बधाईका फोनले हैरान पूर्वमन्त्री दुगड ! – Nepal Press

बधाईका फोनले हैरान पूर्वमन्त्री दुगड !

काठमाडौं । नाम मात्र होइन, थर पनि एउटै । दुवैजना एउटै क्षेत्रमा । अनि मान्छेहरु नझुक्किउन् किन ? पूर्वमन्त्री तथा उद्योगी मोतिलाल दुगडको आज बिहानदेखि फोनको घन्टी बजेको बज्यै छ । उठाएर हेल्लो पनि भन्न नपाइ उताबाट बधाई आइहाल्छ । ‘म त्यो मोतिलाल दुगड’ होइन भनेर सम्झाउँदा सम्झाउँदै उनी हैरान छन् ।

सरकारले आज संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट वितरण हुने मानपद्वी तथा विभुषणको सुची सार्वजनिक गरेसँगै दुगडले बधाई खान थालेका हुन् । जनसेवाश्री पदक पाउनेको सुचीमा ‘मोतिलाल दुगड’ नाम छ । उद्योगी पनि भनिएको छ । तर, त्यो उनी होइनन् ।

यी मोतिलाल सेन्चुरी मसला उद्योगका मालिक तथा होटल व्यवसायी हुन् । उनी राजनीतिमा समेत सक्रिय छन् । २०६४ सालमा सरिता गिरीले नेतृत्व गरेको सद्भावना पार्टीबाट उनी सभासद बनेका थिए । २०७० सालमा आफ्नै दल खोलेर पछि त्यसलाई एमालेमा गाभे । २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी तत्कालीन एमालेबाट समानुपाति सांसद बनेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकटतासँगै उनी अघिल्लो सरकारमा राज्य मन्त्री बनेका थिए । मन्त्रिपरिषद हेरफेरका क्रममा राज्यमन्त्रीबाट हटेपछि उनले प्रधानमन्त्रीको सल्लाहकारको रूपमा पनि भूमिका निभाए । साथै, थुप्रै संख्यामा उद्योगी-व्यवसायीलाई उनले एमालेमा प्रवेश गराएका थिए ।

पदवी पाउने मोतिलाल दुगड सनराइज बैंकका अध्यक्ष तथा एमभी दुगड ग्रुपका अध्यक्ष हुन् । उनको बैंक, अटोमोबाइल्स र उत्पादनशील क्षेत्रमा लगानी छ । उनी राजनीतिमा भने छैनन् ।

रोचक के भने अघिल्ला मोतिलाल राज्यमन्त्री बन्दा उनलाई पनि बधाईका फोनले दिक्क पारेका थिए । त्यसबेला उनले फोनै अफ गरेर राख्नुपरेको थियो ।

आममानिसहरू मात्र होइन, कहिलेकाहीँ सञ्चारमाध्यम पनि झुक्किने गरेका छन् । एउटा मोतिलाल दुगडको समाचारमा अर्कोको तस्बिर प्रयोग भएको पनि पाइन्छ ।

पूर्वराज्यमन्त्री दुगडले आफूलाई बिहानैदेखि बधाईका धेरै फोन आइरहेको र आफूले सबैलाई सत्यता बुझाइरहेको बताए । ‘उनले भने, एमभी दुगड ग्रुपका अध्यक्षले प्रवल जनसेवाश्री पदक पाउँदा मलाई खुशी लागेको छ । उहाँ त्यसका लागि योग्य व्यक्ति पनि हो,’ उनले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *