काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, केही दिनमै लोकार्पण गरिने – Nepal Press

काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा, केही दिनमै लोकार्पण गरिने

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको महत्वपूर्ण सम्पदा काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएर पेटी र काठको बार लगाउने काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा रहेकाले केही दिनमा सम्पन्न गरेर लोकार्पण गर्ने तयारी गरिएको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको ११ करोड ५० लाख लागतमा काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । ‘समितिले महानगरपालिकासँग चार चरणमा गरी ११ करोड ५० लाख लिएको छ, समितिले २०७५ जेठ २९ गते ५० लाख, ०७५ असोज २७ गते पाँच करोड, ०७६ माघ ८ गते पाँच करोड र ०७७ जेठमा एक करोड लिएको छ, यही रकमबाट काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न हुन्छ, थप पैसा चाहिँदैन”, उनले भने ।

भूकम्पपछि पुरातत्व विभागले आर्थिक वर्ष २०७२÷२०७३ मा गरेको काष्ठमण्डप पुनर्निर्माणको लागत अनुमानअनुसार १९ करोड ८० लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो । विभागले गरेको प्रारम्भिक अनुमानभन्दा सात करोड ५० लाख सस्तोमा समितिमार्फत् काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएको छ । समुदायलाई नै सम्पदा पुनर्निर्माणको जिम्मेवारी दिँदा कम लागतमा काम भएको हो ।

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माण सुरुको चरणमा विवादमा परेको थियो । यसअघि अर्को समिति गठन भएर पुनर्निर्माण अघि बढाउन खोजे पनि विभिन्न अवरोध आएको थियो । काष्ठमण्डप पुनर्निर्माणका लागि २०७५ साल वैशाख १८ गते पुनर्निर्माण समिति गठन गरिएको थियो । समितिले त्यसै वर्ष कात्तिक २२ गतेदेखि पुनर्निर्माण को काम सुरु गरेको हो ।

कम्तीमा दुई हजार वर्ष टिक्ने काठको प्रयोग

धेरै काठ प्रयोग गरेर पुनर्निर्माण गरिएको काष्ठमण्डपमा पुनर्निर्माण का क्रममा राखिएका काठ कम्तीमा पनि दुई हजार वर्षसम्म टिक्ने समितिका सचिव गौतम डङ्गोल बताउँछन् । समिति अध्यक्ष शाक्यलगायतको समूहले बारा, पर्सा, रौतहट, महोत्तरी, कञ्चनपुरलगायत जिल्लाका जङ्गलमा गएर राम्रा काठ सङ्कलन गरेर ल्याई पुनर्निर्माण सम्पन्न भएको छ ।

२०७२ वैशाख १२ गतेअघि प्रयोग गरिएका दुई काठ पनि काष्ठमण्डप पुनर्निर्माणमा फेरि प्रयोग गरिएको छ । काष्ठमण्डपमा एउटा एक हजार ६०० वर्ष पुरानो र अर्को एक हजार वर्ष पुराना काठ राखिएको छ । ‘कार्बन डेटिङ’ को प्रमाणका आधारमा बेलायतमा गरिएको परीक्षणका आधारमा दुई काठ कति पुराना हुन् भनी प्रमाणित गर्न सकिएको समितिले जनाएको छ ।

बीचमा काठका ठूलाठूला चार थामलगायत संरचना सातौँ शताब्दीकै स्वरुपमा बलियो गरी पुनर्निर्माण गरिएको छ । काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग गरिएका सबै काठ उच्च गुणस्तरका प्रयोग गरिएकाले कम्तीमा दुई हजार वर्षसम्म केही नहुने समितिको विश्वास छ ।

सातौँ शताब्दीकै स्वरुप र प्रविधिमा काष्ठमण्डप

सातौँ शताब्दीमा काष्ठमण्डप निर्माण गर्दाकै जस्तो प्राचीन प्रविधिमा यसको पुनर्निर्माण सम्पन्न भएको छ । बाँस र डोरी प्रयोग गरेर काठमाथिसम्म लगिएको थियो । आधुनिकरुपमा प्रयोग गरिने ‘हेभी इक्विपमेन्ट’ काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग नगरी प्राचीन प्रविधिबाट पनि यति ठूला भवन बनाउन सकिन्छ भन्ने सन्देश दिइएको छ ।

प्राचीन प्रविधिबाट नै यस्ता भवन निर्माण गर्नसक्ने जनशक्ति स्वदेशमा अझै छ भन्ने पनि काष्ठमण्डप पुनर्निर्माणले प्रमाणित गरेको छ । समितिका सचिव डङ्गोल प्राचीन स्वरुपमा पुरातात्विक महत्वका सम्पदा बनाउन सक्ने जनशक्तिको संरक्षणमा सरोकार भएका सरकारी निकायले ध्यान दिनुपर्ने बताउनुहुन्छ । काष्ठमण्डप पुनर्निर्माण व्यवस्थापन, पुँजी र प्रविधि सबै नेपाली नै प्रयोग गरी गरिएको छ ।

सिमेन्ट प्रयोग नगरी माटोको जोडाइमा निर्माण गरिने पुरातात्विक महत्वका सम्पदा आधुनिक विज्ञानले भने सरह टिक्ने काष्ठण्डपबाट पुष्टि भएको समितिको भनाइ छ । एक हजार ४०० वर्षअघि नेपालमा काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएको प्रविधि आधुनिकरुपमा नयाँ प्रविधिजत्तिकै टिकाउ छ भन्ने बेलायतमा गरिएको परीक्षणबाट प्रमाणित भएको छ ।

मर्मत सम्भारको समय समितिले लेखेर दिने

२०७२ मा भन्दा ठूलो भूकम्प आउँदा १९९० सालमा नभत्किएको काष्ठमण्डप बेला बेलामा गरिनुपर्ने मर्मत सम्भारमा सम्बन्धित निकायले ध्यान नपु¥याउँदा नै भत्किएको देखिएको स्थानीयवासी एवं समितिका उपसचिव बीरबललाल श्रेष्ठ बताउँछन् । बेलाबेलामा सही तरिकाले मर्मत सम्भार गरिएकाले हनुमानढोका दरबार क्षेत्रको तलेजु र भक्तपुर दरबार क्षेत्रको पाँचतले मन्दिर भत्किएन । १९९० को भूकम्पमा तलेजु भवानी मन्दिरको माथिल्लो भागमात्र भत्किएको थियो ।

काष्ठमण्डप पुनर्निर्माण सम्पन्न भएर लोकार्पण गर्ने कार्यक्रममा नियमितरुपमा मर्मत सम्भार गर्नुपर्ने समय लिखितरुपमै तयार पारेर सरोकार भएका निकायलाई बुझाउने समितिको तयारी छ । त्यसलाई काष्ठमण्डप उद्घाटन कार्यक्रममा सार्वजनिक गरिने छ ।

काठमाडौंको नामकरण भएको काष्ठमण्डपको ऐतिहासिकता

मरुसत्तल नामलेसमेत चिनिने काष्ठमण्डपबाट नै राजधानी काठमाडौंको नामकरण भएको हो । साढे छ वर्षअघिको भूकम्प जानुभन्दा अघिसम्म १२ औँ शताब्दीमा निर्माण भएको विश्वास गरिने काष्ठमण्डप क्षतिग्रस्त अवस्थामा गरिएको उत्खनन्बाट सातौँ शताब्दीमा निर्माण भएको तथ्य पत्ता लागेको हो । विभाग, बेलायतको दुरहाम विश्वविद्यालयलगायत गरेको अनुसन्धानका क्रममा काष्ठमण्डपको गर्भगृहमा प्राप्त प्रमाणका आधारमा सातौँ शताब्दीमा निर्माण भएको तथ्य सार्वजनिक गरिएको हो ।

काष्ठमण्डप निर्माणका सम्बन्धमा प्राप्त किंवदन्तीअनुसार मच्छिन्द्रनाथको जात्रा हेर्न कल्पवृक्ष आएका थिए । हनुमानढोका दरबार क्षेत्रको एक मन्दिरका पुजारीले उनलाई चिनेर समाती राखेछन् । कल्पवृक्षलाई एउटा सत्तल बनाइदिने प्रतिज्ञा गरेपछिमात्र पुजारीले छाडेका थिए । त्यसै प्रतिबद्धताअनुसार कल्पवृक्षले पठाएको एउटै वृक्षबाट काष्ठमण्डप निर्माण सम्पन्न गरिएको विश्वास गरिन्छ ।

काष्ठमण्डपका बीचमा राखिएको प्रस्तर मूर्तिलाई गोरखनाथको मूर्तिका रुपमा पुजिन्छ । नाथ सम्प्रदायका कानपट्टा योगीले यो मूर्तिलाई मूल देवता मानी पूजा आराधना गर्दछन् । प्राचीन नेपालमा यो मूर्ति चौरासीसिद्धमध्येका लुइपादको मूर्ति हो भनी उल्लेख गरिएको छ ।

मरुसत्तलको नामलेसमेत प्रसिद्ध रहेको काष्ठमण्डपको उद्देश्य बटुवाको बासस्थानका रुपमा प्रयोग गर्नु हो । हाल यहाँभित्र भजनकीर्तन तथा धार्मिक प्रवचन पनि हुने गरेको छ ।रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *