चितवनमा एमाले विभाजन- स्थानीय तहका अधिकांश जनप्रतिनिधि एमालेमै रहने – Nepal Press

चितवनमा एमाले विभाजन- स्थानीय तहका अधिकांश जनप्रतिनिधि एमालेमै रहने

चितवन । नेकपा एमालेमा आएको विभाजनसँगै चितवनमा एमालेबाट चुनाव जितेका जनप्रतिनिधिलाई दल छान्न सकस परेको छ । दल दर्ताको पर्खाइमा रहेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लाग्ने कि एमालेमै बस्ने भन्नेमा यहाँका केही जनप्रतिनिधि अन्योलमा परेका हुन् ।

राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजनको २१ दिनभित्र नयाँ दल रोजेमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई दल त्यागको कानून नलाग्ने सुविधा दिएको छ । उक्त अवधिसम्म जनप्रतिनिधिले दल परिवर्तन गर्ने सम्भावना बाँकी नै रहन्छ । अहिलेसम्म चितवनका अधिकांश जनप्रतिनिधि एमालेमै छन् ।

चितवनमा ५ सय २१ जना निर्वाचित जनप्रतिनिधिमध्ये एमालेका ३ सय ९ जना छन् । जसमध्ये मेयरमा ४ जना, उपमेयरमा ५ जना, वडाध्यक्ष ५५ जना र सदस्यहरुमा २ सय ४५ जना निर्वाचित छन् । जिल्ला समन्वय समितिमा प्रमुख, उप्रमुखसहित ९ जना नै एमालेबाट निर्वाचित छन् ।

अहिले एमाले र एमालेबाट फुटेको एकीकृत समाजवादी जनप्रतिनिधिलाई आफ्नो पक्षमा तान्न कसरत गरिरहेको छ ।

ओली नेतृत्वको एमालेका नेताहरु करिब १० प्रतिशत जनप्रनिधि मात्रै एकीकृत समाजवादीमा जाने दावी गर्छन् । एकीकृत समाजवादीका नेता भने करिब आधा हिस्सा जनप्रतिनिधि आफ्नो पक्षमा रहेको जिकिर गरिरहेका छन् ।

अहिलेसम्म खुलेका जनप्रतिनिधि को-कता ?

एक(एक जना मेयर–उपमेयरबाहेक सबै एमालेमै छन् । उनीहरु पनि एकीकृत समाजवादीमा खुलिसकेका भने छैनन् । ५५ जना वडाध्यक्षमध्ये १४ जना एकीकृत समाजवादीमा खुलेका छन् ।

अन्य सदस्यहरुले पार्टी रोजिसकेका छैनन् । अब चुनाव नलड्ने योजनामा रहेका रत्ननगर नगरपालिकाका मेयर नारायण वनलाई दुवै पक्षले आफ्नो भनेर दावी गरिरहेको छ । उनी केही दिन पहिले एमालेको वागमती प्रदेश कमिटी सदस्यमा चुनिएका छन् ।

उपमेयर विमलादेवी दुवाडी एमालेको जिल्ला कमिटी सदस्य पनि हुन् । उनी एमालेमै रहने स्पष्ट छ ।

खैरहनीका मेयर लालमणि चौधरी एकीकृत समाजवादीमा लागेको भनिएको छ । तर उनी प्रष्ट खुलेका छैनन् ।

खैरहनीकी उपमेयर सुनिता खरेल थपलिया सुरुदेखिनै ओलीको कट्टर समर्थक हुन् । कालिकाका मेयर खुमनारायण श्रेष्ठ केही दिनअघि नेपाल समूहको भेलामा सहभागी थिए । तर, काठमाडौं पुगेर ईश्वर पोखरेललाई भेटेपछि उनी एमाले नै भएका छन् । उनी पनि एमाले प्रदेश कमिटी सदस्यमा चयन भएका छन् ।

कालिकाकी उपमेयर कमला भट्टराई एमाले जिल्ला सदस्य हुन् । राप्तीकी मेयर प्रभा बराल सुरुदेखिनै ओली समर्थक हुन् । राप्तीका उपमेयर इमानसिंह लामा ओली समर्थक हुन् । उनी पनि प्रदेश कमिटी सदस्यमा चुनिएका छन् ।

माडीकी उपमेयर ताराकुमारी काजी महतो पनि नेपाल समूहको जिल्ला कमिटी घोषणा गर्दा नजिकिए पनि अहिले मौन छिन् । तर उनी एमालेमै रहने बताइएको छ । जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी र उपप्रमुख मुनाकुमारी श्रेष्ठ जिससको नेतृत्व लिन नेपाल क्याम्पमा आएका थिए । अहिले फेरि एमालेमै फर्किएका छन् ।

महानगरका वडाध्यक्ष आधा-आधा !

भरतपुर महानगरमा एमालेबाट निर्वाचित १३ वडाध्यक्षमध्ये एकीकृत समाजवादीमा ७ जना जाने सम्भावना छ । ५ नम्बर वडाका पदमपाणि सुवेदी, ७ का राजेन्द्रमणि काफ्ले, ९ का यमलाल कँडेल, १० का अरुणपीडित भण्डारी, १२ का नरेन्द्र कनदङवा, २२ का विष्णुराज महतो, २९ का मनबहादुर मगर एकीकृत समाजवादीमा खुलेका छन् । २२ का वडाध्यक्ष विष्णुराज समाजवादीको भरतपुर महानगर कमिटी अध्यक्षमा चुनिएका छन् ।

रत्ननगरमा एमालेका १० वडाध्यक्षमध्ये हालसम्म २ जना मात्रै खुलेका छन् । १० का केशव आचार्य र १४ का हरिकुमार श्रेष्ठबाहेक अरु एमालेमै छन् ।

त्यस्तै कालिकामा एमालेका ६ वडाध्यक्षमध्ये ६ नम्बर वडाका विनोद रेग्मीमात्रै एकीकृत समाजवादीमा देखिएका छन् । राप्तीमा एमालेका ११ वडाध्यक्षमध्ये ४ जनाबाहेक अरु एमालेमै छन् ।

चितवनमा को बलियो ?

ओली र नेपालबीचको पार्टीभित्रको आन्तरिक द्वन्द्वसँगै चितवनमा पनि समानान्तर गतिविधि अगाडी बढेका थिए । एमाले–माओवादी नछुट्टिँदा सरकारको आलोचना हुन थालेपछि ओली समूहले फागुनमै जिल्ला अध्यक्षको जिम्मेवारी पार्वती रावललाई दिएको थियो ।

उनी हालका रत्ननगरका मेयर नारायण वनलाई २५ मतान्तरले सचिव पदमा हराउँदै विजयी भएकी थिइन् । एमालेका जिल्ला अध्यक्ष अध्यक्ष कृष्णभक्त पोखरेल माधव-प्रचण्डमा लागेपछि उनलाई पाखा पारिएको थियो ।

पछि सर्वोच्चको आदेशले एमाले र माओवादी केन्द्र पहिल्यैकै अवस्थामा फर्काएपछि पोखरेल नेपाल समूह छाडेर ओली क्याम्पमा छिरेका थिए । तर, उनी निर्वाचित जिल्ला अध्यक्ष पदमा दावी नगरी बसेका छन् । उनले ओली समूहका जेएन थपलियालाई १ सय ४२ मतान्तरले हराउँदै अध्यक्ष भएका थिए ।

२०७३ कात्तिकको जिल्ला निर्वाचनमा पोखरेल प्यानलबाट ९३ जना निर्वाचित थिए । ओली समूह निकै कमजोर थियो । माधव समूहको जिल्ला नेतृत्व तत्कालीन उपाध्यक्ष तेजेन्द्रबहादुर खड्काले वैशाख ६ देखि औपचारिक रुपमा सम्हालेका थिए । उनले वर्तमान प्रदेश सांसद कृष्णप्रसाद भुर्तेललाई १ सय ३१ मतान्तरले पराजित गरेका थिए ।

भुर्तेल अहिले ओली क्याम्पमा छन् । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहितका ९ जना स्थायी कमिटिका नेताहरु १० बुँदे सहमति अक्षरस कार्यान्वयनको माग राख्दै एकीकृत समाजवादीमा जान रोकिएका छन् । त्यस्तै एमालेका जिल्ला इञ्चार्ज कृष्णप्रसाद खनाल माधव समूहको चितवनका बलियो नेताका रुपमा चिनिन्थे । तर, वागमती प्रदेशको सामाजिक विकासमन्त्री बनेपछि उनी पनि मौन छन् ।

राष्ट्रियसभा सदस्य पार्वती रावल, प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल, प्रदेश सांसद विजय सुवेदी, विघटित भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवाली, माओवादीबाट गएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलसहितका बलिया नेताहरु ओली समूहमा छन् ।

एमाले भरतपुर महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपाने विभाजनको पक्षमा ज्यादै कम नेताहरु रहेको दावी गर्छन् । ‘मुस्किलले १० प्रतिशत साथीहरु जाने बुझेका छौं, चितवनका सांसद, जनप्रतिनिधि सबै एमालेमै रहनेछन्,’ उनले भने, ‘उता जाने चर्चामा भएका केही साथीहरु एमालेमै रहने गरी छलफल भएका छन् ।’

नेपाल समूहका जिल्ला अध्यक्ष तेजेन्द्रबहादुर खड्काले फर्केर एमालेमै जाने कुनै पनि निर्णय नभएको दावी गर्छन् । ‘हाम्रो जिल्ला कमिटी यथावत छ, दल दर्तालगत्तै बैठकबाट भावी रणनीतिबारे निर्णय लिनेछौं,’ उनले भने, ‘हाम्रो पक्षमा भएकाहरु प्रचारमा नआएकामात्रै हुन्, हामी कमजोर छैनौं ।’


प्रतिक्रिया

One thought on “चितवनमा एमाले विभाजन- स्थानीय तहका अधिकांश जनप्रतिनिधि एमालेमै रहने

  1. विभिन्न पत्र पत्रिकामा ने क पा ( समाजबादी मा) मेरो नाम समाबेस गरेकोमा म बिराेद गर्दछु म सुर्य चिन्ह बाट अलग हुन सक्दिन सधै शस्था पक पक्षमा अडिक रहि रहने कुरा सबै मा कारि गाउदछु
    भ म न पा -२९( वडा अध्यक्ष ) : मन ब राना मगर ।

Leave a Reply to Man bahadur Magarm Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर