गठन भएको डेढ वर्षपछि मधेश सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त – Nepal Press

गठन भएको डेढ वर्षपछि मधेश सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त

जनकपुरधाम । प्रदेश २ सरकार गठन भएपछि चार वर्षपछि गठन भएको मधेशी सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरिएको छ ।
मधेश आन्दोलन, माओवादी जनयुद्ध र जनआन्दोलन लगायतका सहिद परिवार तथा घाईतेहरुको हकहितका लागि मधेशी सहिद प्रतिष्ठान गठन गरिएको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा दुईजना मधेश आन्दोलन र दुई जना जनयुद्धका शहिदका परिवारलाई सदस्यमा नियुक्त गरेको छ ।

मधेश आन्दोलनका सहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पी कुमारी साह तथा जनयुद्धका सहिदको परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाल प्रतिष्ठानको सदस्यमा नियुक्त भएका छन् ।

सदस्यमा नियुक्त चारै जनालाई मन्त्रालयमा आज आयोजित एक समारोहबीच मन्त्री भरत साहले नियुक्ति पत्र प्रदान गरे । प्रतिष्ठानको अध्यक्ष मन्त्री स्वयंम रहने व्यवस्था छ ।

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ मन्त्रालयका सचिव प्रतिष्ठानको सदस्य रहने व्यवस्था छ । मन्त्री यादवले प्रतिष्ठानमा नियुक्त शहिद परिवारका चार सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

उनले शहिद परिवारलाई परिचयपत्र वितरण गर्ने, घाईतेहरुको उपचार तथा भरतपोषण, शहिद परिवारका विद्यार्थीलाई छात्रबृति वितरण लगायतका धेरै काम गर्नुपर्ने बताए । उनले शहिद परिवारलाई अनुभुति गराउने गरी काम थाल्न सदस्यहरुलाई सुझाव दिए ।

नियुक्त सदस्यहरुलाई मन्त्री यादवले भने, ‘तपाईहरु जे निर्णय गर्नुहुन्छ । त्यो निर्णय लागु गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । त्यसमा म एक इन्च पनि पछाडी हट्दिनँ ।’

प्रतिष्ठानसँग सम्बन्धित बजेट धेरै कम रहेको र त्यो बजेट खर्च गरेपछि तत्कालै थप बजेट उपलब्ध गराउने आश्वासन अर्थ मन्त्रीबाट पाएकाले काम तिब्र गतिमा गर्न सदस्यहरुलाई निर्देशन दिए ।

प्रदेश सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रीपरिषद्को बैठकले शहिद परिवारलाई रोजगार र घाईतेहरुको उपचार गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय बमोजिम मधेस आन्दोलनका केहि शहिद परिवारलाई प्रदेश सरकारले रोजगारी दिएको छ । तर रोजगार पाएकाहरु पनि नियुक्ति नविकरण नभएको भन्दै पटक पटक आन्दोलन गरेका छन् ।

अब प्रतिष्ठान गठन भएपछि शहिद परिवार र घाईते तथा अपाङहरुको धेरै समस्या समाधान हुने प्रतिष्ठानको सदस्यमा नियुक्त रामनरेश रायले विश्वास व्यक्त गरे ।

उनले प्रतिष्ठान गठनका लागि पटक पटक दबाब दिँदा पनि चार वर्ष वितेपछि बल्ल गठन भएपछि खुसी लागेको बताए । उनले प्रतिष्ठानमा राम्रो कर्मचारी पाए प्रदेश सरकारले चार वर्षमा गर्न नसकेको काम चार महिनामा गरेर देखाउने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर