प्रतिनिधि नछानेकोमा नेतालाई कमला शर्माको चुनौती – हिम्मत भए कार्यकर्ताको बीचमा आउनू – Nepal Press

प्रतिनिधि नछानेकोमा नेतालाई कमला शर्माको चुनौती – हिम्मत भए कार्यकर्ताको बीचमा आउनू

सुर्खेत । आसन्न १०औं महाधिवेशनका लागि एमाले सुर्खेतले चयन गरेको प्रतिनिधिप्रति संविधानसभा सदस्य कमला शर्माले असन्तुष्टी जनाएकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूलाई प्रतिनिधि नबनाएकोमा आपत्ति जनाएकी हुन् ।

एमाले कर्णाली प्रदेश सहसंयोजक यामलाल कंडेल र जिल्ला कमिटी अध्यक्ष ध्रुवकुमार शाहीलाई मेन्सन गर्दै कमला फेसबुकमा लेखेकी छन्, ‘अझै पनि पुगेको छैन भने कृपया भनिदिनुहोला । दिएका छौं भनेको जिम्मेवारीबाट पनि बाहिर बसिदिन तयार छु । तपाईंले बनाएर नेता बन्नु पनि छैन । हिम्मत भए कार्यकर्ताको बीचमा आउनुहोला ।’

शर्मा हाल नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदकी सदस्यसमेत हुन । एमाले स्रोतका अनुसार उनले भूगोलबाट महाधिवेशन प्रतिनिधि बनेर आउन चाहेकी थिइन् तर पार्टी संकटको समयमा माधव नेपालको साथ छोडेर एमाले भएको र शर्माको आफ्नै देवर भएको भन्दै नेकपा एमाले सुर्खेतले डण्डिप्रसाद शर्मालाई महाधिवेशन प्रतिनिधि बनाएको थियो ।

पहिलो संविधानसभा निर्वाचनमा सुर्खेत-१ का उम्मेदवार ऋषि शर्माको चुनाव प्रचारकै क्रममा भेरीगंगा नगरपालिकाको मैनतडामा हत्या भएपछि उनको ठाउँमा शर्मालाई उठाइएको थियो । प्रतिद्वन्द्वी कांग्रेस नेता लालबहादुर घलेलाई पराजित गरेकी शर्माले संविधानसभाको पहिलो बैठकस्थलमै आफ्नो पतिको हत्या गर्ने भनेर कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई चप्पलले हिर्काएकी थिइन् ।

‘प्रतिनिधिका लागि उम्मेदवारी दिएका उम्मेदवारसँग छलफल नगरी, बन्द कोठामा गएर पार्टी नेतृत्वले मनपरीरूपमा प्रतिनिधि छानेका छन् र त्यसैलाई सर्वसम्मत भनेका छन् । एक उम्मेदवारले अर्को उम्मेदवारलाई स्वीकार गरेमात्रै सर्वसम्मत हुनुपर्थ्यो । छाड्न पर्ने अवस्था आए छाड्न पनि सकिन्थ्यो । चुनाव गरेको भए प्रतिस्पर्धा गरिन्थ्यो’, शर्माको परिवारका एक सदस्यले भने, ‘भूगोलबाट चुनिएर गएको प्रतिनिधि भएको भए भूमिका फरक हुन्थ्यो । आवश्यकता परेको खण्डमा उहाँले केन्द्रीय सदस्यमा उम्मेदवार दिने मनसाय राख्नु भएको थियो । सोही अनुसार  स्टाटस लेख्नुभएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर