टी छोडेर राजावादी पार्टीमा जानका निम्ति सहजै तयार भइन् रेखा । उनलाई कमल थापाले टिका लगाएर पार्टीमा भित्र्याए । माओवादी छोडेर राप्रपामा प्रवेश गर्न पाउँदा आफू निकै ‘एक्साइटेड’ भएको उनले बताएकी थिइन् ।

राप्रपामा विभाजन आएपछि कमल थापाको साथ छोडेर रेखा पशुपति शम्शेर राणातिर लागिन् । राणाको राप्रपा प्रजातान्त्रिकले उनलाई पार्टीको सहमहामन्त्री नै बनायो । २०७६ साल फागुनमा राप्रपा फेरि एकीकरण भएपछि रेखाको सो पद गुम्यो र उनी केन्द्रीय सदस्यमा सीमित हुन पुगिन् । र, यस महाधिवेशनबाट उनी पार्टीको पदाधिकारीको आकांक्षी बनेकी छन् ।

कमल थापाको हातबाट टीका लगाएर राप्रपा प्रदेश गर्दा रेखाले आफ्नो अन्तिम पार्टी नै यही हुने भन्दै नेपालको झण्डा र राप्रपाको झण्डा ओढेर मर्ने चाहनासमेत व्यक्त गरेकी थिइन् । यद्यपि, राप्रपामा उनको यात्रा कति टिकाउ हुन्छ भन्न सकिने अवस्था छैन । निकटस्थका अनुसार पछिल्लो समय नेत्रविक्रम चन्द विप्लवको माओवादीसँग पनि उनको हिमचिम बढिरहेको छ ।

विप्लवले सरकारसँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएलगत्तै रेखासँग भेटघाट समेत गरेका थिए । विप्लवको सिद्धान्त आफूलाई मन पर्ने रेखाले बताउने गरेकी छन् । यदि राप्रपामा महामन्त्रीको चुनाव हारेको खण्डमा भविष्यमा रेखाले विप्लवको पार्टी रोज्न सक्ने सम्भावनालाई नकार्न नसकिने उनी निकटस्थहरूको भनाइ छ ।

रेखाकी प्रतिस्पर्धी कुन्ती को हुन् ?

महिला महामन्त्रीको काटोमा रेखाको भिडन्त कुन्ती शाहीसँग हुने निश्चित भइसकेको छ । कमल थापा निकट कुन्ती राप्रपाभित्रकी चिरपरिचित ‘फिगर’ हुन् । राप्रपाका अब्बल महिला नेतृहरूमा उनको नाम अगाडि आउँछ । शाहीसँग विगतमा राज्यमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेको अनुभव छ ।

दैलेख घर भएकी उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी हुन् । उनले लामो सय राप्रपाको महिला संगठनलाई नेतृत्व गरेकी थिइन् भने संसदमा पार्टी सचेतकको भूमिकासमेत निभाएकी थिइन् ।

रेखाको सेलिब्रिटी छविको प्रभाव महाधिवेशनमा कति देखिन्छ, यसै भन्न सकिने अवस्था छैन । अन्यथा कुन्तीलाई हराएर महामन्त्री बन्नु उनका निम्ति फलामको च्यूरा हुन सक्छ । कदाचित् सफल भइन् भने त्यो उनको राजनीतिक जीवनको ठूलो छलाङ मानिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर