पौडेल समूहले भन्यो- डडेल्धुराको अधिवेशन अस्वीकार्य, सत्ताको दुरुपयोग भयो – Nepal Press

पौडेल समूहले भन्यो- डडेल्धुराको अधिवेशन अस्वीकार्य, सत्ताको दुरुपयोग भयो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले डडेल्धुरामा भएको वडा अधिवेशन अस्वीकार गर्दै नयाँ नेतृत्वका लागि पुन: निर्वाचन गर्न माग गरेको छ । आफ्नो समूहका तर्फबाट विज्ञप्ति जारी गर्दै पौडेलले राज्यशक्ति र प्रशासनिक शक्तिको दुरुपयोग गरी एकतर्फीरूपमा अधिवेशन गरिएको आरोप लगाएका छन् ।

‘नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुंगो नलगाइ अधिवेशन-निर्वाचन प्रारम्भ गरिएको छ,’ विज्ञप्तमा पौडेलले भनेका छन्, ‘पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णय समेतलाई लत्याएर बलपूर्वक प्रक्रिया अगाडि बढाइएकोमा हाम्रा गम्भीर असहमति छ ।’

डडेल्धुरामा मात्र नभएर सुनसरीलगायत मुलुकका कतिपय ठाउँमा समेत सत्ता र शक्तिको चरम दुरुपयोग भएको पौडेल पक्षको आरोप छ । देशव्यापीरूपबाट एकैपटक महाधिवेशन हुने परम्परा तोडेर अधिवेसन प्रारम्भ भएको एक हप्तासम्म २० जिल्लाको क्रियाशील सदस्य सूची अझै टुंगो नलागेको विज्ञप्तिमा उल्लेख छ ।

‘क्रियाशील सदस्यता वितरणमा भएको गैरजिम्मेवारी, मनपरि र अराजकताले कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कार अनुरुपको पार्टी नरहने खतराको लक्षण देखा पर्न थालेको छ । डडेल्धुरा जिल्लाको जस्तै अनियमितता र स्वेच्छाचारको पुनरावृत्ति अन्य २० जिल्लामा पनि हुन नपाओस् भन्नेतर्फ सम्वद्ध सबै पक्षको ध्यानाकर्षण र खबरदारी गर्न चाहन्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर