दक्षिण अफ्रिकामा कोरोनाको नयाँ संक्रामक भेरिएन्ट पुष्टि : भारत, बेलायत र जर्मनीद्वारा यात्रा प्रतिबन्ध र कडाइ – Nepal Press

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ संक्रामक भेरिएन्ट पुष्टि : भारत, बेलायत र जर्मनीद्वारा यात्रा प्रतिबन्ध र कडाइ

काठमाडौं । दक्षिण अफ्रिकी बैज्ञानिकहरुले कोभिड-१९ को नयाँ भेरिएन्ट पत्ता लागेको जनाउँदै यसको सम्भावित प्रभावबारे अध्ययन भैरहेको जनाएका छन् ।

बी.१.१.५२९ नाम दिइएको उक्त प्रजाति पत्ता लागेपछि वैज्ञानिकहरुले पत्रकार सम्मेलन आयोजना गरेका थिए । उक्त भेरिएन्ट धेरै संक्रामक हुनसक्ने र यसको शरिरको प्रतिरक्षा क्षमतालाई कमजोर तुल्याउने वैज्ञानिकहरुको भनाई छ ।

उक्त भेरिएन्ट यसअघि नै बढी जनघनत्व भएका अन्य अफ्रिकी सहरहरुमा फैलिएको जनाइएको छ । इजरायलमा समेत यो भेरिएन्टको संक्रमण पुष्टि भएको जनाइएको छ ।

दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले नयाँ भेटिएको भेरिएन्टबारे विश्व स्वास्थ्य संगठनसँग आपतकालिन छलफल गर्ने भएको छ । स्वास्थ्य मन्त्री जोय फालाले तत्कालै नयाँ प्रतिबन्ध लगाउनेबारे डब्लुएचओसँग छलफलपछि अघि बढ्ने बताए ।

गतवर्ष पनि दक्षिण अफ्रिकामा बेटा भेरिएन्ट पहिलोपटक संक्रमण पुष्टि भएको थियो ।

भारतले पनि कडाइ थाल्यो

नेपालको छिमेकी मुलुक भारतले पनि दक्षिण अफ्रिकाबाट आउने यात्रुलाई कडाइ गर्दै परीक्षण व्यापक गराउने जनाएको छ । नयाँ भेरिएन्ट भेटिएपछि भारतले यो अर्को स्वास्थ्य संकट भएको बताएको छ ।

भारतका स्वास्थ्य सचिव राजेश भूषणले दक्षिण अफ्रिकामा पुष्टि भएको भेरिएन्ट उच्च संक्रामक रहेको पाइएको बताएका छन् । यो भेरिएन्टले भारतको स्वास्थ्य प्रणालीमाथि अर्को जटिलता थप्ने समेत उनले बताए ।

शुक्रबार बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले पनि नयाँ भेटिएको भेरिएन्ट स्पाइक प्रोटिनबाट बनेको र यसले अहिले प्रयोगमा आएका खोपहरुलाई कम प्रभावकारी बनाउने जनाएको छ ।

बेलायतले आजै ६ वटा अफ्रिकी देशसँगको आवागमनमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ । अफ्रिकामा भेटिएको यो भेरिएन्ट हङकङमा समेत पुष्टि भएको बेलायतले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर